२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

आयोजना नसकी भुक्तानी

म्याग्दी — बेनी नगरपालिकाको अभिलेखमा वडा–३ भकिम्लीको चिनाखेतका ७६ घरमा मिटर जडित खानेपानी पुगेको उल्लेख छ । ‘एक घर एक धारा कार्यक्रम’ अन्तर्गत कागजमा योजना सम्पन्न भएको जनाइए पनि घरहरूमा धारा भने जोडिएको छैन ।

पालिकाले गत आव ०७७/७८ मा विनियोजन गरेको ७० लाख बजेटबाट गत असार मसान्तभित्र खानेपानी योजना निर्माण सक्ने लक्ष्य लिएको थियो । जसअनुसार सुन्दर निर्माण सेवा पोखराले ५८ लाख रुपैयाँमा चिनाखेत खानेपानी योजनाको ठेक्का पाएको हो । तर, सम्झौताअनुसार पूरै संरचना निर्माण नगरी र घरघरमा धारा पनि नबनाई ठेकेदार फर्केपछि योजना अलपत्र परेको छ । पालिकाले अधुरो योजनालाई कार्यसम्पन्न भनी भुक्तानी गरेपछि स्थानीय आक्रोशित छन् ।

‘मुहानको पानी रिजर्भवेयर ट्यांकीमा खसेको छैन । इन्टेक बनेको पनि छैन । वितरण लाइनबाट घरघरमा पानी जोड्ने आरबिटी हिलोमा पुरिएका छन्,’ स्थानीय दीपक पुनले भने, ‘धारामा कहिले पानी आउँछ ? काम सम्पन्न नभई ठेकेदारलाई भुक्तानी किन दिइयो ? काम सम्पन्न भएको प्रतिवेदन कसरी बनाइयो ?’

सम्झौतामा ३ घेराबारसहित इन्टेक, २० घनमिटर क्षमताका २ फेरोसिमेन्ट ट्यांकी, डिस्ट्रिब्युसन च्याम्बर १४ वटा, कलेक्सन ट्यांकी १ वटा, ब्रेक च्याम्बर २ वटा, ३ किलोमिटर मुख्य पाइपलाइन, ९ किलोमिटर लामो वितरण लाइन बनाउने उल्लेख छ । यसैगरी, घरघरमा कनेक्सन फिटिङ (पाइप, मिटर, धारा) आदि बनाई माझखर्क ठूलाछहरा मुहानको पानी धारामा झार्ने योजना थियो । ठेकेदारले एउटा इन्टेक र दुवै ब्रेक च्याम्बर बनाएको छैन । सबै ७६ घरमा पानीको धारा निर्माण भएको छैन ।

ठेकेदार कम्पनीले निर्माण नभएको इन्टेक र ब्रेक च्याम्बरको रकम कटाएर पालिकाबाट कन्टेन्जेन्सी पनि कटाई ५१ लाख ५४ हजार ४० रुपैयाँ भुक्तानी लिएको छ । पालिकाले भने डिजाइन, लागत अनुमान र सम्झौताअनुसार कामको मूल्यांकनका आधारमा भुक्तानी दिएको दाबी गरेको छ । ‘व्यवसायीले ढिलासुस्ती र केही लापरबाही गरेका पक्कै हुन्, पूर्णरुपमा दोषी होइनन्,’ पालिकाका असिस्टेन्ट सबइन्जिनियर चन्द्रबहादुर थापाले भने, ‘सबै काम प्रक्रियागत र कानुनसम्मत भएका छन् ।’

प्रकाशित : असार ८, २०७९ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?