१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पाँच वर्षमा १ हजार नाउर घटे

प्रकाश बराल

बागलुङ — हरेक पाँच वर्षमा गरिने गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको संख्या ह्वात्तै घटेको छ । अध्ययनले झारलको संख्या भने केही बढेको देखिएको हो ।

आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार गणनामा नाउर १ हजार २ सय ९० र झारल ७ सय ४४ वटा भेटिएका हुन् । पाँच वर्षअघि यहाँ २ हजार २ सय २ वटा नाउर र ३ सय ८८ वटा झारल भेटिएका थिए ।

पाँच वर्षमा नाउरको संख्या झन्डै १ हजारले घटेको हो । कँडेलले यति धेरै संख्या घटेर आउनु दु:खद् भएको बताए । ‘हामीले गरेको अध्ययनको समय र प्राविधिक फरक परेकाले पनि केही संख्या घटेको हुन सक्छ‚’ कँडेलले भने, ‘सामान्य अंक तलमाथी हुनु नौलो होइन तर यति धेरै घट्दा ठूलो समस्या भित्रिएको देखिन्छ ।’ यहाँ बढिरहेको चोरी-सिकारी र केही प्रकोप आएकाले कतिपय नाउर मारिएको आशंका उनले गरे । सहायक संरक्षण अधिकृत सूर्य खड्काका अनुसार ढोरपाटनमा चोरी सिकारसमेत बढेको छ ।

‘व्यवसायिक चोरी सिकारी कम छ तर स्थानीयले सिकार गरेर खाने क्रम बढी छ‚’ खड्काले भने, ‘पटक पटक आरक्ष र सेनाले गर्ने सर्चमा अवैध हतियारसहित मानिस पक्राउ परिरहेका छन् ।’ बरामद भएका अधिकांश हतियार सेनाले प्रयोग गर्ने खालका भेटिएकाले लामो दूरीबाट चोरी सिकार भएको हुन सक्ने उनले बताए ।

यसअघि सन् २०१६ को असोज-कात्तिकमा यहाँ नाउर गणना भएको थियो । उक्त गणनाको समयमा चिसो बढ्दै गरेकाले नाउर पहाडको तल्लो खण्डमा भेटिएका थिए । यो पटक गत चैत-वैशाखमा गणना गर्दा गर्मीले गर्दा हिमालमा चढेको भेटिएको हो । पहिलो पटक आरक्षकै नेतृत्वमा गणना भएकोमा यो पटक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा भएको हो । ‘नाउरहरू हिमालमा चढ्दा र गणकहरू पुग्न नसक्दा कतिपय गणना अन्दाजको भरमा भएको छ‚’ कँडेलले भने, ‘मौसमको खराबीले यो पटकको गणनासमेत प्रभावित भएको थियो ।’ ढोरपाटनको हिमाली क्षेत्रमा हावाहुरी र हिमपहिरो समेत खसेको थियो । हिमपहिरोमा केही नाउर पुरिएको उनले बताए ।

आरक्ष कार्यालय र यहाँस्थित नेपाली सेनाको देवीबक्स गुल्मले गरेको गस्तीको क्रममा केही नाउर रोग लागेर दुब्लाएको देखिएको र त्यसकै कारण पनि ती नाउर मरेको हुन सक्ने अनुमान टोलीले गरेको थियो । हिमपहिरोमा कति नाउर मरे भन्ने यकिन नभएपनि उद्धारको क्रममा २० वटाभन्दा बढी नाउर हिमपहिरोमा पुरिएको भेटिएको कँडेलले जानकारी दिए ।

‘हामीले यहाँ सेनाको गण चाहिन्छ भनेर मागेका छौं तर पाइएको छैन‚’ कँडेलले भने, ‘गण भयो भने सबै ब्लकमा सुरक्षा व्यवस्था गर्न सकिन्छ ।’ आरक्ष कार्यालयमा समेत दरबन्दी अभाव छ । ७२ जनाको दरबन्दी रहेको आरक्षमा करारका केही कर्मचारीसमेत गरी ४७ जनाले मात्रै काम गरेका छन् । ‘आफ्नै ब्लकमा कर्मचारी पुगेका छैनन्, कसरी सुरक्षा गर्ने ?’ कँडेलले भने, ‘ठूलो भूगोलको सुरक्षा गर्न जनशक्ति पनि उत्तिकै चाहिन्छ ।’

ढोरपाटनमा बर्सेनि १९ देखि २४ वटा नाउर र १४ देखि १९ वटा झारल सिकार गर्न अनुमति दिइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा निर्धारण गरेर टेन्डर खुलाउने गर्छ ।

तस्बिर क्याप्सन : बागलुङको सुदूरपश्चिममा रहेको ढोरपाटन सिकार आरक्ष । यहाँ गरिएको गणनामा ठूलो संख्यामा नाउर घटेका छन् । तस्बिर : प्रकाश बराल/कान्तिपुर

प्रकाशित : असार १४, २०७९ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?