२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पोखराको लेकसाइडमा फेवा नव वर्ष महोत्सव

दीपक परियार

पोखरा — कोरोना महामारीका कारण दुई वर्ष रोकिएको फेवा नव वर्ष महोत्सवले यसपटक निरन्तरता पाउने भएको छ । होटल संघ पोखराले चैत ३० र वैशाख १ गते पोखराको लेकसाइडमा १७ औं फेवा नव वर्ष महोत्सव गर्ने भएको हो ।

पोखराको लेकसाइडमा फेवा नव वर्ष महोत्सव

पर्यटन पुनरुत्थानको उद्देश्यसहित नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुने महोत्सव लेकसाइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्म तीन किलोमिटर क्षेत्रमा हुने छ । सडक महोत्सवको झल्को दिने गरी महोत्सव आयोजना गर्न लागिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

उनका अनुसार महोत्सव सम्पन्न गर्न विभिन्न २१ उपसमिति गठन गरी तयारी अगाडि बढाइएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर संघले पहिलोपल्ट सडकमा नै महोत्सव आयोजना गर्न लागेको बताए । भने, ‘नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य महोत्सवले लिएको छ ।’

परम्परागत नेपाली खानाको प्रस्तुति र बिक्री, सांस्कृतिक झाँकीका कार्यक्रम, प्रख्यात कलाकारबाट पप कन्सर्ट, हाँस्यव्यंग्य, लोक दोहोरी महोत्सवका आकर्षण रहेका छन् । अम्मट र सेन्टर प्वाइन्टमा स्टेज निर्माण गरी ती कार्यक्रम सञ्चालन गरिने संघका महासचिव राजेन्द्र ढकालले बताए ।

होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पछिल्ला वर्षमा पोखरा र वरपरका क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य थपिने क्रम रहेकोले पर्यटकको बसाइ अवधि लम्बिएको बताए । पुम्दीकोटको विशाल शिव मूर्ति, सराङकोटको केबलकार, कुश्माको बञ्जी जम्प, जिपलाइन जस्ता पर्यटकीय गतिविधिले पोखरामा पाहुनाको वृद्धि भएको उनले सुनाए ।

संघले महोत्सवकै अवसरमा आफ्ना सदस्य होटलमा ३० प्रतिशतसम्म छुटको घोषणा गरेको छ । रेस्टुरेन्ट, प्याराग्लाइडिङले पुरानै मूल्यमा सेवा दिने प्रतिबद्धता जनाएका छन् । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले हाल पोखराका होटलमा २० प्रतिशत अकुपेन्सी रहेको बताए ।

प्रकाशित : चैत्र २२, २०७८ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?