कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पोखरामा पनि झुत्रा नोटबाट ब्रिकेट

प्रतीक्षा काफ्ले

कास्की — पोखरामा पुराना‚ च्यातिएका‚ रंग दलिएका र कोरिएका नोटबाट ब्रिकेट (गुइँठा) बनाइने भएको छ । नयाँ प्रविधि भित्रिएसँगै यसअघि जलाइँदै आएका पुराना नोटलाई मेसिनबाट टुक्र्याएर ब्रिकेट बनाउन लागिएको राष्ट्र बैंकको प्रदेश कार्यालय पोखराले जनाएको छ । कार्यालयले नोटलाई टुक्य्राएर ब्रिकेट बनाउन मिल्ने आधुनिक प्रविधिसहितको मेसिन सञ्चालनमा ल्याइसकेको छ ।

पोखरामा पनि झुत्रा नोटबाट ब्रिकेट

गत माघमा जडित उक्त मेसिन परीक्षण गरेसँगै शुक्रबारदेखि नियमित सञ्चालनमा आएको छ । गभर्नर महाप्रसाद अधिकारीले मेसिनको उद्घाटन गरे । उक्त अवसरमा अधिकारीले रातो स्लिप लगाइएका नोट मात्रै बैंकले नष्ट गर्दै आएको बताए । आधुनिक एकीकरणको अभियानमा बैंकका धेरै सिस्टम परिवर्तन भएको र टुक्य्राउने मेसिन पनि नयाँ प्रविधि रहेको उनको भनाइ छ । ‘नराम्रा नोट कुनै पनि बैंकले बाहिर ल्याउन मिल्दैन,’ उनले भने, ‘यसरी मेसिनबाट नोट धुलाउन थालेपछि वातावरणीय असर पनि पर्दैन ।’

पुराना नोट मेसिनभित्र राखेपछि टुक्रिन्छन् । धुलो बनेपछि ब्रिकेट बन्ने बैंकका प्रदेश निर्देशक रामशरण खरेलले बताए । साढे ५ करोड रुपैयाँ लागतमा नेदरल्यान्ड्सबाट दुई वटा मेसिन ल्याइएको हो । ‘यसअघि चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई आगो लगाएर नष्ट गरिन्थ्यो,’ खरेलले भने, ‘अब त्यो परम्पराको अन्त्य गरी विद्युतीय माध्यमबाट नोट धुलाइनेछ । यसरी धुलाइएको ब्रिकेट प्रतिकिलो १२ रुपैयाँको दरले बिक्री हुनेछ । यसका लागि कागज कारखानासँग छलफल भइसकेको छ ।’

यसअघि आधा लिटर डिजेल छर्किएर आगो लगाउँदा दुई सय बन्डल नोट एकैपटक जलाउने गरिएको उनले जनाए । नोट जलाउन बैंककै कम्पाउन्डभित्र निश्चित क्षेत्र (पुरानो घर) तोकिएको थियो, जसले वातावरणीय असर पनि पर्ने गरेको उनको भनाइ छ । भारतमा २००३ र श्रीलंकामा २००७ सालमा भित्रिएका यस्ता मेसिन विदेशमा बढी प्रचलनमा रहेको र नेपालमा पनि केही वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी भए पनि लोडसेडिङका कारण सञ्चालन गर्न नसकिएको खरेलले बताए । यो मेसिन प्रयोग गर्दा विद्युत् पनि बचत हुने उनले जानकारी दिए ।

प्रकाशित : असार १७, २०७९ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?