कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नदीबाट यसरी गरिन्छ उद्धार [तस्बिरहरू]

लमजुङ — सिमसिमे पानी परिरहेको थियो । कुहिरो लागिरहेको बेला बेंसीसहर नगरपालिका २, गैरीमुनि भीरमा एक महिला घाँस काट्ने क्रममा मर्स्याङदी नदीमा खसिन् ।

नदीबाट यसरी गरिन्छ उद्धार [तस्बिरहरू]

उनी चिच्याएको आवाज सुन्नेबित्तिकै पारिपट्टीका स्थानीयले देखे । हेर्दाहेर्दै मर्स्याङदीको भेलमा खसेपछि एक युवक पारीबाट मर्स्याङदीमा हामफाले । उनीहरूले घटनाबारे प्रहरीलाई खबर गरे । डीएसपीले प्रमुख जिल्ला अधिकारीलाई घटनाबारे जानकारी गराए । त्यसपछि उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटियो ।


नेपाली सेनाको माउण्टेन र्‍यापलिङ रेस्क्यु टीमका सुरक्षाकर्मी बेंसीसहर नगरपालिका २ र ११ जोड्ने झोलुंगे पुलबाट डोरीको माध्ययमले झरेर मर्स्याङदीमा हाम फाले । उनीहरू भीरबाट खसेकी महिलालाई पछ्याउँछन् । बेंसीसहर नगरपालिका २, गाइखुरे झरना नजिकैबाट र्‍याफ्टिङ डुंगा लिएर बोट रेस्क्यु टीम ७० मेगावाटको मध्यमर्स्याङदी जलविद्युत आयोजनाको जलाशयमा डुंगा लिएर गए । टोलीले उद्धार गर्न गएका पुरुष डुबेको अवस्थाबाट उद्धार गर्‍यो । अचेत अवस्थाका दुवैलाई उद्धार गरेर ल्याए । स्वास्थ्यकर्मीले प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत अचेत अवस्थामा २ जनालाई अस्पताल पठायो ।


झट्ट सुन्दा सत्य झैं लाग्ने यो घटनालाई काल्पनिक घटना बनाएर शनिबार मर्स्याङदी नदीको बाढीमा उद्धारका लागि नमुना अभ्यास गरिएको हो । वर्खायामको समय घाँसदाउरा गर्न गएका नागरिक चिप्लिएर बाढीमा पसेमा उद्धार गर्ने अभ्यास गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले बताए ।


डीएसपी कृषबहादुर कार्कीले घटना हुनेवित्तिकै सुरक्षा निकायलाई जानकारी गराएमा घटनास्थलमा सुरक्षाकर्मी छिटो पुग्ने र मानिसको ज्यान जोगाउन सकिने बताए । सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले विपद्को समय सुरक्षा निकाय, स्थानीय तह र स्थानीयबीचको समन्वयले धनजनको क्षति कम गर्न सकिने बताए । र्‍याफ्टिङ गाइडसमेत रहेका दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पहिले आफू सचेत र पूर्ण तयारी भएर उद्धारकार्यमा खटिए सफलता हात लाग्ने बताए ।


कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल, नेपाली सेनाको चण्डीप्रसाद गण उदिपुरका गणपति कर्नेल मनोज कार्की, सशस्त्र प्रहरी बलका डीएसपी नवराज थापा, स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीलगायतले नमुना अभ्यासमा सघाए । उद्धार कार्यमा खटिएका उद्धारकर्मीलाई जिल्ला विपद् व्यवस्थापन समितिले नगदसहित सम्मान गर्‍यो ।





प्रकाशित : असार ११, २०७९ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?