गोरखाको गण्डकी गाउँपालिकामा मंगलबारदेखि हराएका एक जना मृत भेटिए


गोरखा — गण्डकी गाउँपालिका–६ देवीस्थानका ५२ वर्षीय लगबहादुर थापा बिहीबार मृत भेटिएका छन् । थापा मंगलबार रातिदेखि हराएका थिए ।

बिहीबार घरबाट करिब दुई किलोमिटर टाढा नाचनेभिरको जंगलमा थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए । ‘अस्ति राति खाना खाएर सुत्नुभएको रहेछ, बिहान श्रीमतीले उठेर हेर्दा नदेखेपछि हिजोदेखि खोजतलास भइरहेको थियो, आज भिरमा शव भेटियो,’ उनले भने ।
मृतकको शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी गरिएको र घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित : वैशाख ३१, २०७९ १८:२३