रोपाइँमा विद्यार्थी- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोपाइँमा विद्यार्थी

‘अहिलेसम्म रोपाइँको अनुभव थिएन, खेतमै पुग्दा किसानले कति मिहिनेत गर्नुहुन्छ भन्ने थाहा भयो’
सम्झना रसाइली

तनहुँ — सवि श्रेष्ठ असार १५ मा खेतमा गएर आफैंले धान रोपिन् । दमौलीस्थित पराशर माध्यमिक विद्यालयको कक्षा १० की छात्रा श्रेष्ठ किताबमा पढेको भन्दा खेतमा गएर कृषकसँग काम गर्दा छुट्टै अनुभव भएको सुनाइन् । ‘कक्षाकोठामा बसेर किताबमा खेती किसानीको बारेमा पढेको भन्दा आफैं खेतमा आएर काम गर्दा छुट्दै अनुभव हुँदोरहेछ,’ उनले भनिन्, ‘आजसम्म खेतमा काम गरेको थिइनँ । खेतमै आएर धान रोप्न सिकें, कृषकसँग कुरा गर्न पाएँ, खुसी लागेको छ ।’

तनहुँको व्यास नगरपालिका–११ मुसेखोलामा धान रोप्दैविद्यार्थी । तस्बिर : सम्झना/कान्तिपुर


‘छुपुमा छुपु हिलोमा धान रोपेर छौडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला...’ भन्ने कविता कक्षा–५ को नेपाली विषयमा पढेको थिए’, उनले भनिन्, ‘कक्षामा पढ्दा भन्दा यहाँ आएर कविताको वास्तविक अर्थ बुझियो । कवितामा पढेको जस्तो सजिलो नहुने रहिछ, धान रोप्न । धेरै मेहनत गर्नुपर्ने रहिछ ।’ १० कक्षाकै सौरभ मिश्र भने खेतमा आली लगाउन र खेत हिल्याउन सिक्दै थिए । पहिलो पटक खेतमा टेकेका उनलाई हिलोमा खेल्न र खेतको काम सिक्न साह्रै रमाइलो लागेको बताए । उनले भने, ‘खेतमा धान रोप्नका लागि तयार गर्नलाई धेरै काम गर्नुपर्दो रहिछ । कृषकले साँच्चिकै धेरै मेहनत गर्नुहुँदो रहिछ ।’ एक दिन भए पनि किसान बन्न पाएको अनुभव सुनाउँदै मिश्रले भने, ‘अहिलेसम्म धान रोपाइँको अनुभव थिएन, आज किसान भएर खेतमै पुग्दा नौलो अनुभव भयो । साथै हाम्रो भान्सामा पाक्ने चामल फलाउन किसानले कति मेहनत गर्नुहुन्छ भन्ने पनि थाहा भयो ।’

यस विद्यालयको कक्षा ९ र १० का ५० विद्यार्थी व्यास नगरपालिका–११ मुसेखोलामा धान रोप्न सिक्नका लागि विद्यालय पोसाकमै खेतमा पुगेका थिए । खेतमै धान रोप्न सिक्न आएका बालबालिकालाई धान रोप्न, आली लगाउन, बीउ उखाल्न र खेत हिल्याउन सिकाउन पाउँदा खुसी लागेको किसान रत्नबहादुर दरैले बताए । ‘धेरै पढेका शिक्षकबाट पढ्दै आएका विद्यार्थीलाई आज मैले खेती पढाए’, उनले भने, ‘सिक्न इच्छुक विद्यार्थीलाई धान रोप्न सिकाउन पाउँदा खुसी लाग्यो, किसान सँगसँगै आज म शिक्षक पनि भए ।’

यस्तै, कक्षा कोठाभित्र बसेर पढिने निश्चित पाठ्यपुस्तकबाट प्राप्त ज्ञान पर्याप्त नहुने हुँदा व्यावहारिक शिक्षाका लागि विद्यार्थीलाई खेतमा लगेको शिक्षक रामचन्द्र शर्माले बताए । उनले भने, ‘विद्यार्थीले माटो चिन्ने अवसर पाए । किसानका दुःख र संघर्ष सिक्ने अवसर पाए । खेतीको अनुभवसंगै किसानको श्रमबारे पनि जानकारी पाए ।’

प्रकाशित : असार १६, २०७९ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्

एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

कान्तिपुर संवाददाता

कास्की — सरकारको आन्तरिक द्वन्द्वका कारण १५ दिनसम्म बजेटमाथि छलफल नभएपछि नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गरेको छ । बुधबार एमाले संसदीय दलको कार्यालयमा पत्रकारसँग भेटघाट गर्दै दलका नेता एवं पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नैतिकताका आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए । 

सरकारले असार १ मा आगामी आवको बजेट पेस गरेपछि छलफल चलाएको छैन । एमालेले मुख्यमन्त्रीसँगै अर्थमन्त्री रामजीप्रसाद बरालको पनि राजीनामा माग गरेको छ । ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा सरकारकै दुई मन्त्री सहभागी भएनन्,’ उनले भने, ‘सरकारकै कार्यक्रममा सरकारकै मन्त्री सहभागी नभएपछि नैतिकताले पनि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने थियो । तर, सरकारले बजेट ल्यायो सत्तासीन दलहरूकै द्वन्द्वका कारण अहिलेसम्म संसद् बन्द छ । आपसी झगडाले संसद् बन्धक बनाउन मिल्दैन । छलफल नै चलाउन नसक्ने भए, विधि र शासनमा चल्न नसकेपछि राजीनामा दिनुपर्छ ।’

अर्थमन्त्रीले बजेट र कार्यक्रम काटेछ भन्दै मुख्यमन्त्री तर्कन नमिल्ने बताउँदै उनले भने, ‘छलफल चलाएपछि अर्थमन्त्रीले सांसदको प्रश्नको जवाफ दिएपछि निर्णयार्थ पेस गर्न सकिन्थ्यो तर, छलफल नै रोक्न मिल्दैन ।’ गुरुङको मुख्यमन्त्रीले राजीनामा दिए पनि सरकार मिलेर चलाउन सकिने बाटो खुला रहेको समेत तर्क थियो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम आवश्यक रहेको बताउँदै समेटिनुपर्ने एमालेको माग छ । विगतका वर्षमा पनि आवश्यक ठानेर नै राखेको र आगामी वर्षमा पनि निरन्तरता दिनुपर्ने एमालेले बताएको छ । अर्थ विविध शीर्षकबाट यस कार्यक्रमलाई निरन्तरता दिन अर्थमन्त्रीलाई एमालेले सुझाएको छ । संसद्लाई सरकारले एकपक्षीय रूपमा कब्जा गरेको आरोप पनि एमालेको छ ।

प्रकाशित : असार १६, २०७९ ११:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×