कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हिमपातले यार्चा संकलन प्रभावित

आश गुरुङ

चामे, मनाङ — हुलाकी ओडारदेखि छंगाछुर भीरको बाटो छिचोल्दै विकट नारको लेकमा यार्चागुम्बु टिप्दै गरेका एक्का तामाङ एक्कासि सदरमुकाम चामे झरे । दालचामल सकियो । पकाउने भाँडो पोहोरकै छ । लेकमा हिमपात भयो । केही दिनयता यार्चा टिप्न सकिरहेका छैनन् । यार्चा टिप्ने लेक हिउँले पुरियो । धादिङको रि–गाउँबाट गएका १२ जनामध्ये ६ जनालाई ओडारमा राखेर एक्का तामाङ ६ जनालाई लिएर दालचामल बोक्न चामे झरेका हुन् ।

हिमपातले यार्चा संकलन प्रभावित

‘लेकमा बसेको डेढ महिना हुन लाग्यो । भीरको बाटो डोरीले कम्मरमा बाँधेर जानुपर्छ । अहिले हिउँ परेको छ । रासन सकिएर झरेको हो,’ उनले भने, ‘फेरि डोरीमा झुन्डिएर जानुपर्छ ।’ बाध्य भएर ज्यानलाई जोखिममा राखेर, मृत्युको मुखमा पुर्‍याएर यार्चा टिप्न जाने गरेको उनले बताए । डेढ महिनामा उनले २ सय २० गोटा यार्चा टिपेका छन् । एउटाको ४ सय रुपैयाँमा ठेकेदारले किन्छ । १२ जनाको पुर्जी काट्दा ठेकेदारले ४ लाख रुपैयाँ पुर्जी काट्ने ठाउँमा बुझाए । ‘ठेकेदारले पैसा तिरिदिएको छ । लेकमा जानेआउने र घरगाउँबाट जानेआउने बाटो यही हो,’ उनले भने, ‘अहिले यार्चा टिप्न प्रशासनले खुला गरेको छ ।

धादिङकै रि–गाउँका यशु तामाङका अनुसार १९ जना भ्राताङ लेकमा यार्चा टिप्न व्यस्त छन् । यार्चा रहने ठाउँमा अहिले हिमपात भएको छ । ‘यार्चा टिप्ने ठाउँमा हिउँ पर्‍यो, बस्दाबस्दै रासन सकियो । रासन लिन झरेका हौं,’ उनले भने, ‘हिउँले पुरिएको ठाउँमा कसरी किरा टिप्ने, कसरी जाने ? गाह्रो छ ।’ उनका अनुसार १९ जनाको पुर्जीदेखि खानपान, बासस्थानलगायत गरी ठेकेदारले ४२ लाख रुपैयाँ खर्च गरेका छन् । पाँच सयवटा यार्चा टिपेका यशुले भने, ‘भरे १५/२० हजार पाउँछ कि पाउँदैन, सबै ठेकेदारले लान्छ ।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङभरि करिब १ हजार ५ सयदेखि २ हजार जनाको हाराहारी संकलक लेकमा पुगेका छन् । ४ हजार ५ सय मिटरमाथि हिमपात हुन सक्छ । त्यही ठाउँमा यार्चा पाइन्छ । ‘मौसम बिग्रिरहेको छ । फिल्डमा साथीहरूलाई खटाएका छौं,’ उनले भने । लेकमा हिमपात भएकाले यार्चा संकलक प्रभावित भएको हुन सक्ने उनले बताए । यार्चा संकलनका लागि बाहिरी जिल्लाका मात्रै नभएर मनाङी पनि लेकमा पुगेका छन् । संकलकलाई एक्याप मातहतको संरक्षण क्षेत्र व्यवस्थापन समितिले पुर्जी जारी गर्ने गरेको छ ।

हिमाली जिल्ला मनाङमा बहुमूल्य जडीबुटी यार्चा संकलनमा १२ वर्षपछि जिल्ला बाहिरका बासिन्दालाई अनुमति दिइएको छ । नारको लेकमा ०६६ जेठमा ७ जना गोरखालीको हत्या भएपछि यार्चा संकलनमा बाहिरी जिल्लाका बासिन्दालाई मनाङ प्रशासनले प्रवेशमा प्रतिबन्ध लगाउँदै आएको थियो । पछिल्लो समय बाहिरी जिल्लाका बासिन्दा तर मनाङमा बसोबास गर्दै आएकालाई फुकुवा गरिएको थियो । गत वर्ष स्थानीय र जिल्लावासीले मात्रै यार्चा टिपेका थिए भने त्यसअघिको वर्ष कोरोना संक्रमण जोखिमका कारण यार्चा संकलन बन्द गरिएको थियो । संकलन गर्न आउनेका लागि स्थानीयबासीलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ तोकेको छ । जिल्लावासीलाई १५ हजार रुपैयाँसम्म र जिल्ला बाहिरका व्यक्तिलाई २० हजार रुपैयाँ तोकेको छ । कतिपय लेकमा प्रतिव्यक्ति ३५ हजारसम्म लिने गरेको यार्चा संकलक बताउँछन् । संकलन गरिसकेपछि व्यवसायीले प्रतिकिलो ३० हजार रुपैयाँ राजस्व बुझाउनुपर्छ ।

मनाङको लेकमा संकलित यार्चा अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो १५ लाखदेखि २० लाख रुपैयाँसम्म पर्ने अनुमान छ । एक्यापका अनुसार गत वर्ष ८१ किलो यार्चा संकलन भएकामा २४ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको तुलनामा यस पटक बढी संकलन हुने अपेक्षा छ ।

एक्यापका अनुसार मनाङका २५ भन्दा बढी लेकमा यार्चा पाइन्छ । उक्त क्षेत्रमा रहेका सीएमसीले छोडपुर्जीबापत १ किलो बराबर १० हजार रुपैयाँ लिने गरिएको छ । स्थानीय तहले निकासी करबापत १ किलोको १० हजार रुपैयाँ लिने गरेका छन् । हिमपातको तालमेल नमिल्दा मनाङमा यार्चा घट्दै गएको संकलकले बताउने गरेका छन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सुरक्षाको दृष्टिकोणबाट यार्चा संकलकलाई अप्ठ्यारो नपरेको बताए । ‘यार्चागुम्बु संकलन क्षेत्र सुरक्षाकर्मीको निगरानीमा हुन्छ । हामीले सुरक्षा व्यवस्था मजबुत बनाएका छौं,’ उनले भने ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?