२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

२२ घण्टापछि सञ्चालनमा आयो महेन्द्रराजमार्गको दुम्कीबासमा राजमार्ग

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको अरुणखोला दुम्कीबास सडक खण्डबीचको ३ वटा खहरे खोलाका डाइभर्सन बगाउँदा अवरुद्ध रहेको राजमार्ग बिहीबार बिहानबाट सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार बुधबार बिहान ५ बजे बन्द भएको राजमार्ग आज बिहानबाट सुरु भएको हो । महेन्द्रराजमार्ग हुँदै पूर्व–पश्चिमका लागि छुटेका सवारी साधन गन्तव्यतर्फ हिँडेका छन् ।

अरुणखोला र दुम्कीबास बीचका तिनवटा डाइभर्सन बाढीले बगाएको थियो । करिब १२ किलोमिटर खण्डको बीचमा ३ वटा डाइभर्सन बगाएका कारण राजमार्ग अवरुद्ध थियो ।

महेन्द्रराजमार्ग फराकिलो बनाउने क्रममा बनाइएका अस्थायी सडकमा पानीले निकास नपाउँदा बाटो बगाउने गरेको हो । असार सुरु भएपछि दुम्कीबास अरुणखोला खण्डमा वर्षात् हुनासाथ दिनहुँ सडक बगाउने गरेको छ । बाढीले पूर्ण निकास नपाउँदा कच्ची सडक भत्काउने गरेको हो ।

वर्षामा आएको बाढीले दिनहुँजसो त्यस्ता डाइभर्सन बगाउने जोखिम छ । महेन्द्रराजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डको १ सय १४ किलोमिटर क्षेत्रमा दर्जनौं डाइभर्सन रहेको छ ।

सडक फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम थालेको ३ वर्षको अवधिमा १७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । आउँदो साउन २२ गते सडक निर्माणको काम सकेर नेपाल सरकारलाई हस्तरन्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि उसले १७ प्रतिशतमात्र काम सम्पन्न गरेको छ । कछुवा गतिमा काम गरेका कारण राजमार्गमा खाल्डैखाल्डा छन् । पुल र कल्भर्ट भएका स्थानको काम नसकेका कारण डाइभर्सन सडक बनाइएको हो ।

प्रकाशित : असार १६, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?