३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

दुर्गममा आवासीय छात्रवृत्ति कोटा थप्न माग

हरिराम उप्रेती

गोरखा — दुर्गमका विद्यालयमा हिमाली आवासीय छात्रवृत्ति कोटा थप्न चुमनुव्री गाउँपालिकाले माग गरेको छ । चुमनुव्रीमा हाल ४ सय २० विद्यार्थी उक्त छात्रवृत्ति कार्यक्रमअन्तर्गत विद्यालयमै बसेर पढ्दै छन् । पालिकाले थप २ सय कोटा थप्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष माग गरेको हो ।

दुर्गममा आवासीय छात्रवृत्ति कोटा थप्न माग

पढाइमा सहजताका लागि कोटा थप गर्न माग गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए । छरिएर रहेका बस्तीका बालबालिकालाई माध्यमिक तहसम्मको पढाइका लागि विद्यालय पुग्नै एक दिनसम्म लाग्छ । चुमनुव्रीका ७ वटा वडामा जम्मा २ वटा मात्र मावि छन् । छात्रवृत्तिमा पढिरहेका विद्यार्थीहरू वडा–२ को ल्हो मावि र वडा–३ को

बुद्ध माविमा आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । ‘अहिले विद्यार्थी संख्या बढ्दै गएको छ, त्यसैले आवासीय कोटा थप्न माग गरेका हौं,’ उनले भने ।

सडक सञ्जालले नजोडिएको र विकट भूगोल भएकाले उत्तरी भेगमा यो कार्यक्रम प्रभावकारी बनेको शिक्षकहरू बताउँछन् । छात्रवृत्ति पाएका विद्यार्थीले वार्षिक १० महिनाको रकम पाउने गरेको ल्हो माविका प्रधानाध्यापक सञ्जय ढकालले बताए । ‘एक विद्यार्थीले वर्षमा ४ हजार रुपैयाँ पाउँछन्,’ उनले भने । ल्हो माविमा चुमनुव्रीका ६ वटा वडाका विद्यार्थी पढ्छन् । आवासीय सुविधा थप भए विद्यालय टाढा भएकै कारण विद्यार्थीलाई कक्षा छाड्नु पर्ने अवस्था नआउने ढकाल बताउँछन् ।

पालिकाले बुद्ध माविमा मावि तहमा स्थायी शिक्षक दरबन्दी पनि माग गरेको छ । दरबन्दी नहुँदा अहिले राहत, गाउँपालिकाको अनुदान र निजी स्रोतका शिक्षकले पढाउँदै आएका छन् ।

प्रकाशित : असार १२, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?