दमौली अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

तनहुँ — दक्ष र अनुभवी जनशक्ति नहुँदा दमौली अस्पतालमा डेढ महिनादेखि भिडियो एक्सरे सेवा बन्द भएको छ । अस्पतालमा विशेष गरी ग्रामीण क्षेत्रका बासिन्दा उपचार गर्न आउँछन् । भिडियो एक्सरे हेरेर उपचार सेवा लिनुपर्ने बिरामीले भने उच्च शुल्क तिरेर निजी अस्पताल धाउनुपर्ने बाध्यता छ ।

दमौली अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

यसअघि पनि साताको २ दिनमात्रै भिडियो एक्सरे सेवा दिँदै आएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.दिवस ढकालले बताए । उनले भने, ‘ओपीडी हेर्ने डाक्टरले भिडियो एक्सरे सञ्चालनसम्बन्धी तालिम लिनुभएको थियो, उहाँले नै साताको दुई दिन हेर्दै आउनुभएको थियो । डेढ महिना अगाडि उहाँको सरुवा भएपछि सेवा बन्द भयो ।’

सातामा २५ जनासम्मले यो सेवा लिँदै आएकोमा अहिले भने बाहिर पठाउनु पर्ने अवस्था आएको उनले बताए । सरकारी अस्पतालबाट ५ सय रुपैयाँमा भिडियो एक्सरे सेवा लिन पाउनेमा निजी अस्पतालमा एक हजार रुपैयाँभन्दा बढी तिनुपर्ने व्यास नगरपालिका–१२ का किशोर थापाले बताए ।

‘हुनेखानेलाई त केही फरक नपर्ला तर सरकारी अस्पस्तालबाट सस्तोमा सेवा लिन पाइन्छ भन्दै ग्रामीण क्षेत्रका बासिन्दालाई मर्का पर्ने भयो,’ उनले भने । यस्तै अस्पतालमा कोभिड–१९ को समयमा जडान गरेका उपकरणको प्रयोग पनि बन्द भएको छ ।

प्रकाशित : असार ९, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?