सामाजिक परिचालिका हुँदै वडाध्यक्षसम्म

स्याङ्जाका ९७ वडामध्ये दुईवटामा मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन्
प्रतीक्षा काफ्ले

स्याङ्जा — २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष जित्ने महिला एक्लै थिइन् । फेदीखोला गाउँपालिका-५ को वडाध्यक्षमा एमालेबाट देउकुमारी गुरुङ विजयी भएकी थिइन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षमा महिला जम्मा दुई जना निर्वाचित भएका छन् ।

सामाजिक परिचालिका हुँदै वडाध्यक्षसम्म

बिरुवा गाउँपालिका-३ को वडाध्यक्षमा माओवादी केन्द्रकी मनुकुमारी थापा र चापाकोट नगरपालिका-६ मा कांग्रेसकी तारा पोखरेल विजयी भएका हुन् । सामाजिक परिचालिकाको रुपमा काम गर्दै आएका दुवै जनाले राजनीतिमा फड्को मार्दै जनप्रतिनिधि भए । सामाजिक परिचालिका भएर गाउँमा काम गरिरहँदा राजनीति मोह जागेको उनीहरू बताउँछन् ।

चापाकोट-६ की पोखरेल स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी)अन्तर्गत चापाकोटमा काम गर्दै गर्दा पार्टीले वडाध्यक्षको उम्मेदवार बनाएको उनले बताइन् । नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा गरेकी ४१ वर्षीया पोखरेलले नेपाल महिला संघ चापाकोटको सचिव भएर काम गर्दै आएकी छन् ।

‘मलाई सानैदेखि राजनीति गर्ने इच्छा‚’ उनले भनिन्, ‘गाउँमा बसेर काम गर्दा महिला नेतृत्व भए जनताको घरदैलोमा पुगेर साना-साना समस्या बुझ्छन् भन्ने लाग्थ्यो यसैले पनि प्रेरण मिल्यो ।’

२०५८ सालदेखि राजनीति यात्रा सुरु गरेकी पोखरेलले महिलालाई आर्थिक रुपमा कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा योजना बनाएर अघि बढ्ने सुनाइन् । खानेपानी, विद्युत्, बाटोको समस्या रहेको बताउँदै उनले आधुनिक कृषि प्रणलीमा पनि वडामा भूमिका खेल्नुपर्ने बताइन् । नमूना वडा बनाउने योजना उनको छ । यस्तै, बिरुवा ३ की मनुकुमारी थापा पनि राजनीति गर्दागर्दै जनप्रतिनिधि बनेको बताउँछिन् । माओवादीको वडाध्यक्ष हुँदै जिल्ला सदस्य भएकी उनी लामो समयदेखि महिला संगठनमा काम गरेकी छन् ।

‘पार्टीको पनि जिम्मेवारी भूमिकामा छु‚’ उनले भनिन्, ‘माओवादी भएर धेरै संघर्ष गरे । जनयुद्धदेखि नै माओवादीमा लागे पनि खुलेर राजनीति भने शान्ति प्रक्रियापछि नै गरेकी हुँ । घर परिवारले जनयुद्धमा धेरै दुःख गर्नुभयो‚ जसले राजनीतिमा होमिन बाध्य बनायो ।’

गाउँमा बसेर काम गर्दैगर्दा, जनताकै सेवामा खटिरहँदा जनताले विश्वास गरेर जनप्रतिनिधि बनाइदिएको उनको भनाइ छ । ‘अब झन् जिम्मेवारी बढेको छ‚’ उनले भनिन् । बिरुवा क्षेत्र जनयुद्धको बेलामा आधार क्षेत्र मानिन्थ्यो । स्याङ्जामा माओवादीले एउटा मात्र वडा जितेको छ । माओवादीबाट स्याङ्जाकै एकल जनप्रतिनिधि हुन मनुकुमारी । यसअघिको स्थानीय निर्वाचनमा पनि माओवादीले स्याङ्जामा एउटा मात्र वडा जितेको थियो ।

गत वैशाखको निर्वाचनमा महिला नेतृत्वमा आउन सकेनन् । जिल्लाका ११ वटा पालिका प्रमुखमा महिला नेतृत्व एउटा छैन । ९७ वडाका दुई अध्यक्ष मात्र महिला हुन् । मनुकुमारीले कृषिलाई प्रमुख प्राथमिकता दिएको बताइन् ।

गाउँपालिकाले कृषि, स्वास्थ्य, शिक्षामा जोड दिने बताउँदै उनले वडाबाट तल्लो तहका महिलालाई आत्मनिर्भर बनाउन आफ्नो भूमिका रहने सुनाइन् ।

‘बालिकालाई आत्मरक्षाका लागि के गर्न सकिन्छ ? यो पनि सोचिरहेको छु‚’ उनले भनिन् । सदरमुकामबाट टाढा नभए पनि दुर्गम मानिने बिरुवालाई नमूना वडा बनाउन आफू तत्पर रहेको उनले बताएकी छन् । विभिन्न सामाजिक संघसंस्थामा काम गरेकी थापासँग भू-संरक्षणमा समाज परिचालक भएर काम गरेको अनुभव छ ।

रेडक्रस र सहकारीमा पनि उनले लामो समय काम गरेकी थिइन् । जसका कारण आर्थिक क्रान्तिमा नै जोड दिनुपर्ने उनको धारणा छ । निर्वाचनमा महिलाको भूमिका महत्त्वपूर्ण मानिने भए पनि पार्टीले महिलालाई नेतृत्व तहमा पुर्‍याउन आनाकानी गर्दा महिला अध्यक्ष न्यून छन् ।

स्याङ्जाका दुई गाउँपालिका अध्यक्षमा महिला उम्मेदवार बनाएको भए पनि दुवै जना पराजित भए । जसका कारण नेतृत्वमा पुरुषकै दबदबा हुन पुग्यो । गण्डकी प्रदेशका ८५ पालिकामा ७ सय ५९ वडा छन् । जसमा १८ वडामा मात्र वडाध्यक्ष पदमा महिला निर्वाचित भए ।

गण्डकीका केही पालिकामा महिला र दलित महिला सदस्य पदसमेत खाली छ । हिमाली जिल्लाका २७ वडामा दलित महिला सदस्य र एउटा वडामा महिला सदस्य पद रिक्त छ ।

स्याङ्जाको बिरुवा-३ र चापाकोट-६ मा वडाध्यक्ष पदमा निर्वाचित मनुकुमारी थापा र तारा पोखरेल

प्रकाशित : जेष्ठ ९, २०७९ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?