कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

रासस

गलकोट — राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिकामा ठाउँठाउँमा पहिरो खसेपछि कालीगण्डकी करिडोर तीन दिनदेखि ठप्प भएको छ ।

जैमिनी नगरपालिकाको विनामारे, अर्जेवा लगायतका ठाउँमा पहिरो गएर करिडोर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराबाट वडाहरुमा जान समस्या भएको छ भने बागलुङबाट बुटवल जाने यात्रीहरुलाई समेत समस्या परेको छ । अवरुद्ध सडक खुलाउन सडक विभागले कुनै चासो नदिएको स्थानीयवासीको भनाइ छ ।

पहिरो पन्छाउँदै सडक सञ्चालन गरे पनि पुनः पहिरो जाने गरेकाले समस्या भइरहेको स्थानीयवासीको भनाइ छ । बागलुङ बजारको मालढुङ्गा, बलेवा, जैमिनी नगरपालिका–१ कुश्मिसेरा, वडा नं ५ बिनामारे, वडा नं ६ अर्जेवा, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको तल्लो खण्डमा कालीगण्डकी करिडोर सडक पर्दछ ।

यस्तै जैमिनी नगरपालिका–७ जैदी र वडा नं ८ छिस्ती जोड्ने चौरीखोलामा समयमा पुल नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ । कालीगण्डकी करिडोरमा पर्ने सो खोलामा राखिएको बेलिब्रिज निकालिएको र अर्को पुल निर्माण सम्पन्न नहुँदा हिँडेर खोला तर्नसमेत कठिन भएको स्थानीय नवीन अधिकारीले जानकारी दिए । करिडोरअन्तर्गत सो खोलामा यातायातसमेत सञ्चालन हुन सकेको छैन । सवारी साधनका लागि डाइभर्सन बनाएको भए पनि बर्खाको बाढीले बगाउँदा करिडोर हुँदै बुटवल पुग्ने बाटो अहिले अवरुद्ध रहेको छ ।

प्रकाशित : असार ७, २०७९ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्

म्याद सकिँदा काम २० प्रतिशत

कान्तिपुर संवाददाता

तनहुँ — भानु नगरपालिकाको भानु मोटर मार्गअन्तर्गत चन्द्रावती–पोखरीछाप ठूलोढुंगा खण्डको कालोपत्र गर्ने सम्झौता म्याद असार मसान्तमा सकिँदै छ । १० किलोमिटर सडक कालोपत्र, नाला निर्माणलगायत काम गर्न गरिएको ठेक्काको हाल २० प्रतिशत मात्र काम सकिएको छ । 

२०४९ मा सडकको ट्र्याक खनेर यातायात सञ्चालन भएको ३ दशक बितिसक्दा पनि स्तरोन्नति भएको छैन । २०७८ माघ १५ भित्र उक्त सडक खण्डको निर्माणका लागि २०७६ कात्तिक ४ मा शंकरमाली कन्स्ट्रक्सन काठमाडौंले सम्झौता गरेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । झन्डै २३ करोड ३ लाख रुपैयाँमा सम्झौता गरेको कार्यालयका इन्जिनियर धनमाया मिश्रले बताइन् । ‘सडक निर्माण सम्पन्न गर्ने समय अवधिभर भौतिक प्रगति १२ प्रतिशत देखिएको थियो भने ३० प्रतिशत वित्तीय प्रगति देखियो’, उनले भनिन्, ‘निर्माण सक्नुपर्ने समयसम्म काम सम्पन्न नभएकाले आगामी असार ३० सम्म म्याद थप गरिएको छ । सडक कालोपत्रलगायत संरचना निर्माणका लागि ६ महिना म्याद थपिए पनि निर्माण पक्षले कुनै काम गरेको छैन । २० प्रतिशत मात्र काम भएको छ ।’ प्रदेश सरकारअन्तर्गत रहेको उक्त सडकका लागि यस आर्थिक वर्ष ३ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

सडक निर्माणको जिम्मा लिएको शंकरमाली कन्स्ट्रक्सनले भने आफूले कामको सम्झौता लिएलगत्तै लकडाउनका कारण आवश्यक मजदुरसमेत पाउन नसक्दा काम अगाडि बढाउन नसकेको बताउँदै आएको छ । शंकरमालीले गत पुसमा दोस्रो निर्माण व्यवसायी संगम खड्कालाई उक्त निर्माणको जिम्मा दिएको छ । इन्जिनियर मिश्रका अनुसार निर्माण पक्षले पहिलो चरणमा २ करोड ६८ लाख ६४ हजार रुपैयाँ निकासा लिएको छ । पछिल्लो काम ७ सय १३ मिटर नाला खनेको र बाटो फराकिलो बनाएको गरी करिब २३ लाख रुपैयाँ कार्यालयले भुक्तानी दिन बाँकी छ ।

प्रकाशित : असार ७, २०७९ ११:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×