कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

माछाखोलामा बन्यो बेलिब्रिज

हरिराम उप्रेती

गोरखा — लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–५ माछाखोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । नेपाली सेनाद्वारा निर्माणाधीन बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकअन्तर्गत माछाखोलामा बनेको नवनिर्मित बेलिब्रिजको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार उद्घाटन गरे । 

माछाखोलामा बन्यो बेलिब्रिज

१२० फिट लम्बाइको बेलिब्रिज झन्डै दुई करोडको लागतमा निर्माण सम्पन्न भएको नेपाली सेनाको सडक निर्माण कार्यदलका मेजर विनोद भट्टले बताए । ‘तीन दिनमा बेलिब्रिजको जडान सकियो, आजबाट औपचारिक रूपमा गाडी चल्न पनि सुरु भएको छ,’ उनले भने । पुल उद्घाटनसँगै शर्माले लार्के सडकको हवाई निरीक्षणसमेत गरेको थियो ।

बेनीघाट लार्के सडकखण्डअन्तर्गत हावाडाँडाबाट ट्रयाक खोल्न सुरु गरेको नेपाली सेना पाङसिङ क्षेत्रमा ट्रयाक खोल्ने काम गरिरहेको छ । हालसम्म ३२ किलोमिटर ट्रयाक खुलेको उनले बताए ।

सडक ट्रयाक खुलेसँगै दोभानसम्म सवारी चल्न सुरु भएको छ । माछाखोलामा बेलिब्रिज बनेसँगै दोभानसम्म पुग्ने सवारीलाई सहज हुने भट्टले बताए । पुल नहुँदा यसअघि माछाखोलामा हेलिएर सवारी आउजाउ हुँदै आएको थियो ।

प्रकाशित : जेष्ठ ५, २०७९ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?