कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

गण्डकीमा कांग्रेस नै ठूलो पार्टी

एमाले र माओवादीको साख जोगियो
लालप्रसाद शर्मा

पोखरा — अघिल्लो निर्वाचनको तुलनामा क्षति बेहोरे पनि गण्डकीमा कांग्रेस नै ठूलो पार्टी बन्न सफल भएको छ । २०७४ को निर्वाचनमा ४४ पालिका जितेर ठूलो बनेको कांग्रेस यसपटक भने ३६ मा झरेर पनि ठूलो बन्न सकेको हो । 

गण्डकीमा कांग्रेस नै ठूलो पार्टी

गण्डकीका ८५ स्थानीय तहमध्ये सोमबार बिहानसम्म ८४ पालिकाको नतिजा सार्वजनिक भएको छ । प्रदेशको एकमात्र महानगर पोखरामा भने मतगणना जारी छ । सार्वजनिक नतिजाअनुसार कांग्रेसले २१ अध्यक्ष र १५ मेयरमा जित हासिल गरेको छ । यसैगरी २० उपाध्यक्ष र १२ उपमेयर जितेको छ । यसैगरी एमालेले ३५ पालिका जित्दै दोस्रो पोजिसनमा आएको छ । यसअघिको निर्वाचनमा एमालेले ३४ पालिका जितेको थियो । अहिले २७ अध्यक्ष र ८ मेयर, २५ उपाध्यक्ष र ८ उपमेयर जितेको छ । यसअघि जम्मा ५ पालिका जितेको माओवादी केन्द्रले अहिले बढाएर ११ पुर्‍याएको छ । उसले ९ अध्यक्ष र २ मेयर, १२ उपाध्यक्ष र ७ उपमेयरमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले एक प्रमुख, एक अध्यक्ष र एक उपाध्यक्ष जित्न सफल भएको छ । प्रदेशमा एक महानगर, २६ नगरपालिका र ५८ गाउँपालिका छन् ।

अधिकांश पालिकामा गठबन्धन नभई आफ्नै हिसाबले चुनावमा जाँदा समस्या भएको कांग्रेस कार्यकर्ता बताउँछन् । ‘कार्यकर्तामा व्यापक असन्तुष्टि देखियो । मतदाताले पनि विकल्प खोजेजस्तो भयो’, पोखराका एक कार्यकर्ताले भने । केही स्थानमा बागी उम्मेदवार कायम रहनु र असन्तुष्ट कार्यकर्तालाई सम्झाउन नसक्दा पनि समस्या भएको कांग्रेसीजन बताउँछन् । कांग्रेस प्रदेश सभापति शुक्रराज शर्मा समयमै गठबन्धनको निर्णय हुन नसक्नु, गठबन्धनको विरोध गर्न नसकिएको र पूर्ण कार्यान्वयन पनि गर्न नसक्दा रिजल्ट अनुकुल नआएको बताउँछन् । अन्तिम समयमा उम्मेदवार फेरिनु, कतै उम्मेदवार चयनमै समस्या र अन्तर्घातका कारण पनि नतिजामा कमी आएको उनको भनाइ छ । ‘समयमै गठबन्धन नहुँदा कमजोरी जस्तो देखियो,’ उनले भने, ‘गोरखा, पूर्वी नवलपरासी, लमजुङ, स्याङजा जस्ता जिल्लामा उम्मेदवार चयनका कारण पनि नतिजामा कमी आयो ।’ जिल्ला र प्रदेशले गरेको उम्मेदवार चयनलाई पार्टी केन्द्रले हस्तक्षेप गर्दा समस्या भएको उनले बताए ।

स्याङजामा एमाले र कांग्रेसले २०७४ र अहिले बराबर ६ र ५ पालिका जितेको छ । तर, पहिला एमालेले जितेका पुतलीबजार र गल्याङ नगरपालिकामा यसपटक कांग्रेसले जितेको छ भने यसअघि कांग्रेसले जितेको वालिङ नगरपालिका एमालेले हात पारेको छ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा कांग्रेसले ५ र एमालेले ४ पालिका जितेका छन् । पूर्वी नवलपरासीका ८ मध्ये पहिला ६ पालिका जितेको कांग्रेस अहिले २ वटामा खुम्चिएको छ । कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला, प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको जिल्ला भए पनि कांग्रेस कमजोर देखिएको हो ।

एमालेले जोगायो साख

स्थानीय तह निर्वाचनको नतिजामा अन्य प्रदेशहरूमा कमजोर देखिएको एमाले गण्डकीमा भने अघिल्लो निर्वाचनको भन्दा एक पालिका बढी जितेर साख जोगाउन सफल भएको छ । २०७४ मा बागलुङ, लमजुङलगायत जिल्लामा बाम गठबन्धन थियो । यसपटक भने एमाले एक्लै चुनावमा होमिएको थियो । अधिकांश पालिकामा सत्ता गठबन्धन नभएर पनि एमालेलाई जित सहज भएको हो । ‘गठबन्धन भन्नसाथ एमाले कमजोर रहेछ भन्ने सन्देश गएको थियो,’ एमाले केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल भन्छिन्, ‘तर अहिलेको नतिजाले हामी कमजोर नभएको सावित गरेका छौ ।’ बलियो पार्टी संगठन, पार्टी विभाजनको कम असरले पनि अहिलेको नतिजा आएको उनले बताइन् । सत्ता गठबन्धनले ३७ पालिका प्रमुखमामात्र गठबन्धन गरेका थिए ।

