जिल्ला प्रहरीमा पुस्तकालय

पोखरा — जिल्ला प्रहरी कार्यालय कास्कीले कार्यालयभित्र पुस्तकालय सञ्चालनमा ल्याएको छ । विशेषगरी प्रहरी कर्मचारी र बाहिरका व्यक्तिहरूलाई पनि लक्षित गर्दै पुस्तकालय सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीमा पुस्तकालय

अहिले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदायसँग विभिन्न कार्यक्रम गर्दै आएको प्रहरीले बौद्धिक क्षेत्रसँग पनि अन्तरक्रिया, भेटघाट गर्ने थलोको रुपमा पुस्ताकालयलाई विकास गर्ने बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुन्दर तिवारीका अनुसार पुस्तकालयमा कानुन, मानवअधिकार, अपराध अनुसन्धान, प्रहरीका विभिन्न मोडल तथा ज्ञानसँग सम्बन्धित पुस्तक रहेका छन् ।

‘हिरासतमा रहेका थुनुवाले पनि पढ्न मिल्ने पुस्तक राखेर पढ्न दिइनेछ,’ उनले भने, ‘पुस्तक जम्मा गर्ने अभियान सुरु गरेका छौं ।’ द लाईब्रेरी क्याफे नाम दिइएको पुस्तकालयको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सोमबार उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय हातामा प्रवेश गर्ने सबैका लागि पुस्तकालय सिकाइको नयाँ स्रोत बन्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरी शर्माले पुस्तकालय नयाँ अभ्यास भएको र यसले प्रहरीलाई आफ्नो काममा थप दक्ष बनाउने बताए । कास्की प्रहरी प्रमुख उपरीक्षक रमेश थापाले सिक्ने चाहना भएका व्यक्तिलाई पुस्तकालय सञ्चालनमा ल्याएर सिकाइमा सहजीकरण गरिएको बताए । पुस्तकालय बिहान ७ देखि साँझ ७ बजेसम्म खुला रहने प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १४, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?