स्थानीय तहलाई योजना संकलनको चटारो- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहलाई योजना संकलनको चटारो

हरिराम उप्रेती

गोरखा — स्थानीय तहलाई बजेट निर्माणको चटारो सुरु भएको छ । टोल भेलाले वडालाई योजना बुझाएका छन् । वडा कार्यालयले प्राथमिकता छुट्याएर ती योजना पालिकालाई बुझाउने अन्तिम तयारीमा छन् ।

धार्चे गाउँपालिका–७ ले शनिबारबाट टोल भेला सुरु गरेको छ । वडामा प्राप्त हुने बजेटबाट जनताको बढी सरोकार हुने क्षेत्रका योजना छनोटलाई प्राथमिकतामा राखिएको वडाध्यक्ष राकेश गुरुङले बताए । ‘टोल भेलाबाट आएका योजनाको प्राथमिकीकरण गर्छौं, वडाले सक्ने योजना वडाबाट काम हुन्छ, धेरै बजेट लाग्ने पालिकामा पठाउँछौं,’ उनले भने । दुर्गम ठाउँ भएकाले भौतिक, स्वास्थ्य, शिक्षालगायत क्षेत्रलाई टेकेर बजेट बनाउने उनले बताए ।

केही वडाले योजना छनोटलाई अन्तिम रूप दिएका छन् । केही वडा भने टोल भेला गरेर छलफलमा छन् । ९४ वडा रहेको जिल्लाका अधिकांश वडामा यतिखेर टोल भेला भइरहेका छन् । विकास निर्माणलाई जनस्तरमा पुर्‍याउन जनप्रतिनिधि टोलमै पुगेर स्थानीय आवश्यकताअनुरूपको योजना मागेका छन् । सहिद लखन थापा गाउँपालिका–७ को वडाले पनि जेठ २९ र ३० मा २८ वटा टोलबाट आएका योजनाहरू संकलन सकेको छ ।

वडाको भूगोलअनुसार पूर्वाधार विकासका लागि टोल भेलामा स्थानीयले जोड दिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । बाटो, सिँढी निर्माण, धारा र मूल मर्मत, मठमन्दिर निर्माण र मर्मत, कृषि सडक जस्ता विषयमा वडा भेलाबाट योजना माग भएको उनले बताए । ‘टोल भेलाबाट विशेषतः भौतिक पूर्वाधार निर्माणको माग बढी छ,’ उनले भने, ‘स्थानीयस्तरको आवश्यकता र भूगोलअनुसारको योजना टोल भेलाबाट आएको छ, असार ८ मा वडाले गर्ने नमुना योजना पनि छनोट गर्छौं ।’ टोल भेलामा पुग्ने जनप्रतिनिधिले राय सुझावसहित नमुना योजना पनि माग गर्ने गरेका छन् । सिरानचोक गाउँपालिकाले पनि शनिबारबाट टोल भेला सुरु गरेको अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए । ‘वडामा बजेटको सिलिङ तोकेका छौं, टोल भेलाबाट आएका योजना अभिलेखीकरण गर्दै प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण हुन्छ,’ उनले भने, ‘नीति तथा कार्यक्रम एकातिर, बजेट एकातिर हुँदा कार्यान्वयनमा समस्या हुन्छ, जे नीति बन्छ त्यसको आधारमा बजेट निर्माण गरे तारतम्मे मिल्छ, त्यसैअनुसार अघि बढ्छौं ।’ सहिद लखन गाउँपालिकाले असार ६ गते नीति तथा कार्यक्रमम ल्याउँदै छ । १० गतेको बजेट विनियोजनका लागि तयारी तीव्र पारिएको गाउँपालिका अध्यक्ष रमेश थापाले बताए । ‘नौ वटै वडाको टोल भेला सकेका छौं, टोल भेलाबाट पहिले जस्तै योजनाहरू माग भएका छन्,’ उनले भने, ‘हामी वडासँग बसेर नयाँ र रचनात्मक खालका योजना ल्याउँछौं, व्यवसायीलाई प्रमोट गर्ने खालका नयाँ योजना समेट्ने योजनामा छौं ।’

खुद्रे योजनाभन्दा प्रत्यक्ष जनसरोकार राख्ने विषयमा बजेट छुट्याउन पनि स्थानीयस्तरबाट माग हुँदै आएको छ । टुक्रे योजनाले दिगो विकास नहुने नागरिक अगुवा यदु अधिकारी बताउँछन् । ‘विगतदेखिकै ट्रेन्ड हेर्दा वडा र पालिका तहमा टुक्रे योजना बढी छन्, वडा र पालिका तहमा बजेट पनि कम भएर होला,’ उनले भने, ‘यस्ता टुक्रे योजनाले क्षणिक रूपमा फाइदा भए पनि दिगो विकास निर्माणमा ठूलो फड्को मार्ने खालका छैनन् ।’

प्रकाशित : असार ७, २०७९ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

जनकपुरमा मनाइयो योग दिवस

योग शिविरमा मुख्यमन्त्रीदेखि सर्वसाधारणसम्म
श्यामसुन्दर शशि

जनकपुर — ‘मानवताको लागि योग’ मूल नाराका साथ वैश्विक रुपमा मनाइँदै गरेको योग दिवस मंगलबार जनकपुरको जानकी मन्दिर प्रांगणमा धुमधामका साथ मनाइएको छ ।

योग शिविरमा मधेसका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री लालबाबु राउत, नवलकिशोर साह, शत्रुधन महतोलगायतका मन्त्रीहरु, राज्यमन्त्रीहरु एवं वीरगन्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमारसँगै झन्डै हजार जनाको संख्यामा सर्वसाधारण योग शिविरमा सहभागी भएका थिए ।

जनकपुरधाम उपमहानगर पालिका र जानकी मन्दिरको सहयोगमा वीरगंज महावाणिज्य दूतावासले आयोजना गरेको योग दिवसमा उल्लेख्य संख्यामा सर्वसाधारण पनि उपस्थित भएका थिए ।

सन् २०१५ देखि २१ जुन महिनाको दिन वैश्विक रुपमा योग दिवस मनाइँदै आइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ को सेप्टेम्बर २७ को दिन राष्ट्र संघको जेनरल एसेम्बेलीलाई सम्बोधन गर्दै विश्व योग दिवसबारे पहिलो पटक बोलेका थिए । पछि राष्ट्र संघले २१ जूनलाई विश्व योग दिवसको रुपमा घोषणा गरेको थियो ।

योग दिवसको अवसरमा मंगलवार जनकपुरसँगै धनुषाका अन्य ग्रामीण क्षेत्रहरुमा पनि योग दिवसको अवसरमा योग शिविर, जडिबुटी वितरणलगायतका कार्यक्रमको आयोजना गरिएको थियो । यस क्रममा हंसपुर नगर पालिका ३ को बेलही चोकमा आयोजित योग शिविरमा नगर प्रमुख प्रदीपकुमार यादवले जडिबुटीका बिरुवा वितरण गरेका थिए ।


प्रकाशित : असार ७, २०७९ ११:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×