कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धनले टिकट खोसेको महिलाको गुनासो

सत्ता गठबन्धनले १६ जनामध्ये एक जना मात्रै महिला उम्मेदवार उठाएका छन्
आश गुरुङ

लमजुङ — पार्टीको गण्डकी प्रदेशबाट टिकट ल्याएर राइनास नगरपालिका उपप्रमुखमा मनोनय दर्ता गराएकी कांग्रेस नेतृ विष्णुमाया न्यौपाने धिताल उम्मेदवार बन्न पाइनन् । केन्द्रबाट पत्र आएको भन्दै वैशाख १६ को राति पार्टीले उनको उम्मेदवारी झिक्यो । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पुष्पराज खनाल उपप्रमुखको उम्मेदवार छन् ।

गठबन्धनले टिकट खोसेको महिलाको गुनासो

विष्णुमायाले भनिन्, ‘कि टिकट दिनै नहुने । टिकट दिएपछि केन्द्रले पत्र पठायो भनेर उम्मेदवारी फिर्ता गरिदिने ? पत्र हेर्छु भन्दा पनि नदिने । महिलामाथि कस्तो ज्यादती ? यो हामीलाई हेपेको होइन ?’

राइनास नगरपालिका उपप्रमुख धनकुमारी गुरुङले प्रमुखमा दाबी गरेकी थिइन् । ‘उपप्रमुखपछि प्रमुखमा टिकट पाउनुपर्ने मेरो अधिकार थियो । मैले उपप्रमुखमा दाबी गरें । मेरो नाम जिल्लाबाट सिफारिस भएकै हो । प्रदेशले पुरुषलाई नै टिकट दिएछ,’ उनले भनिन् । उनका अनुसार गठबन्धनबाट अरू दलका पुरुषलाई टिकट दिने भए प्रमुखमा महिलाले टिकट पाउनुपर्ने उनको तर्क थियो । ‘हाम्रो दाबी, हाम्रो तर्कले केही नहुने रहेछ,’ उनले भनिन् । उनले महिला दिदीबहिनीलाई एक ढिक्का बनाएको र सबैले आफूलाई प्रमुख बन्न सुझाव दिए पनि पार्टीले मूल्यांकन नगरेको गुनासो गरिन् । ‘मैले टिकट नपाउँदा कति महिला दिदीबहिनी रुनुभयो । यो कुरा पार्टीले बुझ्नुपर्ने हो,’ उनले भनिन् ।

लमजुङकै एक मात्र महिला पालिका प्रमुख दूधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङले यसपटक पनि प्रमुखमै दाबी गरेकी थिइन् । ‘मैले सुरुवात गरेको विकास निर्माणलाई म आफैं सक्न चाहन्थें । ५ वर्षमा विकासको जग बसेको थियो । अर्को ५ वर्षमा म पूरा गर्थें । तर, मलाई टिकट दिइएन,’ उनले गुनासो गरिन् । २०७४ को स्थानीय तह चुनावमा एमाले र माओवादी केन्द्र मिल्दा पनि दूधपोखरीको अध्यक्षमा उनले जितेकी थिइन् । ‘पहिले अरु नै गठबन्धन थियो । त्यतिबेला के भनेर दियो मलाई टिकट, थाहा भएन । अहिले सिधै जित्ने ठाउँमा पनि महिलालाई टिकट नदिएर पार्टीले हेला गर्‍यो,’ उनले भनिन् ।

जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका छन् । प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा गरी १६ जनाले चुनाव लड्न पाउँछन् । सत्ता गठबन्धनले भने यी १६ जनामा १ जना मात्रै महिला उम्मेदवार उठाएका छन् । नगरपालिकाको प्रमुख र उपप्रमुख गरी ८ वटा पदमा सवै पुरुष उम्मेदवार छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गरी ८ वटा पदमध्येका उपाध्यक्षमा १ जना मात्रै महिला उम्मेदवार बनाइएको छ । ३ वटा पालिकाको उपाध्यक्षमा पुरुष नै उम्मेदवार बनाएका छन् ।

