१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

२१ वर्षदेखि फरार अभियुक्त मतदान गर्न आएपछि पक्राउ

आश गुरुङ

लमजुङ — डाँकाचोरी मुद्दामा २१ वर्षदेखि फरार अभियुक्तलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला बाहिर बस्दै आएका उनी चुनावका बेला गाउँ आउँदा प्रहरी फन्दामा परेका हुन् ।

२१ वर्षदेखि फरार अभियुक्त मतदान गर्न आएपछि पक्राउ

डाँकाचोरी मुद्दामा कैद भुक्तान नगरी विभिन्न ठाउँमा बस्दै आएका लमजुङको मध्यनेपाल नगरपालिका १ जिताका ५१ वर्षीय भुपेन्द्र पौडेल चुनावका बेला गाउँ आउँदा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार २०५७ को अन्त्यतिर भएको डाँकाचोरी घटनामा उनले २०५८ वैशाखतिर करिब ३ साता प्रहरी हिरासतमा बसेका थिए । लमजुङ जिल्ला अदालतले साधारण तारेखमा छोडेका उनको मुद्दामा पुनरावेदन हुँदा साविक पुनरावेदन अदालत पोखराले २०६० फागुन ३ गते कैद र जरिवाना सुनाएका थिए ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णबहादुर कार्कीका अनुसार पुनरावेदन अदालतले डाँकाचोरी मुद्दामा ५ वर्ष ११ महिना ७ दिन कैद र ४७ लाख ८७ हजार २ सय ५० रुपैयाँ जरिवाना तोकेको रेकर्ड भेटिएको छ । उनलाई बुधबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको र बिहीबार कारागार चलान गरेको उनले बताए ।

प्रहरी स्रोतका अनुसार द्वन्द्वकालमा भएको घटना र मुद्दा भएकाले जिल्ला अदलतमा सुरुका सबैखाले कागजातपत्र भेटिएको छैन । पुनरावेदन अदालतका अनुसार प्रहरीको फरार सूचिमा राखेका पौडेललाई कानुन बमोजिम पक्राउ गरी अदालतमा बुझाएको डीएसपी कार्कीले बताए ।

हाल स्थानीय तहको निर्वाचनका लागि गाउँमा आएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वयमा प्रहरी चौकी सोती पसलबाट खटिएको प्रहरी टोलीले पौडेललाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर जगदिश रेग्मीले बताए । उनका अनुसार पौडेललाई बिहीबार लमजुङ जिल्ला अदालतमा पेस गरिएकोमा जरिवानासमेतको रकम दाखिला गर्न नसकेपछि कारागार चलान गरिएको छ ।

पौडेलले जरिवाना समेतको रकम दाखिला गर्न नसकेको र उक्त जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी जिल्ला अदालतको आदेशले ९ वर्ष ११ महिना ६ दिन कैदमा राख्ने गरी कारागार कार्यालय, लमजुङमा चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?