कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निकास नहुँदा डुब्यो पोखराको सुइँखेत

पहिरोले दुई घरमा क्षति
दीपक परियार

पोखरा — बर्खाको पानीले निकास नपाउँदा पोखरा–२५ को सुइँखेत क्षेत्र डुबानमा परेको छ । शुक्रबार रातिदेखि परेको अबिरल वर्षापछि झन्डै ५ सय घर डुबानमा परेका हुन् ।

निकास नहुँदा डुब्यो पोखराको सुइँखेत

पहिला धानखेत हुने स्थानमा प्लटिङ गरेर घडेरी बनेपछि बर्खाको पानीले निकास नपाएको हो । लगातारको वर्षाले सुइँखेतको चौरासी नहर बढेर बस्तीतर्फ सोझिएको थियो । वरपरका खोल्साबाट बगेर आएको पानी समेतले फाँट डुबाएको हो ।

डुुबानबाट सुइँखेतको म्याग्दीचोक, सुन्दरपुरीचोकका झण्डै ५ सय घर प्रभावित भएको वडाध्यक्ष मोतीप्रसाद तिमिल्सिनाले बताए । उनका अनुसार स्थानीयलाई राति नै उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो ।

लगातारको वर्षापछि सुन्दरपुरीचोकमा आएको पहिरोले दुई घरमा पूर्णरुपले क्षति पुर्‍याएको छ । स्थानीय लक्ष्मी विक र रिभना विकको घर पहिरोले पुरेको हो । अन्य १५ घरमा पहिरो पसेर आंशिक क्षति पुर्‍याएको छ ।

फाँटमा पानी थुनिने र पहिरो आउने भएपछि शुक्रबार राति नै स्थानीय घरबाहिर निस्किएर सुरक्षित स्थानमा सरेकोले मानवीय क्षति हुन नपाएको वडाध्यक्ष तिमिल्सिनाले बताए । ‘फेरि बाढीपहिरो आउने हुन् कि भनेर स्थानीय भयभित छन्,’ उनले भने ।

स्थानीयको उद्धारमा रातिदेखि नै प्रहरी परिचालन गरिएको थियो । स्थानीयको उद्धार गरी कसैलाई आफन्तकोमा पठाइएको थियो भने कसैलाई सामाजिक भवन, मन्दिरमा राखिएको थियो ।

पहिरो र डुबानले सुन्दरपुरीचोकको दुई कृषि फर्ममा समेत क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ज्ञान खड्काले भने क्षतिको एकिन विवरण आइनसकेको बताए ।

प्रकाशित : असार ११, २०७९ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?