डाइभर्सन बनाएर महेन्द्रराजमार्ग खुलाइयो


पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको अरुणखोला दुम्कीबास सडक बगाउँदा मंगलबार बिहान ५ बजेबाट अवरुद्ध रहेको महेन्द्रराजमार्गमा यातायात सवा १० बजेबाट यातायात सञ्चालनमा आएको छ ।
प्रहरी चौकी अरुणखोलाका अनुसार बाढीले बगाएको खहरे खोलाको अस्थायी सडक (डाइभर्सन) निर्माण गरेर यातायात खुलाइएको हो ।
राजमार्ग सञ्चालनमा आएपनि बाढी आउनासाथ बगाउने र फेरि राजमार्ग अवरुद्ध हुने जोखिम छ । महेन्द्रराजमार्ग फराकिलो बनाउने क्रममा बनाइएका अस्थायी सडकमा पानीले निकास नपाउँदा बाटो बगाउने गरेको छ । असार सुरु भएपछि दुम्कीबास अरुणखोला खण्डमा वर्षाद हुनासाथ दिनहुँ सडक बगाउने गरेको छ ।
वर्षामा आएको बाढीले दिनहुँजसो त्यस्ता डाइभर्सन बगाउने जोखिम छ । महेन्द्रराजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डको १ सय १४ किलोमिटर क्षेत्रमा करिब २ सय डाइभर्सन रहेको छ । सडक फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम थालेको ३ वर्षको अवधिमा १७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । आउँदो साउन २२ गते सडक निर्माणको काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि उसले १७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । कछुवा गतिमा काम गरेका कारण राजमार्गमा खाल्डैखाल्डा छन् ।
