दोहोरो भुक्तानीपछि अख्तियारमा मुद्दा

बागलुङ — काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विक, प्राविधिक, उपभोक्ता समितिका पदाधिकारी र ठेकेदारसमेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्र्रष्टाचार मुद्दा दायर गरेको छ ।

दोहोरो भुक्तानीपछि अख्तियारमा मुद्दा

एउटै योजनामा फरकफरक अनियमितता आरोपमा उनीहरूमाथि ३ वटा मुद्दा दर्ता भएको हो । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले उनीहरूले नीतिगत, आर्थिक तथा गैरकानुनी काम र सामान तथा उपकरण प्रयोगमा अनियमितता गरेको बताए ।

काठेखोला–२ भीमापोखराको नालढुंगा खानेपानी आयोजनामा इस्टिमेटविपरीत भुक्तानी गरेको तथा डुडियादेखि तंग्राम जाने सडक खण्डमा ठेक्कासमेत नलगाई सार्वजनिक खरिद ऐनविरुद्ध काम गरेको र एउटै कामको दोहोरो भुक्तानी गरेको आरोप छ । ती आयोजनामा भ्रष्टाचार गरेको भन्दै विकसहित सबइन्जिनियर नवीन थापा, असिस्टेन्ट सब इन्जिनियर सनोज उपाध्याय र लेखापाल खडानन्द कँडेलविरुद्ध अख्तियारले विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको हो । उक्त कामले सरकारलाई ७ लाख ९२ हजार रुपैयाँ गैरकानुनी रूपमा हानिनोक्सानी पुर्‍याएको भन्दै अख्तियारले अभियुक्तलाई सोही बिगो रकम जरिवाना गरी असुलउपर गर्न र कैद सजाय तोक्न माग गरेको छ ।

सेभेन स्टेट बिल्डर्सका प्रोप्राइटर दीपेन्द्रबहादुर खड्कालाई ३ लाख ५३ हजार, अर्गेजा निर्माण सेवाका प्रोप्राइटर मसुमन अर्गेजा, प्रतिनिधि काठेखोला कन्स्ट्रक्सनका प्रोप्राइटर टंकबहादुर कुँवरलाई १ लाख ५१ हजार र खुसु निर्माण सेवाका सूर्यबहादुर भण्डारीलाई पनि १ लाख ५१ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : असार १७, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?