कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेतृत्व ताक्दै उपप्रमुख, दोहोरिने चाहनामा प्रमुख

हरिराम उप्रेती

गोरखा — स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहना राख्नेको जिल्लामा होडबाजी चलेको छ । वडासदस्यदेखि नै उम्मेदवार टुंग्याउन दलहरूलाई हम्मे परेको छ । कांग्रेसले वडा सदस्य, वडाध्यक्ष, पालिका उपाध्यक्ष र अध्यक्षमा आकांक्षा राख्नेहरूको नामावली पनि संकलन सकेको छ । एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत दलहरू पनि उम्मेदवारको अन्तिम स्वरूप दिने तयारीमा छन् । 

नेतृत्व ताक्दै उपप्रमुख, दोहोरिने चाहनामा प्रमुख

९४ वडा रहेको जिल्लामा आधाभन्दा बढीले वडाध्यक्षमा दोहोर्‍याउने चाहना राखेका छन् । अधिकांश पालिका प्रमुखले पनि सोही पदमा दोहोर्‍याउन लबिइङ थालिसकेका छन् । पाँचवर्षे कार्यकालय पूरा गरेका केही पालिका उपप्रमुखले भने यस पटक प्रमुखमा दाबी गरेका हुन् । गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठ, पालुङटार नगरपालिकाकी उपमेयर पम्फा वसेल, अजिरकोट गाउँपालिकाकी उपप्रमुख चन्द्रा गुरुङ, भीमसेन थापा गाउँपालिकाकी उपप्रमुख बिनु वाग्ले, चुमनुव्री गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङको प्रमुखमा दाबी छ । पालुङटारकी उपमेयर वसेल र चुमनुव्रीकी उपप्रमुख २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट विजयी बनेका हुन् भने अन्य कांग्रेसबाट ।

दुर्गमको चुमनुव्री गाउँपालिकाको अध्यक्षमा आकांक्षा राखेकी कुमारी गुरुङ घरदैलोमा व्यस्त छिन् । २०७४ को निर्वाचनमा गुरुङ चुमनुव्री गाउँपालिकाको उपप्रमुखमा विजयी बनेकी थिइन् । ‘महिलाहरूलाई उपमा मात्र सीमित गर्न भएन, कार्यकारी भूमिकामा पनि सक्षम छन्,’ उनले भनिन्, ‘कामले काम सिकाउँछ, पाँच वर्ष उपप्रमुख बने, पार्टीको अध्यक्षको पनि भूमिकामा रहँदा पालिका अध्यक्ष पनि सहजै चलाउन सक्छु भन्ने आत्मविश्वास छ ।’

कार्यअनुभवका आधारमा पनि पालिका प्रमुखमा दाबी स्वाभाविक रहेको गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठ बताउँछिन् । ‘पाँच वर्षसम्म उपमेयर चलायौँ,’ उनले भनिन्, ‘यो अवधिको कार्यअनुभवले मेयर वा प्रमुख पद हाक्न सक्षम वनेका छौँ ।’ चुनावी तालमेलको नाउँमा महिलाको अधिकार कटौती हुने अवस्था आउन नदिन पार्टीलाई सचेत गराएको उनले बताइन् ।

यसैगरी वडाध्यक्ष, पालिका अध्यक्ष, उपाध्यक्ष पदमा उमेदवारी दिएकाहरूले पुनः सोही पदमा दोहोर्‍याउने चाहना राखेका हुन् । केही पालिका उपप्रमुखले भने प्रमुख पदकै दाबी गरेका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ११ मध्ये नौ पालिका प्रमुखमा विजयी बनेको थियो । कांग्रेसबाट विजयी भएका नौमध्ये ७ पालिका प्रमुखले यसपटक दोहोर्‍याउने चाहना राखेका छन् ।

पालिका प्रमुख उपप्रमुख लगायतका उमदवारको विषयमा केही दिनमा टुंगो लाग्ने माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य अंकुर तिमल्सिनाले बताए । ‘९४ वटै वडाको अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरू वडामै सर्वसम्मत गर्न भनेका छौं,’ उनले भने, ‘पालिका प्रमुख र उपप्रमुखका उम्मेदवारको पाटीमा औपचारिक रूपमा छलफल भइसकेको छैन ।’

प्रकाशित : वैशाख ७, २०७९ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?