१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पर्वतमा गठबन्धनलाई उम्मेदवार टुंग्याउन सकस

तालमेल गरेर अघि बढ्ने निर्णय गरेका सत्तारुढ दल उम्मेदवार छनोटमै अल्झिए 
अगन्धर तिवारी

पर्वत — आसन्न स्थानीय निर्वाचनका लागि चार दिनमा उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार यतिबेला उम्मेदवार चुनावी प्रचारमा लाग्नुपर्ने हो । तर, पर्वतमा सत्ता साझेदार दलले कुनै पनि पालिकामा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । 

पर्वतमा गठबन्धनलाई उम्मेदवार टुंग्याउन सकस

पाँचदलीय गठबन्धनमा आबद्ध दलका जिल्लास्थित शीर्ष नेताहरू झन्डै दुई सातादेखि नियमित छलफल र बैठकमा व्यस्त छन् । स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेका सत्तारूढ दल उम्मेदवार छनोट प्रक्रियामै अल्झिएका छन् । दिनहुँजसो भइरहेका छलफल र बहसमा दलका प्रतिनिधि आफ्नै अडानमा टसमस नहुँदा उम्मेदवारको टुंगो लगाउन समस्या भएको हो ।

गठबन्धन दलले छलफल र संवाद गरे पनि भागबन्डाका कारण उम्मेदवार छनोटमा समस्या देखिएको हो । केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धनका दलहरू उम्मदवार छनोटको विषय टुंगो लगाउन पटकपटक बैठक बसे पनि अहिलेसम्म निष्कर्षविहीन बनेको ती दलले बताएका छन् । लामो समयसम्म पनि उम्मेदवार टुंग्याउन नसक्दा कार्यकर्ता अन्योलमा छन् ।

केन्द्रीय समितिले चैत २२ भित्र जिल्लाका सबै वडामा अध्यक्ष पदका आकांक्षी (एक महिलासहित ३ जनाको) नामावली पठाउन दिएको निर्देशन पनि गठबन्धनका कारण अझै नाम पठाउन नसकिएको कांग्रेस जिल्ला सभापति युवराज जोशीले बताए । उनका अनुसार गठबन्धनका कारण माओवादी र समाजवादीलगायत दललाई पनि मिलाएर लैजानुपर्ने भएकाले उम्मेदवारका आकांक्षीको नाम पठाउन नसकिएको हो । गठबन्धनलाई बलियो बनाएर लैजाने विषयमा छलफल भइरहेको र छिट्टै उम्मेदवार टुंगोमा पुर्‍याइने कांग्रेसले जनाएको छ ।

माओवादी केन्द्रका सचिवालय सदस्य एवं कुस्मा नगर अध्यक्ष शंकर गिरीले पर्वतको सवालमा गठबन्धन गरेर जाने सहमतिको खाका तयार भइसकेको र अब छिट्टै सार्वजनिक हुने बताए । गिरीले स्थानीय निर्वाचनमा क्षेत्र, पालिका र वडा तहमा साझा उम्मेदवार बनाउने र साझा संयन्त्रको निर्माण गर्ने सहमति जुटेको र सोहीअनुसार खाका तयार भएको प्रतिक्रिया दिए । नेकपा एकीकृत समाजवादीका सहसचिव गणेश पौडेलले निर्वाचनमा गठबन्धनबाट साझा नेतृत्व चयनका विषयमा संवाद चलिरहेको बताए । ‘हामी दिनहुँ बैठक बसिरहेका छौं,’ उनले भने, ‘गठबन्धनका सम्बन्धमा सबै दलका पदाधिकारी सकारात्मक हुनुहुन्छ, हामी आजभोलिमा साझा उम्मेदवार सार्वजनिक गर्छौं ।’

गठबन्धनभित्र उम्मेदवार छनोटको सन्दर्भमा आ–आफ्नै दाबी छन् । केन्द्रले गरेको सैद्धान्तिक निर्देशनमा रहेर वडा तथा पालिका मिलाउने गरी कसरत भएको नेताले बताएका छन् । २०७४ को स्थानीय निर्वाचनमा जितेको सिट, प्रमुख पदमा विजयी भएको र समग्र मतभारका आधारमा उम्मेदवारी टुंग्याउने तयारी गठबन्धनले गरेको छ । पार्टीभित्रको सन्तुलन र अर्कोतिर गठबन्धनमा भाग मिलाउनुपर्ने बाध्यताका कारण नेता सकसमा छन् । माओवादी केन्द्रले आफ्नो मतभारका आधारमा भाग पाउनुपर्ने अडानमा छ । एकीकृत समाजवादीले केन्द्रदेखि भएको सहमतिका आधारमा २०७४ मा नेकपा एमालेले जितेका पालिकामा आफ्नो दाबी रहेको जनाएको छ । साताअघि कार्यकर्ता प्रशिक्षणमा पर्वत आएका समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सोही कुरा दोहोर्‍याएका थिए ।

‘अरू सबै पार्टीहरूको हैसियत अघिल्लो निर्वाचनले देखाएकै छ,’ उनले भनेका थिए, ‘हामी नयाँ पार्टी हो । एमालेबाट फुटेर आएको । सबैलाई जगजाहेर छ । पहिला एमालेले जितेका ठाउँमा हामीलाई दिँदा हुन्छ । हाम्रो त्यो दाबी जायज नै हो ।’ अघिल्लो स्थानीय निर्वाचनमा एक नगरपालिकासहित तीन गाउँपालिकामा एमाले र एक नगरपालिकासहित दुई गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित नेपाली कांग्रेसले जितेको थियो । पर्वतमा दुई नगरपालिका र ५ गाउँपालिका छन् ।

प्रकाशित : वैशाख ७, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?