कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

एक घर एक धारा भन्दै सधैं भोट माग्दै

अगन्धर तिवारी

पर्वत — ११ वर्षको उमेरमा विवाह गरी फलेबास–३ पुर्कोट आएकी ७१ वर्षिया सुकमायाँ दर्जी लाई पानी बोक्ने दुःखले कहिल्यै छोडेन । पल्लो गाउँकी ८० वर्षीया भीमकुमारीको पानी दुःख पनि उस्तै छ । पानी बोक्दा वर्षमा दुईवटा डोका फाट्छन् । हरेक बिहान ४ बजेदेखि नै राहालेपानी र गुँहेलीको पँधेरोमा पानी लिनेहरूको लस्कर हुन्छ । तर, यो लस्कर मत्थर पार्न र पानीको समस्या समाधान गर्ने कुरा सुन्न उनीहरूलाई निर्वाचन नै कुर्नुपर्छ । अरुबेला खानेपानीको चर्चा नै हुँदैन । भइहाले पनि यत्तिकै सेलाउँछ ।

एक घर एक धारा भन्दै सधैं भोट माग्दै

गत स्थानीय निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले पानीकै नारा बनाएर शंकरपोखरीबासीसँग मत मागे । कांग्रेसले हार्‍यो । एमालेका उम्मेदवारले जिते ।

‘एकवर्षमै एक घर एक धारा ल्याइदिन्छु भनेर चुनाव जिताइयो,’ स्थानीय चित्रा थापाले भनिन्, ‘अहिले पनि त्यहि भन्दै भोट माग्दैछन् ।’ पानीको चरम अभाव भोगेका करिव छ सय परिवारले अब पनि उक्त नारा लिएर आउनेसँग लिखित सम्झौता खोजिरहेका छन् । पानीका लागि शंकरपोखरीमा पहल र प्रयास नभएको भने होइन । बृहत शंकरपोखरी खानेपानी आयोजनाका लागि तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ५ वर्षअघि आयोजनाको लागत अनुमान गरेको थियो । तर स्थानीय राजनीतिक दलकै द्वन्द्वका कारण आयोजना अघि बढ्न सकेन ।

तीन वर्षअघि प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले २०७५ फागुनमा लमायखोला लिफ्ट खानेपानी आयोजना सुरु गरेको थियो । बजेट अभावका कारण उक्त आयोजनाको पानी पनि बस्तीसम्म अझै आइपुगेको छैन । फलेबास नगरपालिकाले गत वर्ष पोखराचौरमा डिप बोरिङमार्फत खानेपानी वितरण गर्ने प्रयास गरेको भए पनि उक्त प्रयास सफल नभएको स्थानीयले बताएका छन् ।

आगामी शुक्रबार हुने निर्वाचनका लागि मत माग्दै घरदैलो गरेका उम्मेदवारले पनि शंकरपोखरीमा एक घर एक धारा खानेपानीको नारालाई प्रमुख बनाएका छन् । निवर्तमान नगरप्रमुख पदमपाणि शर्माले अघिल्लो कार्यकालमा पनि सोही नारा लगाएका थिए । काम पूरा गर्न नसकेकोमा क्षमा माग्दै अब पूरा गर्ने बाचासहित मत मागिरहेका छन् । शर्मासँगै अघिल्लोपल्ट पराजित गंगाधर तिवारीले शंकरपोखरीबासीलाई झूटा आश्वासन बाँडेको भन्दै अब त्यस्ता झूटको खेती गर्नेको पछि नलाग्न आग्रह गर्दै मत मागिरहेका छन् । आफू जन्मिएकै गाउँ भएकाले शंकरपोखरीको पानी दुःख आफूले राम्रोसँग भोगेकोले निर्वाचित भएको एक वर्षभित्रै हरेक घरमा पानीको धारा पुर्‍याउने बाचा गरेका छन् ।

चुनावका बेला मात्रै खानेपानीको चर्को बहस सुनेका सर्वसाधारण भने अब पनि उक्त एजेन्डा लिएर आउने उम्मेदवारसँग प्रश्न गर्न थालेका छन् । ‘म आएको ६० वर्ष भइसक्यो,’ भीमकुमारीले भनिन्, ‘पानी खोज्दै कुवामै जिन्दगी गयो । कति नेता आए, नारा बनाए, जिते, गए । पानीको कुरा पनि सँगै गयो ।’

हरेकपल्ट निर्वाचनमा मत माग्दै दैलोमा आउने नेताहरूलाई पानीको समस्या सुनाउने र पानी सहज बनाइदिन अनुरोध गर्दा वाक्क परेका शंकरपोखरीवासी अब पनि यही नियति भोग्नुपरे आगामी निर्वाचनमा ‘नो भोट’ को अभियान चलाइने चेतावनी दिएका छन् ।

प्रकाशित : वैशाख २७, २०७९ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?