‘बगरमा कसरी रोपाइँ गर्नु ?’- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बगरमा कसरी रोपाइँ गर्नु ?’

कान्तिपुर संवाददाता

गोरखा — असार १५ लाग्दा जिल्लाका अधिकांश किसान रोपाइँमा व्यस्त छन् । जेठ अन्तिम साताको बाढीले खेत कटान गरेको पालुङटार नगरपालिका–९ क्षेत्रका किसानलाई भने रोपाइँ गर्ने जाँगर चलेको छैन । भित्र्याउने बेलाको चैतेधान बाढीले सोत्तार बनाएपछि खेतमै उम्रन थालेको छ ।

खारखोला फाँटको ९ रोपनी खेतमा लगाएको चैते धान र मकै बाढीले पुरेपछि देवीलाल कुमाललाई खेत गएर हेर्नै मन छैन । भन्छन्, ‘बाढीले सोत्तर बनाएको खेतमा के जानु ?, अब फेरि बर्खे धान रोपाइँ गर्ने बेला भयो, तर जाँगर चलेको छैन ।’ विगतमा यस क्षेत्रका किसान चैते धान भित्र्याएर बर्खे धान रोपाइँको तयारीमा जुट्थे । जेठ अन्तिम साताको कटानले बगर बनेको खेतमा रोपाइँ गर्न सम्भव नरहेको ऋषिराम अधिकारीले बताए । अधिकारीको पाँच रोपनी खेत कटानमा परेको छ । ‘बगर बनेको खेत कहिले रोपाइँ गर्ने, खेत खोलाले घेरेको छ, रोपाइँ गरेर मात्र पनि काम भएन,’ उनले भने ।

खारखोला र चुतिखोलाको तटीय क्षेत्रका किसानलेमध्य असारसम्म रोपाइँ गर्ने/नगर्ने अलमलमा छन् । भित्र्याउने बेलाको चैतेधान बाढीले सोत्तर बनाएपछि किसानलाई फेरि खेतमा पुगेर पसिना बगाउने जाँगर चलेको छैन । रमेश परियारले कदमबोटे फाँटको ६ रोपनी खेतको चैते धान भित्र्याउन पाएनन् ।

उनको २० मुरी धान बाढीले नष्ट गरिदियो । ‘एउटै गेडो भित्र्याउन पाइएन, अधियाँमा गरेको खेत दुःख मात्र खेर गयो,’ उनले भने, ‘बर्खे धान लगाउन पनि जाँगर छैन, फेरि बाढीले बगाइदियो भने दुःख गर्न मात्र हुन्छ ।’ बाढीले बगर बनेको झन्डै ३ हजार रोपनी खेतमा यस वर्ष रोपाइँ गर्न सकस परेको वडाध्यक्ष भेजराज पाण्डे बताउँछन् । ‘कुलो सबै बगाएको छ, ढुङ्गा र बालुवा बसेको खेतमा आँठा लगाएर फेरि खेत बनाएर रोप्न गाह्रो छ,’ उनले भने । १० भन्दा बाढी कुलो बगाएको उनले बताए । धान ब्याडसमेत बगाएको छ । कटानमा नपरेको खेतका किसानले भने रोपाइँको तयारी थालेका छन् । वडा कार्यालयले उक्त क्षेत्रमा तटबन्धका लागि सिँचाइ कार्यालयसँग समन्वय गरेको पाण्डेले बताए । धान खेत क्षति पुर्‍याएको किसानलाई राहतका लागि नगरपालिका र कृषि ज्ञान केन्द्रसँग पहल भइरहेको उनले बताए ।

प्रकाशित : असार १६, २०७९ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्

मध्य असारसम्म पर्वतमा ३० प्रतिशत मात्रै रोपाइँ

अगन्धर तिवारी

पर्वत — समयमै मनसुन सक्रिय नहुँदा पर्वतका अधिकांश क्षेत्रमा अझै रोपाइँ हुन सकेको छैन । धान दिवसका दिनसम्म पर्वतमा ३० प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 


कृषि ज्ञान केन्द्रका अनुसार पर्वतमा २८ हजार खेतीयोग्य जमिनमध्ये करिब ७ हजार २ सय २५ हेक्टरमा धान खेती गरिएको हुन्छ । जसबाट २० हजार ५ सय २० मेट्रिक टन उत्पादन हुन्छ । पर्वतको माटोमा २.८ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको छ । जुन राष्ट्रिय तथा गण्डकी प्रदेशको उत्पादकत्वको तुलनामा न्यून रहेको प्राविधिक बताउँछन् । धानबाली क्षेत्रफल र उत्पादनका हिसाबले पर्वत जिल्लामा मकैपछिको दोस्रो प्रमुख खाद्यान्नबाली हो ।

बुधबारसम्म करिब २१ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको केन्द्र प्रमुख मनिता थापाले बताइन् । उनका अनुसार अधिकांश क्षेत्रका किसानले रासायनिक मल नभएका कारण समयमै रोपाइँ गर्न सकेका छैनन् । कतिपय किसानले पानी अभावले रोपाइँ गर्न सकेका छैनन् । जिल्लाका केही स्थानमा सोमबार रातिदेखि मात्रै मनसुन सक्रिय भएर नियमित वर्षा भइरहेको छ । आकासेपानी र मूलको भरमा धान रोप्ने किसानले वर्षा प्रशस्त नभएका कारण मूलको पानी नभएर रोपाइँ गर्न नसकेको बताएका छन् । ‘पहिरेमा थुप्र्रै मूल थिए,’ कुश्मा–९ का किसान आनन्द अधिकारीले भने, ‘अहिले अझै मूल नरसाउँदा असार पन्ध्रमा पनि रोपाइँ गर्न सकिएको छैन ।’ सोमबारदेखि निरन्तर वर्षा भएकोले अब एक/दुई दिनमा मूलमा पानी रसाउने आशा लागेको उनले बताए । रोपाइँ सकिने बेलासम्म रासायनिक मल नपाउँदा धानको उत्पादन घट्न सक्ने अर्को चिन्ता लागेको उनले बताए ।

पर्वत जिल्लामा उत्पादन भएको २० हजार ५ सय २० मेट्रिक टन धानबाट करिब १३ हजार ७ सय ४७ मेट्रिक टन चामल प्राप्त हुन्छ । नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनको जनसंख्यालाई आधार मानी प्रक्षेपण गर्दा हाल पर्वत जिल्लाको जनसंख्या करिब १ लाख ३२ हजार ७ सय ३ छ । यो जनसंख्यालाई प्रतिव्यक्ति प्रतिवर्ष खाद्यान्न आवश्यकता २ सय १ किलोका दरले हिसाब गरेर चामलमा मात्र निर्भर रहँदा २६ हजार ६ सय ७३ मेट्रिक टन आवश्यकता पर्दछ । यसरी उत्पादन र आवश्यकतालाई तुलना गर्दा १२ हजार ९ सय २६ मे टन चामल अपुग देखिएको केन्द्रका बागबानी विकास अधिकृत विश्वास काफ्लेले बताए । तर, मकै, गहुँ, कोदोलगायतको समेत उपभोग गर्ने हो भने पर्वत जिल्लामा खाद्यान्न बचत रहेको केन्द्रको तथ्यांकले देखाउँछ । पछिल्ला केही वर्षयता पर्वतका सबैजसो गाउँमा मिनी टिलर तथा ट्र्याक्टरले जोतेर खेती गर्ने चलन बढेको छ ।

प्रकाशित : असार १६, २०७९ ११:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×