कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रोगले घट्यो आलु उत्पादन

घनश्याम खड्का

म्याग्दी — म्याग्दीका लेकाली बस्तीमा आलु थन्क्याउने चटारो सुरु भएको छ । किसानका अनुसार यस वर्ष आलु उत्पादन घटेको छ । लेकाली वस्तीमा असार र साउन आलु थन्क्याउने मुख्य समय हो । ‘यो वर्ष ढोठा (साउने संक्रान्ती मेला राम्चे) मा आउने पाहुनालाई खुवाउने आलु पनि नहुने भयो । राम्चे र वरपरका बस्तीमा आलु उत्पादन कम भयो,’ अन्नपूर्ण गाउँपालिका–८ राम्चेका राजु गर्बुजाले भने । 

रोगले घट्यो आलु उत्पादन

अन्नपूर्णको शिख, हिस्तान र राम्चे आलु उत्पादनको पकेट क्षेत्र हुन् । जिल्लाको कृषी ज्ञान केन्द्रका अनुसार राम्चे, नागी, हिस्तानबाट गतवर्ष १० हजार २ सय ८१ मेट्रिक टन बर्खे आलु बिक्री गरी कृषकले करिब २० करोड रुपैयाँ बढी पाएका थिए । जिल्लाका उपल्लो भेगका बस्तीसम्म कच्ची सडक पुगेपछि लेकाली क्षेत्रका आलुसमेत तरकारी बजार फस्टाएका थियो ।

जिल्लामा बर्खे आलुमा रैथाने बीउ प्रयोग गरिने र कुनै पनि रासायनिक मल र औषधि प्रयोग गरिँदैन । राम्चेका अर्का कृषक फासबहादुर गर्बुजाका अनुसार सडक पुगेपछि कृषकले आलु उत्पादन र क्षेत्रफल बढाएका थिए । तर यो वर्ष बोट राम्रो भए पनि दाना भने कम र त्यही पनि साना लागेको उनले बताए ।

‘म्याग्दीले आलु ठूला सहरमा समेत बिक्रीका लागि पठाउँथ्यो । यस वर्ष आलु पकेट क्षेत्रमै उत्पादन भएन । आलु खन्न भर्खर सुरु भएकाले कुनकुन बस्तीमा उत्पादन घट्यो, लेखाजोखा भइरहेको छ,’ कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले भने, ‘राम्रो मल, बीउ, सिँचाइको व्यवस्था र उन्नत खेती गर्ने हो भने उत्पादन दोब्बर बढी बनाउन सकिन्छ । अहिले भइरहेको खेती जिल्लाका लेकाली क्षेत्रमा परम्परागत प्रणालीमा आधारित छ ।’ जिल्लाको अधिकांश लेकाली बस्तीको मुख्य खेती आलु हो । विषादीरहित तथा स्वादिलो हुने भएकाले बेनी, बागलुङ, पोखरा र काठमाडौंसम्म लेकाली आलुको माग छ ।

प्रकाशित : असार १९, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?