स्ट्रेचर र ह्वीलचेयरमा मतदाता [तस्बिरहरू]


तनहुँ — जिल्लाका विभिन्न मतदान केन्द्रमा ज्येष्ठ नागरिक, शारीरिक अशक्त मतदाता स्ट्रेचर, ह्वीलचेयर र आफन्तको सहयोगमा मतदान केन्द्रसम्म पुगेका छन् । स्थानीय निर्वाचनका लागि आफ्नो मताधिकारको प्रयोग गर्न मतदाता मतदान केन्द्रसम्म पुगी मतदान गरेका छन् ।



व्यास नगरपालिकामा–८ रिस्तीका ९९ वर्षीय वृषसिं गुरुङ स्ट्रेचरमा मतदान केन्द्रसम्म पुगेर मतदान गरेका छन् । उनी आफन्तको सहयोगमा घरबाट १० मिनेटको दुरीमा रहेको गाउँ विकास समिति मतदान केन्द्रबाट मतदान गरेका छन् । गुरुङ लामो समयदेखि अशक्त र हालै मात्रै प्रोष्टेटको शल्यक्रिया गरिएका थिए ।
यस्तै, व्यास–१ जलदेवि माध्यमिक विद्यालयको मतदान केन्द्र ‘ङ’ बाट ९० वर्षीया हरिमाया घर्तीले मतदान गरेकी छन् । घरबाट घर्तीकी बुहारी हर्ककुमारीले ह्वीलचेयारमा मतदान केन्द्रसम्म ल्याएकी थिइन् । बृद्ध भईसकेकी घर्ती धेरै हिडडुल गर्न नसक्ने र खुट्टा पनि काटेको बुहारीले बताइन् ।
यसैगरी म्याग्दे गाउँपालिका–१ गुणादीस्थित माहेन्द्री मावि मतदान केन्द्रमा ९२ वर्षीय नारायणदत्त खनालले पनि मतदान गरेका छन् ।