१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

'माछापुच्छ्रे चढ्न हुँदैन भन्नु पुरातनपन्थी चिन्तन'

दीपक परियार

पोखरा — गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले माछापुच्छ्रे हिमाल आरोहण खुला गर्नुपर्ने बताएका छन् । उनले माछापुच्छ्रे चढ्न हुँदैन भन्नु पुरातनपन्थी चिन्तन मात्रै भएको बताए ।

'माछापुच्छ्रे चढ्न हुँदैन भन्नु पुरातनपन्थी चिन्तन'

अन्नपूर्ण आरोहण दिवस (जुन ३) को अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले माछापुच्छ्रेलाई ‘भर्जिन’ राख्नुपर्छ भन्ने तर्कसँग आफू सहमत नभएको उल्लेख गरे ।

‘भर्जिन राखेर के फाइदा छ ?,’ नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित घाचोकमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘महत्त्वपूर्ण मानिसको जीवन हो । यसलाई जनजीविकासँग जोड्न प्रयत्न गर्नुपर्छ ।’माछापुच्छ्रे आरोहण खुला गर्न सके रोजगारी सिर्जना हुने र पर्यटन व्यवसायलाई पनि फाइदा पुग्ने उनको तर्क छ । आरोहण खुला गर्ने कुरामा सरकारलाई दबाब दिनुपर्ने र त्यसका लागि आफू समेत तयार रहेको उनले बताए ।

हिमालको फेदमा घना बस्ती बसालेका गुरुङ समुदायको पितृ देवता भएकोले माछापुच्छ्रे चढ्न नहुने किंवदन्ती छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका पोखरा कार्यालय प्रमुख काशीराज भण्डारीले माछापुच्छ्रे आरोहणमा रोक लगाउनुको कुनै औचित्य नभएको बताए । ‘अन्नपूर्ण र माछापुच्छ्रेको आधार शिविर भएको ठाउँलाई गुरुङ समुदायको पवित्रस्थल मानिन्छ, त्यहाँ पर्यटक पुगिसके,’ उनले भने, ‘नेपालका सबै हिमाललाई देवताका रुपमा पूजिन्छ । त्यसो भन्नुको अर्थ चढ्नै हुँदैन भन्ने होइन ।’

६ हजार ९ सय ९३ मिटर उचाइको माछापुच्छ्रेलाई ‘कुमारी हिमाल’ को रुपमा चिनिन्छ । सरकारले विसं २०२० फागुन ५ देखि यसको आरोहणमा रोक लगाएको छ । विश्वभर सुन्दर हिमालका रुपमा सूचीकृत १३ मध्ये एक माछापुच्छ्रे पनि हो । तीमध्ये उचाइको हिसाबले सबैभन्दा अग्लो हिमाल यही हो । सुन्दर हिमालको सूचीमा परेको नेपालको अर्को हिमाल आमादब्लम हो । आमादब्लममा आरोहण खुला छ । फ्रान्सेली आरोही मौरिस हर्जोगले पहिलोपल्ट सन् १९५० को जुन ३ मा आठ हजार मिटर माथिको अन्नपूर्ण प्रथम हिमाल चढेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाइन्छ ।

तीन शिर पदमार्ग अन्वेषण

पर्वतारोहण संघले शुक्रबारबाटै माछापुच्छ्रे हिमाल नजिक रहेको धार्मिकस्थल तीन शिर पुग्ने पदमार्ग अन्वेषण तथा हिमनदी पार तालिम सुरु गरेको छ । सेतीगण्डकी, मोदी र मादी नदीको उद्गमस्थललाई तीन शिरका रुपमा पूजिन्छ । उक्त स्थानमा पुग्न घाचोकबाट २० जनाको टोलीले पदयात्रा सुरु गरेका छन् । पर्यटक गाइड, जियोमेटिक इन्जिनियर, स्थानीय जनप्रतिनिधिसहितको टोलीले बाटो पहिल्याउँदै तीन शिर पुग्ने संघका प्रदेश अध्यक्ष शेषकान्त शर्माले बताए । ‘पदयात्रा मार्ग मासिँदै गएको अवस्थामा विकल्प दिन यो पदमार्गको अन्वेषण गर्न लागिएको हो,’ उनले भने, ‘धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ ।’ उनका अनुसार पदमार्ग अन्वेषण सात दिनको हुने छ । टोलीले पदमार्गको नक्सांकन गर्ने छ । ४ हजार ५ सयदेखि ५ हजार मिटरसम्मका पास, बगर, भीर हुँदै टोलीले पदमार्ग पहिल्याउने छ । पर्वतारोहण संघ गण्डकीले पहिलोपल्ट तीन शिरको पदमार्ग अन्वेषण सुरु गरेको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नेपाल आउने पदयात्री पर्यटकलाई अन्त मोड्न नदिन पदमार्गलाई बचाइराख्नुपर्ने बताए । नयाँ रुट पत्ता लगाएको अवस्थामा त्यही रुटमा डोजर लगाउने काम नगरिदिन उनले जनप्रतिनिधिलाई आग्रह गरे ।

प्रकाशित : जेष्ठ २०, २०७९ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?