बगाएको सडक बन्न नपाई फेरि पहिरो

पहिरोले क्षतिग्रस्त सडक बनाउन प्राविधिक प्रस्ताव खोल्न नपाउँदै डाइभर्सन पनि बगायो 
आश गुरुङ

लमजुङ — गत वर्षको भदौ ११ मा बेंसीसहर नगरपालिका–१ उदीपुरस्थित देउराली डाँडामा सडक पहिरोले बगायो । ३ दिनमा नयाँ ट्र्याक खोलेर यातायात सञ्चालनमा ल्याइयो । त्यसपछि पहिरोले बगाएको सडक निर्माण गर्न यहाँको भूगोल, माटो र पानीको अवस्थाबारे अध्ययन भयो ।

बगाएको सडक बन्न नपाई फेरि पहिरो

उक्त अध्ययनकै आधारमा करिब २ सय मिटर सडक बनाउन डुम्रे–बेंसीसहर–चामे सडक योजनाले भ्याटसहित ७ करोड रुपैयाँको इस्टिमेट रिपोर्ट तयार पार्‍यो । योजनाले ९ महिनापछि जेठ पहिलो साता बोलपत्र आह्वान पनि गर्‍यो तर निर्माणको प्राविधिक प्रस्ताव खोल्न नपाउँदै सडकको डाइभर्सन पुनः पहिरोले बगाएको छ ।

नागरिक तहबाट सडक निर्माणमा सरकारी पक्षले ढिलासुस्ती गरेको आरोप छ । कतिपयले सडक छिटो बनाउन सम्बन्धित निकायलाई आग्रह गरिरहेका छन् । ‘सडक छिटो बनाउनुपर्छ । झन्डै १ वर्षसम्म डाइभर्सनकै भर परियो । पहिरो जोगाउने कुनै काम भएन,’ उदीपुरका पुरुषोत्तम सिलवालले भने, ‘यही बाटो प्रशासक, सचिव, मन्त्री, मुख्यमन्त्री सबै हिँडे तर समयमै चासो कसैले दिएनन् ।’

गतवर्ष सडकको डाइभर्सन बनाइएकोमा शनिबार रातिको वर्षासँगै आएको पहिरोले पुरै बगाएको छ । गतवर्ष करिब सय मिटर सडक बगाएको थियो । अहिले पहिरोस्थल झन् फराकिलो बनेको छ । डिभिजन सडक कार्यालयका अनुसार अब करिब ३ सय मिटर सडक बनाउनु पर्ने भएको छ ।

‘अब पुनः अध्ययन गरेर ठेक्का लगाउनुपर्ने देखिएको छ,’ डुम्रे–बेंसीसहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तले भने । उनका अनुसार गतवर्ष पहिरो खसेको ठाउँमाथि बनाइएको सडक पक्की बनाउन प्राविधिक प्रस्ताव बुधबार (आज) खोलिँदै थियो । तर, निर्माणस्थल नै पहिरोले बगाएपछि थप अन्योल बढेको छ ।

पहिरोको जोखिम क्षेत्र भएकाले नयाँ प्रविधिबाट निर्माण गर्ने योजनाअनुसार टेन्डर आह्वान गरिएकोमा अब योजना कार्यान्यवनमा समस्या थपिएको उनले बताए । ‘बायो इन्जिनियरिङबाट सडक बनाउन लागेका थियौं । प्राविधिक प्रस्तावपछि आर्थिक प्रस्ताव हुन्छ । यसमा १ साता जति लाग्छ । सबै अध्ययन गर्दा १० दिनसम्म त लाग्छ,’ उनले भने, ‘असारभित्रै सम्झौता गरेर काम सुरु गर्ने भनेका हौं । पहिरो आइदियो ।’

विज्ञको अभावमा चाहेको बेला अध्ययन अवलोकन हुन नसक्दा योजना कार्यान्यवनमा ढिलाइ भएको उनको भनाइ छ । नयाँ प्रविधि प्रयोग गर्नुपर्ने भएकाले पनि यसको तयारीमा समय लागेको उनले बताए । ‘हामीले ढिलाइ गरेको होइन । प्रविधि र प्रक्रियाले समय लाग्छ । विधि, पद्धति र कामको नेचरले ढिलो बनाउँछ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले विकास निर्माणमा भइरहेको ढिलाइबारे सम्बन्धित निकायलाई झक्झक्याउने काम भएको दाबी गरे । ‘हामीले जिसस प्रमुखसँग बैठक राखेर सडक विभागमा ३/४ पटक सिफारिस गरेका हौं, छिटो गरिदिनुस् भनेर,’ उनले भने, ‘ठूलो पहिरो भएकाले कन्सल्ट्यान्टबाट विज्ञ झिकाएर अध्ययन अनुसन्धान गर्नु भनेकाले त्यो काम गर्नुपर्दा नै ढिलाइ भयो ।’ पहिले छनोट गरिएको कन्सल्ट्यान्टले काम नगरेर अर्को कन्सल्ट्यान्ट छनोट गर्दा मात्रै ६ महिना लागेको उनले बताए ।

डुम्रे–बेंसीसहर–चामे सडकको उदीपुर खण्ड अझै सञ्चालनमा छैन । अहिले लमजुङको अधिकांश र सिंगो मनाङ जिल्ला आउजाउ गर्ने यात्रु मर्कामा छन् । विकल्पको खोजी भइरहे पनि केही दिन अझै लाग्ने पन्तले बताए ।

प्रकाशित : असार ९, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?