सडकका नाममा अवैध क्रसर- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकका नाममा अवैध क्रसर

मध्यपहाडी सडक आयोजनाका लागि सञ्चालन गरिएको क्रसरले काम सकिए पनि अन्यत्र निर्माण सामग्री बेच्दै 
अगन्धर तिवारी

पर्वत — सडक आयोजना निर्माणमा आवश्यक क्रसिङ सामग्री तयार गर्न सञ्चालनमा ल्याइएका क्रसर उद्योगले बिनाअनुमति अवैध कारोबार गरेको छ । मध्यपहाडी सडक आयोजनाको ठेक्का लिएको लामा कन्स्ट्रक्सनले कुश्मा नगरपालिका–८ दोबिल्लामा सञ्चालनमा ल्याएको क्रसरले सडकका लागि तोकिएको भन्दा ठूलो परिमाणमा निर्माण सामग्रीको कारोबार गरिसकेको छ ।

पर्वतकोकुश्मा–८ दोबिल्लामा सञ्चालित क्रसर उद्यो ग । तस्बिर : अगन्धर /कान्तिपुर

लामा कन्स्ट्रक्सनले करिब ५ वर्षअघि मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माणको ठेक्का लिएको थियो । सम्झौताबमोजिम काम सकेर मध्यपहाडी सडक आयोजना कार्यालयलाई गत वैशाखमै सडक हस्तान्तरण गरिसकेको छ । तर, कम्पनीले दोबिल्लामा सञ्चालनमा ल्याएको क्रसर भने अझै चालु छ । क्रसर उद्योगले क्रसिङ गरेको सयौं टिपर क्रसिङ गिटी, बालुवा तथा चिप्स अन्य आयोजनालाई निर्बाध बिक्रि गरिरहेको छ । यतिसम्म कि कुश्मा र आसपासमा निर्माण भइरहेका निजी घर निर्माणमा पनि यहींबाट उत्पादित गिटी, बालुवा बिक्री भइरहेको स्थानीय बताउँछन् ।

सडक निर्माण थालिएसँगै सञ्चालनमा ल्याइएको उक्त क्रसरले सुरुदेखि नै निरन्तर जिल्लाका अन्य आयोजनालाई समेत निर्माण सामग्री बिक्री गर्दै आएको छ । ‘हामीले यहाँ धूलोले बसिसाध्य भएन भनेर धेरैपटक गुनासो गर्‍यौं,’ एक स्थानीयले भने, ‘जग्गावालाले भाडामा दिइसकेपछि उनीहरूकै चल्दोरहेछ । हामीले जति कराए पनि सुनिदिने कोही भएन ।’ क्रसर उद्योग सञ्चालन हुँदा धुलोले आसपासको बस्तीका घरमा लगाएको रङ र खेतीबालीको हरियाली नै धुलोमय बनेको स्थानीयको गुनासो छ ।

सडकका लागि आवश्यक पर्ने क्रसिङ सामग्री तयार गर्न सञ्चालनमा ल्याइएका यस्ता क्रसर उद्योगले मापदण्डविपरीत चट्टान फुटाउने र सडकछेउको मापदण्डभन्दा धेरै परसम्म डाँडामा ब्रेकर लगाएर ढुङ्गा तथा रोडा निकालेका छन् । जसका कारण सामान्य वर्षा हुनासाथ पहिरो र लेदो बगेर सडक अवरुद्ध हुने गरेको छ । क्रसरकै लागि कच्चा सामग्री निकाल्न सडक मापदण्डभन्दा बढी भीरपहरो फुटाएका कारण गतवर्ष मनसुनमा पर्वत खण्डमा धेरै क्षति पुगेको थियो ।

नियामक निकाय भने सडकको काम सकेर आयोजना कार्यालयलाई हस्तान्तरण गरिसकेपछि पनि निर्बाध रूपमा क्रसर सञ्चालन गर्ने व्यवसायीलाई कारबाही गर्न आलटाल गरिरहेको छ । स्थानीय प्रशासन, प्रहरी र आयोजना कार्यालयका जिम्मेवार पदाधिकारी नै क्रसर उद्योगको पक्षमा उभिएका छन् । ‘उसले सडक हस्तान्तरण गरे पनि एक वर्ष मर्मतको समय हुन्छ,’ मध्यपहाडी आयोजनाको कुश्मास्थित कार्यालयका आयोजना प्रमुख नारायणदत्त भण्डारीले भने, ‘आउँदो वैशाखसम्म त्यो उद्योग राख्न पाउँछ ।’ उद्योगले निर्माण सामग्री बाहिर बिक्री गरेको भन्ने हल्ला मात्रै भएको उनले दाबीसमेत गरे ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले अवैध बिक्री गरेको सम्बन्धमा कुनै उजुरी नआएको बताए । ‘सडक आयोजनाका नाममा खुलेका क्रसरले अन्यत्र बेचेको पाइए कारबाही हुन्छ,’ उनले भने, ‘त्यसरी अवैध बेचेको भन्ने पुष्टि हुन आए हामी कारबाही गर्छौं ।’ त्यसमा आयोजना कार्यालय जिम्मेवार रहने उनको भनाइ छ । उक्त क्रसर कुनै निकायमा दर्ता भएको देखिँदैन । दर्ता भएका क्रसर व्यवसायीले समेत नदी, सडक, बस्ती र सामुदायिक वनदेखि कम्तीमा पाँच सय मिटर टाढा मात्रै व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था छ । तर, उक्त क्रसर भने मोदीखोलाको किनारैमा छ । क्रसर आसपासमै बस्ती मात्रै होइन दोबिल्ला फलेबास सडकसँगै जोडिएको छ । जसका कारण उद्योगमा आउजाउ गर्ने अत्यधिक भारका ट्रिपर र एक्स्काभेटरका कारण सडकको कालोपत्रे उक्किएर हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुने गरेको छ ।

