दलित होमस्टेमा 'काव्य यात्रा'

काठमाडौँ — तनहुँको व्यास नगरपालिका १३ स्थित आँपस्वारास्थित दलित समुदायले सञ्चालन गरेको होमस्टे प्रवर्द्धन गर्न भन्दै स्रष्टाहरूको टोलीले होमस्टे भ्रमण गरेको छ ।

दलित होमस्टेमा 'काव्य यात्रा'

'कन्सेप्ट नेपाल' को आयोजनामा काठमाडौं, चितवन लगायत सहरका २६ जना लेखक, कवि एवं पत्रकारहरू होमस्टे पुगेका हुन् ।

आँपस्वारा होमस्टे दलित समुदायले सञ्चालन गरेको देशकै पहिलो होमस्टे हो । यस क्रममा लेखक तथा पर्यटन अभियन्ताहरूले स्थानीय शिल्पीहरूलाई सम्मान गर्नुका साथै अन्तरक्रिया र कविता वाचन गरेका थिए । गाउँको बीचमा पर्ने एउटा चौतारीमा आयोजित कार्यक्रममा स्थानीय चार जना कलाकारलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेलाई प्रमुख अतिथि बनाएर गरिएको कार्यक्रममा माटोका गहना बनाउने मेनुका बिक, पेशागत रुपमा आरनको काम गर्ने डिलबहादुर बिक, कुसल वाध्यवादक सुन्दर बिक र बाँस तथा निगालोका सामान बनाउने कलाकार तुलसीबहादुर मगरलाई सम्मान गरिएको हो।

छुवाछुतविरुद्ध ऐक्यवद्धता जनाउन, गाउँलेको सुखदुःख बुझ्न, पर्यटन कर्ममा लागेका गाउँलेलाई उत्साही बनाउन र ग्रामीण जीवनशैली अध्ययन गर्न असार १५ देखि १७ गतेसम्म ‘आँपस्वारा काव्य यात्रा–२०७९’ आयोजना गरिएको बताइएको छ ।

आँपस्वारामा विश्वकर्मा समुदायका १८ परिवारले २०७२ सालदेखि होमस्टे सञ्चालन गर्दै आएका छन् । सदरमुकाम दमौली बजारबाट ६ किलोमिटर पूर्वमा रहेको आँपस्वारा रमणीय गाउँ हो।

प्रसिद्ध थानीमाई मन्दिर, हिमाल अवलोकन र अर्गानिक खानाका लागि यहाँ पर्यटकहरू आउने गर्छन् । आँपस्वाराबाट अन्नपूर्ण हिमसृंखला देखिनुका साथै दमौली बजार, छाब्दीबराह मन्दिर, मानहुँकोट, सेती हाइड्रो पावर र सुन्तला बगान पनि हेर्न सकिन्छ ।

कार्यक्रममा सम्मान पाएपछि स्थानीय कलाकारहरूले जीवनमा पहिलो पटक सम्मान पाउँदा खुसी भएको प्रतिक्रिया दिएका थिए । यस क्रममा कवि तथा लेखकहरूले आफ्ना अनुभूति र रचना सुनाएका थिए।

यात्राका संयोजक पत्रकार अमृत भादगाउँलेले भने 'छुवाछुत मेटाउन आँपस्वारावासीको होस्टेमा हैंसे गर्दै समग्र गाउँको पर्यटन प्रवर्द्धन गर्नु हाम्रो काव्य यात्राको मुख्य उद्देश्य हो । हामीले विगतमा जानेर वा नजानेर गरेका विभेदको आत्मालोचना पनि गर्‍यौं ।’

काव्य यात्रामा पत्रकार भादगाउँलेसहित ध्रुब मधिकर्मी, अभय श्रेष्ठ, सागर उदास, भूपिन, गनेस पौडेल, हेमन्त विवश, मनिषा गौचन, सुमन थापा ‘संगम’, उषा थपलिया, केशव सिग्देल, रमि प्रिया, लोकराज भट्ट, मेघराज आचार्य, सम्झना रसाइली, कृष्णगोपाल श्रेष्ठ, सुरेन्द्र राना, सुजिता कार्की, राजकुमार गजुरेल, भवानी शिलाकार, प्रकाश गुरुङ, घनश्याम पौडेल, सुरज उपाध्याय, कवि अमृत, संजिव पौडेल र तारानाथ पहारी सहभागी थिए। कन्सेप्ट नेपालले यसअघि ‘खप्तड काव्य–यात्रा २०७५’ र ‘फोक्सुन्डो काव्य–यात्रा २०७६’ आयोजना गरेको थियो।

प्रकाशित : असार १९, २०७९ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?