कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

गण्डकीमा निर्वाचन सुरक्षामा कडाइ

प्रदेशमा १२५३ मतदानस्थल रहेकोमा २८५ अति संवेदनशील
लालप्रसाद शर्मा

पोखरा — स्थानीय तहको निर्वाचनमा भोट खसाल्ने दिनको प्रतीक्षा एक दिनमात्रै बाँकी छ । मतदाता सुरक्षितसाथ आफूले चाहेको उम्मेदवारलाई मत खसाल्न आतुर छन् । निर्वाचनमा ढुक्कसाथ मतदानको अधिकार प्रयोग गराउने वातावरणका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

गण्डकीमा निर्वाचन सुरक्षामा कडाइ

अहिलेसम्म चुनावी हिंसाका घटना नभए पनि गण्डकी प्रदेशका सबै ११ वटै जिल्लामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवस्यक तयारी पूरा भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गुन्डागर्दी, विस्फोटन, आगजनी, उम्मेदवार तथा मतदाता अपहरण, धम्कीलगायत गतिविधि हुन सक्ने भन्दै त्यसका लागि आवश्यक सतर्कता र निगरानी बढाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विनोद शर्माले बताए । ‘राजनीतिक दल, भ्रातृ संगठनबीच हुन सक्ने झगडा, लडाइँ, भौगोलिक कठिनाइ, प्राकृतिक प्रकोपसमेतलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘निर्वाचनमा हुन सक्ने घटनालाई विभिन्न कोणबाट अनुसन्धान गर्दै सोहीअनुसार सुरक्षा रणनीति बनाइएको छ ।’

प्रदेशमा १२५३ मतदानस्थल रहेकोमा २८५ अति संवेदनशील देखिएकाले सोहीअनुसार सुरक्षा योजना बनाइएको शर्माले बताए । यसैगरी ५४६ संवेदनशील र ४२२ मतदानस्थल सामान्य पहिचान गर्दै सोही अनुसार सुरक्षा रणनीति बनाइएको शर्माको भनाइ छ । अति संवेदनशील मतदानस्थलमा सबैभन्दा बढी गोरखामा ६७, स्याङ्जामा ५३ र कास्कीमा ५० छन । मुस्ताङमा एउटै मतदानस्थल अति संवेदनशीलमा परेको छैन । यसैगरी संवेदनशीलमा गोरखाकै १३७, लमजुङका ८० र स्याङ्जाका ७३ मतदानस्थल रहेका छन् ।

प्रदेशभरि २ हजार ३ सय मतदान केन्द्र तोकिएका छन् । प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले खासै ठूलो थ्रेट नदेखिए पनि संभावित सुरक्षा चुनौतीका लागि आवश्यक योजना बनाइएको बताए । ‘दलहरूले पनि समन्वयकारी भूमिका खेल्नु भएकाले विगतमा जस्तो अप्रिय घटना नहुनेमा विश्वस्त छौं,’ उनले भने, ‘मतदातालाई सुरक्षाको पूर्ण विश्वास दिलाएर मतदान गर्ने वातावरण मिलाउन सबै सुरक्षा निकायबीचको समन्वयमा काम भइरहेको छ । निर्वाचन विरोधी सबैखाले चुनौतीको सामना गर्न सुरक्षा योजना चुस्त बनाइएको छ ।’ प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिमप्रति पनि सचेत रहेको उनले बताए ।

स्याङ्जामा ५३ मतदानस्थल अति संवेदनशील

स्याङ्जा– स्थानीय तहको निर्वाचनको लागि पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा एक सय ९९ वटा मतदान स्थल कायम गरिएको छ, जसमा ३ सय १८ वटा मतदान केन्द्र छन् । तीमध्ये ५३ वटा मतदान स्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए । उनका अनुसार ७३ वटा स्थल संवेदनशील र ७१ वटा स्थल सामान्य छन् । अति संवेदनशील मतदान स्थलमा सोहीअनुसार सुरक्षाकर्मीको परिचालन गरिएको प्रजिअ पौडेलले बताए । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर खुमबहादुर भुजेलका अनुसार कुनै पनि केन्द्रमा मतदान गर्न मतदाता ५ किलोमिटरभन्दा बढी हिँड्नु पर्दैन । स्याङ्जामा २ लाख ४० हजार ५ सय ३५ जना मतदाता छन् । १९ वटा राजनीति दल रहे पनि १२ दलबाट मात्र उम्मेदवारी परेको छ । यसैगरी एउटा स्वतन्त्र उम्मेदवारी परेको छ ।

प्रकाशित : वैशाख २९, २०७९ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?