‘लामा कन्स्ट्रक्सन आफैंले गरेको होइन । अरूबाट लिएको हो । म आउनुभन्दा अगाडि राखेको रहेछ,’ जिल्ला प्रहरी प्रमुख डीएसपी शिवराज बुढाथोकीले भने, ‘त्यस सम्बन्धमा मलाई कसैले केही भनेको छैन । कसले सञ्चालन गरेको हो । त्यो पनि जानकारी भएन ।’ लामा कन्स्ट्रक्सनका सञ्चालक जिपछिरिङ लामाले आफूहरूले सडक आयोजनाकै नाममा पर्वतमा कुनै पनि क्रसर सञ्चालनमा नल्याएको दाबी गरे । ‘हामीले सबकन्ट्याक्टमा सामग्री लिएको हो,’ उनले भने, ‘सडक आयोजनालाई बुझाइसक्यौं । अब एक वर्षसम्म बिग्रिएको सडक मर्मत गर्नेबाहेक हाम्रो कुनै सम्बन्ध छैन ।’

प्रकाशित : असार १९, २०७९ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्

पहिले यता हेर महानगर

दीपक केसी, संजोग मानन्धर, सुजन गोपाली

काठमाडौँ — काठमाडौं महानगरले फुटपाथमा व्यापार गर्नेलाई निषेधको नीति लिएको छ । त्यही नीति कार्यान्वयन गर्न नगर प्रहरीको एउटा टुकडीले फुटपाथमा व्यापार गर्नेलाई हटाउँछ । यस क्रममा शुक्रबार बालुवाटारमा सडकछेउमा मकै पोलेर बेचिरहेका एक दम्पतीको ठेलागाडा नियन्त्रणमा लियो । र, उनीहरुमाथि सामान्य मानवीय व्यवहारसमेत गरिएन ।

आवागमनमा बाधा पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइँदैन । उपत्यकामा दैनिक गुजारा टार्न सडकछेउमा व्यापार गर्नेहरु थुप्रै छन् र उनीहरुका व्यापार पनि थुप्रै थरीका छन् । सडक छेकेर गर्न नहुनेमा यस्ता व्यापार पनि पर्छन् । नियन्त्रण र नियमन जरूरी हुँदाहुँदै पनि महानगरले तत्काल हेर्नैपर्ने क्षेत्र छुटेका छन् । सहरलाई कुरुप र अव्यवस्थित बनाइरहेका फोहोरमैला, अव्यवस्थित फुटपाथ, सडकछेउका पोलमा गुजुल्टिएका तार व्यवस्थापनमा ध्यान जानुपर्छ ।

काठमाडौं उपत्यकाका फुटपाथमा जताततै निर्माण सामग्री थुपारिएको छ । कतै ढल थुनेर छोडिएको छ । कतिपय सडकछेउ हिँड्दाहिँड्दै फुटपाथ हराउँछ । भित्री सडकहरुमा त अझ फुटपाथ भेट्नै मुस्किल पर्छ । जथाभाबी पार्किङले गर्दा पैदलयात्री जोखिम मोलेर सडकबाट हिँड्न बाध्य छन् । केहीबेर ठूलो पानी पर्‍यो भने प्रमुख चोकहरु नै जलमग्न हुन्छन् ।

छिमेकी ललितपुर महानगरको कामकारबाही काठमाडौंको भन्दा फरक छैन । ललितपुरले हैजाको जोखिम बढेको भन्दै ठेलागाडा र रिक्सामा पानीपुरी, स्ट्रिट फुड, तरकारी तथा फलफूल बेच्न निषेध गर्‍यो । तर, हैजाको मुख्य जोखिमका रुपमा रहेको सार्वजनिक स्थानमा थुप्रिएको फोहोर, ढल, दुर्गन्धित पोखरी सरसफाइ गर्नतर्फ ध्यान दिएको देखिँदैन ।

ललितपुरको मुख्य व्यापारिक केन्द्र लगनखेल क्षेत्रमा सडकमै ढल बग्ने गर्छ । फोहोर थुप्रिने समस्या पनि हटेन । खानेपानीको स्रोतदेखि प्रयोगसम्म सतर्कता आवश्यक छ । ढल खुला छाडिनु हुँदैन ।


प्रकाशित : असार १९, २०७९ १०:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×