‘भोट बैंक’ मात्रै दलित

अगन्धर तिवारी

पर्वत — फलेवास–४ तल्लोथरकी पवित्रा नेपालीले अहिलेसम्म ७ वटा निर्वाचनमा मतदान गरिन् । उनले मत दिएका कतिपय सांसद, मन्त्री भईसके, पवित्राको अवस्था भने अहिले पनि जहाँको त्यहीं छ । 

‘भोट बैंक’ मात्रै दलित

विपन्नता र गरिबीले पिल्सिएको बस्तीमा नेताले चुनावका बेला मात्रै बाँड्ने आश्वासनले बस्तीको अवस्था भने बदलिएको छैन । तल्लोथरमा मात्रै १० परिवारको दलित बस्ती छ । ४० मतदाता छन् । मुडिकुवा–फलेवास सडकको ५० मिटर तलको यो बस्तीमा जुनसुकै दलका नेताकार्यकर्ता भोट माग्न पुगेकै हुन्छन् । तर, बस्तीमा तीन दशकदेखि कुनै परिवर्तन आउन सकेको छैन । बस्तीमा खानेपानी, पैदलमार्ग, सिँचाइलगायतको समस्या जस्ताको तस्तै छ । ‘कुखुरा पाल्नेलाई कुखुरा दिन्छौं, छोराछोरीलाई जागिर दिन्छौं भनेर अघिल्लोपटक पनि भोट हालेकै हो,’ स्थानीय सीता नेपालीले भनिन्, ‘अहिले त्यस्ता आश्वासन बाँड्नेलाई होइन, मनले खाएको असल मान्छे छान्ने हो । कसैको दबाबमा भोट दिइन्नँ ।’ पदमार्ग नहुँदा हिंडडूल गर्न समस्या छ ।

घरघरै पानीको धारा चुनावी नारामात्रै भए । युवालाई रोजगारीको अवसर नहुँदा खाडी मुलुक हानिनुपरेको तीतो यथार्थ यहाँका बासिन्दालाई छ । फलेवास–४ मा मात्रै करिब ८० परिवार दलित बस्ती छ । जहाँ ३ सय हाराहारी मतदाता छन् । यो जम्मा मतदाताको साढे १४ प्रतिशत हो । यी बस्तीमा कतिपय निर्वाचनका बेला उम्मेदवार मत खरिद गर्नसमेत पुग्ने गरेको गुनासो स्थानीयको छ ।

फलेवासको मुडिकुवामा मात्रै नभएर पर्वतभर करिब १५ प्रतिशत दलित मतदाता रहेको अनुमान छ । दलित अगुवा निर्वाचनका बेला ठूला आश्वासन बाँड्दै मत माग्ने दल र तिनका नेताकार्यकर्ता दलित बस्तीलाई ‘भोट बैंक’ मात्रै बनाएको आरोप लगाउँछन् । ‘मैले धेरै भोगेको छु,’ दलित अगुवा जीतबहादुर नेपाली भन्छन्, ‘मैले जान्ने भएदेखि नै हामीलाई भर्‍याङ बनाउने काम मात्रै भएको छ । नेताहरू भर्‍याङ चढेर माथि गएपछि टेकेको खुड्किलो बिर्सिंदा दलितमात्रै होइन, विपन्न समुदायको स्तर पनि जहाँको त्यहीं छ ।’ दलित समुदायको स्तरमा परिवर्तन ल्याउनका लागि सोही समुदायको व्यक्ति नेतृत्वमा पुग्नुपर्ने उनको तर्क छ ।

प्रकाशित : वैशाख २३, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?