

गोरखा — अजिरकोट गाउँपालिका–१ घ्याच्चोकमा बुधबार राति कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा नेकपा माओवादी केन्द्रका दुई कार्यकर्ता घाइते भएका छन् । कुटपिटबाट ३४ वर्षीय बेलबहादुर गुरुङ र ३० वर्षीय विष्णु भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो सर्वदलीय बैठकका बेलादेखि नै दुई पक्षबीच विवाद भएको र राति भनाभनपछि कुटपिट भएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।
बिना कारण आफ्ना कार्यकर्तामाथि कुटपिट भएको भन्दै नेकपा माओवादी केन्द्रका अजिरकोट गाउँपालिका अध्यक्ष सनिल परियारले दाबी गरे । ‘उम्मेदवार सहितको हाम्रो टिम खाना बनाएर खान लाग्दा कुटपिट भएछ, एक्कासि कुटपिट भएको हो,’ उनले भने ।
कांग्रेसले भने बुधबार दिउँसै देखि नै माओवादी कार्यकर्ताले आतंकित बनाउने काम गरेको बताएको छ । ‘दिउँसोदेखि घरमा ढुङ्गा हान्ने, आतंकित बनाउने काम गरे,’ कांग्रेसको तर्फबाट अजिरकोट गाउँपालिका अध्यक्षका उम्मेदवार गोविन्द गुरुङले भने, ‘राति पनि सोही क्रम दोहोरियो हाम्रा दुईतीन जना कार्यकर्ता पनि घाइते छन् ।’
प्रकाशित : वैशाख २९, २०७९ ११:४६