१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

निकास थुनिँदा हेम्जा जलमग्न

सुइँखेतको म्याग्दीचोक, सुन्दरपुरीचोकका दर्जनौं घर प्रभावित,पहिरोले २४ घरमा क्षति
दीपक परियार

पोखरा — काखमा ६ वर्षको बच्चा च्यापेर खाँटमा पल्टिरहेकी पोखरा–२५ हेम्जाकी लक्ष्मी विकले शुक्रबार राति आकाशको गड्याङगुडुङभन्दा भिन्न आवाज सुनिन् । रातिको साढे ९ बजेतिर घरबाहिर निस्किएर हेरिन् ।

निकास थुनिँदा हेम्जा जलमग्न

हेम्जा सुइँखेतस्थित सुन्दरपुरीमा रहेको उनको घरैमाथिबाट पहिरो खसिरहेको देखिन् । उनी आत्तिँदै छोरा र सासुलाई लिएर घरबाहिर निस्किइन् । काठपातसहित आएको पहिरो एकैछिनमा उनको घरभित्र पस्यो ।

घरमाथिको छहराबाट पहिरो खसिरहेको थियो । तलपट्टीको फाँट पानी थुनिएर डुबानमा परेको थियो । सुइँखेतमा एकातिर पहिरो खसिरहेको थियो, अर्कोतिर फाँटमा रहेका घर डुबानमा परे । उनी पहिरोभन्दा अलि पर अर्को घरमा ओत लागिन् । ‘घरबाट हातको मोबाइल बाहेक केही झिक्न पाइएन । त्यति राति कहाँ जाने, बाटै पाइएन,’ उनले भनिन्, ‘एकातिर पहिरो, अर्कोतिर पानी जमेर ताल बनेको छ ।’ श्रीमानले विदेशमा दुःख गरेर बनाएको पक्की घर पहिरोले पुरिँदा दुःख लागेको उनले सुनाइन् । उनको आडैमा भर्खरै बनाएर सकिएको नयाँ घरमै पहिरो पस्यो । स्थानीय बिना विक आफ्नो नयाँ घरमा सर्न पाइनन् । सर्ने तयारी गर्दागर्दै पहिरोले घर पुरेपछि अब के गर्ने भन्ने विलखबन्दमा छिन् ।

अविरल वर्षापछि सुइँखेतको फाँट शुक्रबार राति नै डुबानमा पर्‍यो । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार हेम्जा सुइँखेतको म्याग्दी टोल, सुन्दरपुरी, खहरेटारीमा ६०/७० घर डुवानमा परे । उक्त स्थानमा बसोबास गर्ने झण्डै ३ सयजनालाई प्रहरीले शुक्रबार राति नै उद्धार गरी सुरक्षित स्थानमा सारेको थियो । बर्खाको पानीले निकास नपाउँदा सुइँखेत डुबानमा परेको हो ।

सुइँखेतमा पहिला धानखेत थियो । ढापमा स्थानीयले खेतलाई प्लटिङ गरेर घडेरी बनाए । चौरासी नहरबाट सिंचाइ हुने क्षेत्र घट्यो । शुक्रबार उक्त नहर बढेर बस्तीतर्फ पस्यो । ठाउँठाउँमा नहर फुट्दासमेत बस्ती जलमग्न भयो । थुनिएको पानीले निकास पाएन । मध्यपहाडी लोकमार्ग अन्तर्गत हेम्जा खण्डको बाटो बनेपछि झन् निकास रोकिएको हो । स्थानीय प्रकाशचन्द्र सापकोटाका अनुसार उक्त बाटो फराकिलो बन्नुभन्दा पहिलो सुइँखेतमा ८ वटा कल्भर्टबाट वारीको पानी पारीपट्टी

घ्वाङखोलामा पुर्‍याइन्थ्यो । जसले गर्दा बर्खामा पानी जम्न पाउँदैनथ्यो । अहिले ‘भाइरल’ बाटो बनेपछि कल्भर्ट दुईवटा मात्रै राखिएका छन् । बाटोको दायाँबायाँ बनाइएका नाला खेतभन्दा अग्ला छन् । खेतको पानी नालामा जान नपाएको र राखिएका कल्भर्ट थोरै भएकोले पानी थुनिएर डुबानमा परेको सापकोटाले बताए । ‘पहिला पटकपटक कल्भर्ट थप्न ठेकेदार कम्पनी र वडा कार्यालयमा धायौं तर सुनुवाइ भएन,’ उनले भने, ‘बाटोमा कल्भर्ट नथप्ने हो भने हरेक बर्खामा सुइँखेत डुबानमा पर्छ ।’

डुबानबाट सुइँखेतको म्याग्दीचोक, सुन्दरपुरीचोकका झण्डै ५ सय घर प्रभावित हुने वडाध्यक्ष मोतीप्रसाद तिमिल्सिनाले बताए । उनका अनुसार स्थानीयलाई राति नै उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो । फाँटमा पानी थुनिने र पहिरो आउने भएपछि शुक्रबार राति नै स्थानीय घरबाहिर निस्किएर सुरक्षित स्थानमा सरेकोले मानवीय क्षति हुन नपाएको वडाध्यक्ष तिमिल्सिनाले बताए । ‘फेरि बाढीपहिरो आउने हुन् कि भनेर स्थानीय भयभित छन्,’ उनले भने ।

स्थानीयको उद्धारमा रातिदेखि नै प्रहरी परिचालन गरिएको थियो । पहिरोले सुन्दरपुरीका भूमिका विक, विनिताकुमारी विक, भीमा श्रीस थापा, लक्ष्मी विक, बसन्त बागदास, झिल्के नेपाली, ईश्वर सापकोटा, सोनिया परियारको घरमा आंशिक क्षति पुर्‍याएको छ । खहरेटारीका सुरेमबहादुर गुरुङको ९ वटा बाख्रा पहिरोले पुरेको छ । पहिरो र डुबानले सुन्दरपुरीका दुई कृषि फार्ममा समेत क्षति पुर्‍याएको छ ।

शुक्रबारको वर्षापछि आएको पहिरोले पोखरा–१६ अर्मलाका रामबहादुर मगरको घर बगाएको छ । अन्य १३ घरमा आंशिक क्षति पुर्‍याएको छ । अन्नपूर्ण गाउँपालिका–५ सितला गुफा नजिक पोखरा बाग्लुङ सडक खण्डमा माथिबाट पहिरो आएर बाटो अवरुद्ध भएकोमा प्रहरीले एकतर्फी बाटो खुलाएको छ ।

पोखरा–१७ अँधेरीकुनास्थित पोखरावेंसीबाट अँधेरी कुना जाने भित्री सडक खण्डमा अँधेरी खोलाले कटान गर्दा पूर्ण रूपमा क्षति पुगेको छ । बाटो पूर्ण रूपमा अवरुद्ध छ । शुक्रबार राति नै पोखरा–२३ हर्पनका नरबहादुर क्षेत्रीको भैंसी गोठमा चट्याङ पर्दा एउटा ब्याउँने भैंसीको मृत्यु भएको छ ।

यस्तै, पोखरामा शुक्रबार राति फुस्रे खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–२२ का ५० वर्षीय टेकनाथ बराल छन् । कास्की प्रहरीका अनुसार खोला तर्ने क्रममा शुक्रबार राति बेपत्ता भएका बराल शनिबार बिहान मृत भेटिएका हुन् ।

प्रकाशित : असार १२, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?