गैंडाकोट नगरपालिकाले सुत्केरीलाई ५ हजार भत्ता दिने- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गैंडाकोट नगरपालिकाले सुत्केरीलाई ५ हजार भत्ता दिने

नारायण शर्मा

पूर्वी नवलपरासी — गैंडाकोट नगरपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई ५ हजार सुत्केरी भत्ता दिने भएको छ ।

शुक्रबार सम्पन्न नगरसभामा प्रस्तुत गरिएको बजेटमा नगरपालिकाभित्रका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुने सबैलाई एकमुष्ठ ५ हजार भत्ता दिइने घोषणा गरिएको हो ।

नगरपालिकाभित्रका बर्थिङ सेन्टर र स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्न यस्तो योजना ल्याइएको बताइएको छ । आगामी साउनबाट यो भत्ता लागू हुनेछ ।

यस्तै नगरपालिकाले आमा घर कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। विशेषगरी गैंडाकोट ३ र १८ का गर्भवतीको सुविधाको लागि सुत्केरी हुने मितिभन्दा एक हप्ता पहिलेदेखि नै आमालाई त्यस्तो घरमा बस्ने व्यवस्था गरिने, सुत्केरी भएपछि पनि बस्न दिइने र पोषिलो खाना उपलब्ध गराइने बजेटमा उल्लेख छ । ती दुवै वडा दुर्गम क्षेत्रमा पर्छन् ।

त्यहाँका सुत्केरीलाई राख्न आमा घर बनाइने कार्यक्रम बजेटमा समेटिएको छ । उपप्रमुख शान्ति कोइरालाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै गर्भवति तथा सुत्केरीको स्वास्थ्य सेवामा पहुँच बढाउन प्रत्येक स्वास्थ्य संस्थाबाट गर्भवती र उत्तरप्रसूति सेवा प्रदान गरिने उल्लेख छ ।

पूर्वी नवलपरासीका ८ वटा पालिकामध्ये हुप्सेकोट गाउँपालिकाले ५ वर्षअघि नै सुत्केरी भत्ताको शुरुआत गरेको हो । हुप्सेकोटमा गाउँपालिका प्रमुख लक्ष्मी पाण्डेको यो कार्यक्रम त्यतिबेलैदेखि देशभर नै लोकप्रिय मानिएको छ। त्यसैको सिको गर्दै यहाँका सबैजसो पालिकाले सुत्केरी भत्ता दिने निर्णय गरेका हुन् ।

प्रकाशित : असार ११, २०७९ १५:००
प्रतिक्रिया
पठाउनुहोस्

पोखरीमा डुबेर दुई किशोर सिकिस्त

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिका ६ पात्ले खोलास्थित एक पोखरीमा डुबेर शनिबार मध्याह्न दुई किशोर घाइते छन् ।

धनकुटा एग्रो टुरिजम एन्ड फनभ्यालीमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा ५ का १५ वर्षीय स्वर्णीम राई र धनकुटा २ घर भई धनकुटा ७ मा डेरा गरी बस्ने उदय राई घाइते भएको प्रहरीले जनाएको छ ।

दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुवै बालकको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

उदय राईको जन्मदिन मनाउन साथीहरूसँग उक्त स्थानमा गएर पौडी खेल्ने क्रममा पोखरीमा डुबेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । पौडी खेलेको केही बेरमै दुवै जना डुबेपछि आफूले स्थानीयलाई खबर गरेको प्रत्यक्षदर्शी सुदेश राईले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ११, २०७९ १४:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×