१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

साझेदारीका योजनामा करोडौं ऋण, काम अलपत्र

साझेदारीमा काम गरेका पालिकाले प्रदेश र संघीय सरकारबाट बजेट नपाउँदा सास्ती
प्रकाश बराल

बागलुङ — ताराखोला गाउँपालिकाले गतवर्ष प्रशासकीय भवन बनायो । यहाँ सांस्कृतिक संग्रहालय, औद्योगिक ग्रामलगायत पूर्वाधार बने । प्रदेश र संघीय सरकारको साझेदारीमा बनेका ती संरचना ठडिएपनि प्रदेश र संघबाट बजेट नआउँदा भुक्तानीमा समस्या भएको छ ।

साझेदारीका योजनामा करोडौं ऋण, काम अलपत्र

भुक्तानी नपाएपछि ठेकेदारले ताकेता गरिरहेका छन् । गाउँपालिकासँग भुक्तानी दिने रकम छैन । ‘हामीले आफ्नो भागमा परेको भुक्तानी दिइसकेका छौं, भवन पनि हस्तान्तरण भयो, तर प्रदेश सरकारबाट आउनुपर्ने १ करोड रुपैयाँ बाँकी छ’ गाउँपालिका अध्यक्ष धनबहादुर बिकले भने, ‘प्रदेशको दायित्व हामीले बहन गर्दा बिकास बजेटमा असर परेको छ ।’ यहाँ निर्मित सास्कृतिक संग्रहालयमा पनि संघीय सरकारको पर्यटन मन्त्रालयले दिनुपर्ने ८० लाख रुपैयाँ दिएको छैन । उक्त रकम नआउँदा केही भुक्तानी र सजावट तथा रंगरोगनको काम बाँकी रहेको बिकले बताए ।

ताराखोलाकै निर्माणाधीन औद्योगिक ग्राममा पनि संघीय बजेट नआएपछि कामले गति लिन सकेको छैन । गतवर्ष नै जग्गा खनेर कम्पाउन्डसमेत लगाइएको छ । तर बजेट अभावले पूर्वाधार निर्माण रोकिएको हो । जग्गा सम्याउने क्रममा रिजालचोकदेखि अर्गल जाने सहिद मार्गमा पहिरो खसेको छ । ठाउँठाउँमा पानी जमेर हिलाम्मे छ । कतिपय स्थानमा पहिरो खस्ने जोखिमले सवारीसाधन गुड्न डराउँछन् । ‘केही काम भएको छ, तर जति हुनुपर्ने भएन,’ प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले भने, ‘काम गरेको भुक्तानी दिन सकिएन भने पालिकालाई ऋण लाग्ने भयो ।’ आगामी आर्थिक वर्षका लागि आएको बजेटमा कतिपय पुँजीगत रकम संघ र प्रदेशले नदिएकोले भुक्तानी दिनुपर्नेमा राख्नुपरेको उनले बताए ।

गलकोट नगरपालिकाको टेउवा मूर्तिकला कार्यशालामा पनि यो समस्या परेको छ । ४ करोड ८० लाख रुपैयाँको लागतमा व्यवस्थापन भइरहेको मूर्तिकला परियोजनाको संघीय पर्यटन मन्त्रालयबाट आउनुपर्ने ६० प्रतिशत रकममध्ये अहिलेसम्म ५३ लाख रुपैयाँ मात्रै आएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । ‘पटकपटक ताकेता गरेका छौं, कहिले चुनाव भन्छन्, कहिले के बाहना बनाउँछन्,’ गैरेले भने, ‘नगरपालिकाप्रति उनीहरूको इकाइजस्तो व्यवहार भएको छ ।’ साझेदारीको सम्झौतामा काम गरेको उनले बताए ।

टेउवामा विश्वका ११ देशका कलाकारले २१ दिन लगाएर अन्तर्राष्ट्रियस्तरको मूर्ति बनाएका छन् । पर्यटन प्रवर्द्धनका लागि यो स्थान पुग्ने पक्की सडक बनाउने, तारबार लगाउने र रिटेनिङ वाल बनाउने कार्यक्रम भइरहे पनि संघीय बजेट नआएको हो । नगरपालिकाले लगानी गर्नुपर्ने ४० प्रतिशत भने भइसकेको छ । नगरपालिकाले प्रशासकीय भवन बनाइरहेको छ । त्यसका लागि पनि प्रदेश सरकारको साझेदारी छ । तर बजेट नआउने अवस्था भयो भने आयोजना पूरा गर्न कठिन हुने प्रशासकीय अधिकृत तुलबहादुर बिकले बताए । ‘संघीय र प्रदेशको बजेट समयमा नआउने प्रवृत्तिले काम गर्न कठिन भयो,’ बिकले भने, ‘यो वर्षको बजेटमा ऋण तिर्ने काम गर्नुपर्दा विकास बजेटमा कटौती भएको छ ।’ बजेटको आकारसमेत घटेको उनले बताए ।

साझेदारीमा काम गरेका अन्य पालिकाले पनि बजेटको सास्ती खेपेका छन् । जिल्लामा ५० भन्दा बढी साझेदारीका योजनामा समस्या परेको सम्बन्धित पालिकाको भनाइ छ । ‘पटकपटक मन्त्रालयमा जाने, पहल गर्ने र दबाब दिने नगरेसम्म बजेट ल्याउनै मुस्किल थियो,’ ताराखोला गाउँपालिकाका पूर्वअध्यक्ष प्रकाश घर्तीले भने, ‘स्वायत्त पालिका भने पनि हाकिमी पारा देखाएर मन्त्रालयले माग्ने बनाएको छ ।’ तमानखोला गाउँपालिकामा पनि झोलुंगे पुलका लागि बजेट अभाव भएको अध्यक्ष जोकलाल बुढाले बताए । गतवर्ष काम गरेको बडिगाड गाउँपालिकाले पनि साझेदारीको बजेट नपाएर प्रशासनिक भवन पूरा गर्न सकेको छैन । अन्य पालिकामा पनि यस्तै समस्या छन् ।

पटकपटक धाएपछि मात्रै बजेट पाउने पुरानै ढर्रा भएको राजनीतिक विश्लेषक प्रताप पौडेलले बताए । ‘हामीले व्यवस्था बदल्यौं, पद्धति बदल्न सकेनौं,’ पौडेलले भने, ‘आवश्यकता हो भनेर सम्झौता गरेपछि राज्यले आवश्यकताको महसुस गर्नुपर्छ ।’ पटकपटक मन्त्री फेरिने, सचिव हेरफेर हुने र उनीहरूकै नीतिले साझेदारीका कार्यक्रम असफल भएको उनको टिप्पणी छ । साझेदारीका कार्यक्रम कुनै नीतिगत व्यवस्थाका छन् भने केही मन्त्रीको चाहनामा भएकोले भुक्तानीमा समस्या आएको बिकको तर्क छ । ‘स्रोतको सुनिश्चित नभई मन्त्री र सचिवले गर्ने सम्झौतामा भुक्तानी रोकिएका छन्,’ बिकले भने, ‘नीतिगत व्यवस्था भएका योजनामा भने ढिला भए पनि बजेट अवस्य आउँछ ।’ नीतिमा सम्बोधन नगरी सम्झौता गर्दा कतिपय काम अलपत्र परेको उनले बताए ।

प्रकाशित : असार १४, २०७९ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?