पोखरा महानगरको प्रमुखमा उम्मेदवारी दिने र खोस्ने गरिँदा भने एमालेमा समस्या देखिएको छ । पहिला टिकट पाएका दीपक पौडेललाई एक दशकअघिको ‘सुन चोरेको’ भिडियो सार्वजनिक गरिएपछि पोखराकै पूर्वमेयर एवं प्रदेश सांसदलाई उम्मेदवार बनाइयो । उनी पनि विवादमुक्त नभएकाले कार्यकर्तामा केही असन्तुष्टि देखिएको थियो । त्यसैको परिणाम अहिले थापा लगभग हारनजिक पुगेका छन । उनलाई गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले उछिनेका छन् । यहीबीचमा पार्टीभित्रैबाट थापालाई हराउन लागिएको भन्दै अडियो सार्वजनिक भएपछि अहिले एमालेमा खैलाबैला मच्चिएको छ । कास्कीमा एमाले नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीबीचको गुटबन्दी सतहमै देखिएको छ । यसैको परिणाम पौडेलको भिडियो र थापाविरुद्धको अडियो प्रकरण बाहिरिएको हो । अर्यालले उक्त घटनाको आन्तरिक छानबिन गरी दोषिमाथि कारबाही गरिने बताइन् । गण्डकीमा एमाले पार्टी फुटको असर भने कमै देखिएको छ । प्रदेश सांसद एउटै पनि एकीकृत समाजवादीमा गएनन्, स्थानीय तहका एक उपाध्यक्षमात्रै एसमा गएका थिए ।

प्रदेशभरि साख जोगाउँदै गर्दा एमाले प्रदेश राजधानी कास्कीमा भने कमजोर हुँदै गएको देखिन्छ । ५ पालिकामध्ये यसअघि पोखरा महानगरसहित ४ वटामा जित हासिल गरेको एमालेले यसपटक दुई पालिका गुमायो । महानगर पनि गुम्ने पक्कापक्की छ । पूर्वी नवलपरासीका आठ पालिकामध्ये ६ मा एमालेले जितेको छ । बागलुङमा पहिला ४ वटामा बिजयी भएको एमाले अहिले एउटामा झरेको छ । पर्वतमा एमाले र कांग्रेसले पहिला ४ र ३ पालिका जितेका थिए । अहिले कांग्रेस ५ र एमाले २ मा जितेको छ । केही पालिकामा गठबन्धनले काम गरेको, एमाले फुटको प्रभाव र अन्तर्घातका कारण हार्नुपरेको एमालेको निष्कर्ष छ । एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको जिल्ला लमजुङमा पनि एमालेलाई केही घाटा भएको छ । अघिल्लो निर्वाचनमा ५ पालिका जितेकोमा अहिले ४ मा झरेको छ । पहिला माओवादीले जितेको दोर्दी गाउँपालिकामा एमालेले जिते पनि राइनास र सुन्दरबजार नगरपालिका गुमाएको छ ।

माओवादीको सुधार

२०७४ मा ५ पालिका प्रमुख जितेको माओवादी केन्द्रले अहिले भने ११ पालिका जितेर सुधार गरे पनि गोरखामामात्रै सिमित भएजस्तो देखिन्छ । गोरखाका ११ मध्ये ९ पालिकामा माओवादीले जित हासिल गरेको छ । बागलुङ र तनहुँमा एकएक पालिका जितेको छ । अरु जिल्लामा भने उसको खासै प्रभाव देखिएन । माओवादी प्रभाव क्षेत्र मानिएको गोरखामा यसअघि बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोलेपछि माओवादीको प्रभाव ह्वात्तै घटेको थियो । पछिल्लो समय भने जनता समाजवादी पार्टी (नयाँशक्ति र संघीय समाजवादी मिलेर जसपा भएको) मा लागेका भट्टराईका कार्यकर्ता माओवादीमै फर्किएका, पुरानो विरासतलाई फर्काउन रणनीतिसाथ लागेका कारण सफलता मिलेको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्र गोरखाका संयोजक लेखबहादुर थापाले पार्टीको नियमित क्रियाकलाप, विचार, नीति, योजना कार्यक्रम र सही नेतृत्वका कारण सफलता मिलेको दाबी गर्छन् । ‘जनताले माओवादीलाई वैकल्पिक शक्तिको रुपमा लिएकाले यो सफलता हात परेको हो,’ उनले टेलिफोनमा भने, ‘पार्टीको सक्रियतानै महत्त्वपूर्ण रह्यो ।’ गोरखा माओवादीको सबैभन्दा बढी पार्टी सदस्य भएको दोस्रो जिल्ला हो । पुरानाले दोहोर्‍याउन खोज्दा तनहुँको बन्दीपुरमा माओवादीले हार बेहोर्नुपरेको छ । बन्दीपुर हारे पनि माओवादीले आँबुखैरेनीमा जितेको छ । बागलुङको ताराखोलामा पनि माओवादीले आफ्नो विरासत जोगाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?