मुग्लिङ-आँबुखैरेनी सडक खण्ड सञ्चालनमा - गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुग्लिङ-आँबुखैरेनी सडक खण्ड सञ्चालनमा 

सम्झना रसाइली

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्ड खुला गरिएको छ । करिब ३ मिटर पहरो काटेर एकतर्फी बाटो सञ्चालनमा ल्याइएको तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिएका छन् । उनका अनुसार उक्त खण्डमा साना र ठूला सबै प्रकारका सवारी साधन जतिखेर पनि चल्न सक्नेछन् ।

गत शुक्रबार आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित मर्स्याङ्दी विद्युत्‌गृह नजिकै सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । पहरो काटेर सडक बनाउन सोही दिन साँझ ७ देखि बिहान ५ बजेसम्मका लागि यातायात चलाउन रोक लगाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले साना सवारी साधन र दुई पांग्रे सवारी साधनहरुलाई बिहान ५ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको थियो भने ठूला तथा मालवहाक सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको थियो ।

राजमार्गअन्तर्गत मुग्लिङ–आँबुखैरेनी खण्ड खुल्ला भए पनि याँम्फाफाँटदेखि घाँसीकुवा खण्डमा भने राति ११ देखि बिहान ४ बजेसम्म यातायात बन्द रहने छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेनको बनाउन भन्दै यसअघि नै रातिको समयमा यातायात चलाउन रोकेको थियो ।

प्रकाशित : जेष्ठ २९, २०७९ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङमा ७ जुवाडे पक्राउ

आश गुरुङ

लमजुङ — लमजुङ प्रहरीले बेंसीसहर नगरपालिका ७, पुरानो बैंक चोकबाट तास खेल्दै गरेका ७ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद ४४ हजार ७ सय ७० रुपैयाँ समेत बरामद भएको छ ।

प्रहरीले शनिबार दिउँसो २ बजेतिर पक्राउ गरे पनि घटनाबारे आइतबार साँझपखमात्रै जानकारी गराएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार बेंसीसहरको पुरानो बैंक चोकमा रहेको बुद्धिकुमार श्रेष्ठको घरमा हार-जितको बाजी राखेर जुवा (तास) खेल्दै गरेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले तास खेल्दै गरेको अवस्थामा ७ जना भेटिएका हुन् ।

नगद र ताससहित पक्राउ परेका उनीहरुलाई आइतबार सार्वजनिक बिदा परेका कारण सोमबार जिल्ला प्रशासन कार्यालय, लमजुङमा म्याद थपका लागि उपस्थित गराउने तयारी रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बेंसीसहर नगरपालिकाका ३ जना, मर्स्याङ्दी गाउँपालिकाका २ जना, दोर्दी गाउँपालिकाका १ जना र नवलपरासी जिल्लाका १ जना रहेका प्रहरीले जनाएको छ ।

इन्स्पेक्टर रेग्मीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा लमजुङ प्रहरीले जुवामा खेल्ले खेलाउने कार्यमा संलग्न ८० जना पुरुष र १ जना महिला गरी ८१ जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको जनाएको छ । उनीहरुको साथबाट ८ लाख ६५ हजार २ सय रुपैयाँ बरामद गरेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २९, २०७९ १९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×