कांग्रेसले क्व्होलासोंथर गाउँपालिका उपाध्यक्षमा सृजना गुरुङलाई उम्मेदवार बनाएको हो । माओवादी केन्द्र र एकीकृत समाजवादीको प्रभाव नरहेको उक्त पालिकामा कांग्रेस एक्लै एमालेसँग चुनावी मैदानमा छ । जिल्लाका ७५ वडामा गठबन्धनले वडाअध्यक्षमा १ जना मात्रै महिलालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रको भागमा परेको सुन्दरबजार नगरपालिका १ मा सन्तोषीकुमारी केसी गौली उम्मेदवार छन् । भागबन्डाअनुसार कांग्रेसले ६१ र माओवादी केन्द्रले १४ वटा वडाअध्यक्ष उठाएकोमा कांग्रेसले १ जना पनि महिलालाई वडाध्यक्ष दिएको छैन ।

कांग्रेस सभापति टकराज गुरुङले गठबन्धन गर्दा समस्या परेको बताए । उनले कांग्रेसका तर्फबाट क्व्होलासोंथर गाउँपालिका उपाध्यक्षमा महिला उठाएको र अन्य पालिका उपप्रमुख तथा उपाध्यक्षहरू गठबन्धनका अन्य दललाई दिनुपर्ने बाध्यता आएकाले महिलालाई समेट्न नसकिएको बताए । ‘महिलालाई दिनुपर्छ भन्ने थाहा छ । महिलालाई बनाउनै पनि पर्छ । गठबन्धन गर्नुपर्ने बाध्यताले समस्या पर्‍यो,’ उनले भने ।

माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक एवं गण्डकी प्रदेश स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङले गठबन्धन गर्नुपर्ने बाध्यताले महिलालाई उम्मेदवार बनाउन नसकिएको बताइन् । ‘गठबन्धन गर्दा आफूले भनेको र चाहेको पद नपाइने रहेछ । हामीले वडाअध्यक्षमा महिलालाई उठाएका छौं,’ उनले भनिन् ।

लमजुङमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिएको छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मात्रै गठबन्धन छ । गठबन्धनका तर्फबाट कांग्रेसले ४ वटै नगरपालिका प्रमुख र ३ वटा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएको छ । २ वटा गाउँपालिकामा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रले ३ नगरपालिका उपप्रमुख र २ गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । एउटा नगरपालिका उपप्रमुखमा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन् ।

कांग्रेसका तर्फबाट बेंसीसहर नगरपालिका प्रमुखमा श्रीकान्त घिमिरे, सुन्दरबजार नगरपालिका प्रमुखमा कृष्णप्रसाद कोइराला, राइनास नगरपालिका प्रमुखमा खड्कबहादुर गुरुङ र मध्यनेपाल नगरपालिकामा रमेशकुमार पाण्डेले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । कांग्रेसले क्व्होलासोंथर गाउापालिकामा टेकबहादुर गुरुङ, मर्स्याङ्दी गाउँपालिकामा लोकनाथ घिमिरे र दूधपोखरी गाउँपालिकामा धनप्रसाद गुरुङलाई अध्यक्षमा उठाएको छ । कांग्रेसले दोर्दी गाउँपालिका उपाध्यक्षमा विच्छबहादुर घलेलाई उपप्रमुखमा उठाएको छ । क्व्होलासोंथर गाउँपालिका उपाध्यक्षमा सृजना गुरुङलाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रका तर्फबाट दोर्दी गाउँपालिका अध्यक्षमा लालबहादुर गुरुङले अध्यक्षमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका तर्फबाट बेंसीसहर नगरपालिकामा हरिजंग तामाङ, राइनास नगरपालिकामा पुष्पराज खनाल र मध्यनेपाल नगरपालिकामा उपेन्द्र अधिकारीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । मर्स्याङ्दी गाउँपालिकामा अजय तामाङ र दूधपोखरी गाउँपालिकामा क्षेत्रबहादुर गुरुङ माओवादी केन्द्रबाट उपाध्यक्षमा उठेका छन् । एकीकृत समाजवादीका तर्फबाट सुन्दरबजार नगरपालिका उपप्रमुखमा जिल्ला अध्यक्ष रामबाबु अधिकारी उम्मेदवार बनेका छन् ।

प्रकाशित : वैशाख २५, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?