कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जेठो पुस्तकालय ब्युँताउने प्रयास

प्रजातन्त्र स्थापनापछि खुलेको पुस्तकालयको जीर्ण भवन ४८ लाख खर्चेर पुनर्निर्माण

गोरखा — जिल्लाकै जेठो पुस्तकालय ब्युँताउन स्थानीय अग्रसर बनेका छन् । यतिबेला जीर्ण भवन मर्मत गरी नयाँजस्तै बनाइएको छ । २००७ सालमा प्रजातन्त्र स्थापनापछि २००८ मा खुलेको त्रिभुवन पुस्तकालय नेपालकै पुरानोमध्येमा पर्छ ।

जेठो पुस्तकालय ब्युँताउने प्रयास

गोरखा नगरपालिका–६ तिनधारेमा रहेको पुस्तकालयको भवनलाई २०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएपछि पुनर्निर्माण गरीएको हो । स्थानीयको पहलमा २ वर्षदेखि भवन पुनर्निर्माण भइरहेको थियो । ऐतिहासिक पुस्तकालय ३ दशकयता पटक–पटक बन्द हुँदै फेरि सञ्चालन हुँदै आएको थियो । स्थानीयको अग्रसरतामा स्थापना भएको यो पुस्तकालय सुरुदेखि नै जिल्लाकै अध्ययन गर्ने प्रमुख केन्द्रका रूपमा परिचित थियो । पुस्तकालयमा विद्यार्थी भेला भएर अध्ययन गर्थे । ‘त्यो बेला किताब कम पाउने, कुनै कक्षाको परीक्षा दिनुपरे पनि विद्यार्थी यहीं आएर पुस्तक पढ्थे,’ स्थानीय मोहनलाल श्रेष्ठले भने ।

उनका अनुसार पुस्तकालय सुरुमा ठूलो आँगनको पाटीबाट सञ्चालित थियो । पुस्तकालय लोकप्रिय बनेपछि तीनधारेमा भवन नै बनाएर सारिएको थियो । पुस्तकालय बन्द हुने र खुल्ने क्रम भइरहँदा यहाँ रहेका कतिपय महत्त्वपूर्ण पुस्तक हराइसकेका छन् । ‘त्यो बेला किताब पढ्ने चलन थियो । उपन्यास, कथा पढ्ने धेरै हुन्थ्यौं,’ स्थानीय पुरुषोत्तम अर्याल सम्झन्छन्, ‘पुस्तकालयमा छैटौं शताब्दीको ‘शब्द कल्पद्रुम’ भन्ने किताबसमेत थियो । अहिले त्यो किताब पाउनै गाह्रो छ । दुर्लभ र महत्त्वपूर्ण कतिपय किताब पानीले खत्तम बनायो, कतिपय हराए ।’

पुस्तकालयमा पौराणिक ग्रन्थ पनि थिए । ‘त्यो बेला इमेल इन्टरनेट थिएन । पुस्तक पढ्न रजिस्टरमा नामा दर्ता गराएर पनि घरमा लग्थे । अन्यत्र कम पाइने र अभाव हुने दुर्लभ पुस्तक संग्रहित थिए,’ उनले भने । सुरुमा गोरखा सदरमुकामको आधार स्कुलका रूपमा यसलाई लिइने गरेको उनी सुनाउँछन् । पुरानो र ऐतिहासिक पुस्तकालय भएकाले यसको संरक्षणको आवश्यकता रहेको उनले बताए । ‘समय सुहाउँदो पुस्तकहरू राख्ने । इन्टरनेट र कम्प्युटरको प्रयोग बढाउने गरी पुस्तकालय नयाँ ढंगले सञ्चालन गरिनुपर्छ,’ उनले भने, ‘पुस्तकालयमा बाँकी बचेका पुस्तकको पनि व्यवस्थापन गर्न सके यसको संरक्षणमा सहयोग पुग्छ ।’

चारतले पुस्तकालय भवन ४८ लाख रुपैयाँ खर्च गरेर पुनर्निर्माण गरिएको छ । वडा, नगरपालिका र स्थानीय दाताबाट रकम संकलन गरेर भवन पुनर्निर्माण गरिएको निर्माण समितिका संयोजकसमेत रहेका श्रेष्ठले बताए । पुस्तकालय सञ्चालनका लागि कुशललाल श्रेष्ठको संयोजकत्वमा समिति बनाएर मंगलबार भवन हस्तान्तरण गरिएको छ । ‘पुस्तकहरू जोड्नु छ । यसका लागि रकम संकलन गरेर पुस्तकालय सञ्चालनतर्फ अघि बढेको छ,’ उनले भने । आकर्षक भवन निर्माण भएपछि पुस्तकालय व्यवस्थापनका लागि सहयोगीहरूले रकम पनि घोषणा गर्न थालेका छन् ।

प्रकाशित : असार १७, २०७९ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?