लमजुङमा आइतबार पनि पढाइ

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिका–३ बाहुनबेंसीस्थित यशोब्रह्म माविमा आइतबार पनि पठनपाठन भयो । सरकारले आइतबार सार्वजनिक बिदा दिए पनि पठनपाठन भएको विद्यालयका शिक्षक सिर्जना बरालले बताइन् । उनका अनुसार शैक्षिकसत्र सुरु भएको र विद्यार्थीलाई आकर्षित गराउन आइतबार पनि विद्यालय सञ्चालन गरिएको बताइन् ।

लमजुङमा आइतबार पनि पढाइ

‘नजिकैका बोर्डिङ खुलेका छन् । त्यसै त सरकारीमा पढाइ हुँदैन भन्छन् । शिक्षकहरूले सल्लाह गरेर आइतबार पनि विद्यालय चलाएका हौं,’ उनले भनिन् ।

सुन्दरबजार–२, परेवाडाँडास्थित महेन्द्रमन्दिर माविका प्रधानाध्यापक बृद्धिबहादुर खड्काले आइतबार विद्यालय सञ्चालन भएको बताए । ‘अभिभावकले पनि खुलाउनुपर्छ भन्न थाल्नुभो । वडाबाट पनि स्कुल खुलाउन आदेश जारी भयो,’ उनले भने । बेंसीसहर र सुन्दरबजार नगरपालिकाले भने विद्यालय खोल्ने निर्णय गरिसकेका छैनन् । सुन्दरबजार–२ वडा समितिले निर्णय गरेर वडाभित्रको विद्यालय आइतबार पनि सञ्चालन गर्न आदेश दिएको वडाअध्यक्ष नवीनकुमार श्रेष्ठले बताए ।

दोर्दी–५ छैलुङस्थित गणेशदेवी आधरभूत विद्यालयका प्रधानाध्यापक सरस्वती गुरुङले विद्यालयमा आइतबारका दिन पठनपाठन भएको बताइन् । पालिकाको शिक्षा शाखाबाट आइतबारका दिन पठनपाठन गर्न निर्देशन आएपछि पठनपाठन गरिएको उनले बताइन् । दोर्दी गाउँपालिकाले आइतबार पनि पठनपाठन थाल्ने निर्णय गरेको शिक्षा अधिकृत भीमप्रसाद लामिछानेले बताए । उनका अनुसार बर्खे बिदा कट्टा गर्ने गरी आइतबार सञ्चालन गरिएको बताए ।

राइनासका शिक्षा शाखा प्रमुख पूर्णबहादुर अछामीले नगरप्रमुखस्तरीय निर्णयबाट आइतबार पनि विद्यालय सञ्चालन गरिएको बताए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) लमजुङका अध्यक्ष मेनबहादुर घलेले प्याब्सन आबद्ध विद्यालयमा आइतबार पनि पठनपाठन भइरहेको बताए ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख वीरबहादुर गुरुङले दोर्दी गाउँपालिका र राइनास नगरपालिकामा आइतबार सार्वजनिक बिदाको दिन पनि विद्यालयमा पठनपाठन भएको सुन्नमा आएको बताए । तर, औपचारिक जानकारी भने नआएको उनले बताए । ‘दोर्दी र राइनासमा विद्यालय सञ्चालन भएको सुन्नमा आएको छ । अरू धेरै जानकारी आएको छैन,’ उनले भने । उनका अनुसार लमजुङमा ३ सय ३६ सामुदायिक विद्यालय छन् । ३३ वटा संस्थागत विद्यालय रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ २३, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?