१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लागूऔषधका लागि अदालत तोडफोड

लालप्रसाद शर्मा

पोखरा — लागूऔषध दुर्व्यसनलगायत मुद्दामा पक्राउ परी सजाय भोगेका व्यक्तिले कास्की जिल्ला अदालत तोडफोड गरेको पाइएको छ । पोखरा-१५ टुटुंगाका २७ वर्षीय अर्जुन परियार (दावा) लाई प्रहरीले बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । 

लागूऔषधका लागि अदालत तोडफोड

मंगलबार राति अदालतको एक र ६ नम्बर इजलास कक्षको ढोका र दराज फोरेर मिसिल र अन्य महत्त्वपूर्ण कागजात चलाएको अवस्थामा बुधबार बिहान भेटिएको थियो । प्रहरीका अनुसार अर्जुन मंगलबार राति ९ देखि १० बजेको बीचमा फिर्केखोलाबाट अदालतभित्र पसेका थिए । अदालतसँगैको फिर्केखोला त्यस्तो ठाउँ हो‚ जहाँ बरामद लागूऔषध जलाउने गरिन्छ ।

खोलाकिनारमा लागूऔषध जलाएको ठाउँमा अर्जुनले खोतलेको र फेनरागन र नुर्फिन गरी दुई एम्पुल लागूऔषध पनि भेटेको प्रहरीको दाबी छ । त्यसपछि उनी ‘सामान’ (लागूऔषध) भेटिने‚ नभए पैसा पाइने आशमा अदालतको नयाँ भवनको दोस्रो र तेस्रो तलामा रहेका इजलास कक्षका ढोका फोरेर पसेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।

‘यसअघि विभिन्न ८ वटा मुद्दा बेहोरिसकेका अर्जुनले लागूऔषध नष्ट गर्ने स्थान देखेका रहेछन्‚’ उनले भने, ‘त्यसैले लागूऔषधकै खोजीमा अदालत छिरेको देखिन्छ ।’ पेसीमा जाने क्रममा लागूऔषध लगेर डिस्पोज गरेको देखेकाले अदालतभित्र लागूऔषध हुनेरहेछ भन्ने बुझेर खोजीमा आएको उनले बयानमा भनेका छन् । कुनै पनि कागजात भने नलगेको उनले बताएका छन् ।

अर्जुनविरुद्ध कास्की जिल्ला अदालतमा अनधिकृत प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी र नकबजनी चोरी उद्योगमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

कास्की जिल्ला अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले अहिलेसम्म कुनै पनि मिसिल हराएको नभेटिएको बताए । ‘मिसिलभित्रका कुनै प्रमाणहरू चोरिएको आशंकामा प्रमाणित गर्ने काम भइरहेको छ‚’ उनले भने । अदालतको मुख्य प्रवेशद्वारमा चौबीसै घण्टा प्रहरीको सुरक्षा रहने र ठीक अगाडि वडा प्रहरी कार्यालय बैदाम भए पनि अर्जुन अदालतमा प्रवेश गर्न सफल भएका थिए ।

अर्जुनविरुद्ध २०७३ जेठ ६ मा अभद्र व्यवहार मुद्दा, भदौमा अभद्र व्यवहारमा अर्को मुद्दा परेको थियो । उनीविरुद्ध सोही वर्षको असोजमा चोरी मुद्दा, २०७४ कात्तिकमा लागूऔषधसम्बन्धी मुद्दा, माघमा जिल्ला प्रहरी रुपन्देहीमा अभद्र व्यवहारसम्बन्धी मुद्दा, २०७५ असारमा लागूऔषध, २०७६ मंसिरमा अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको थियो । यसका साथै २०७६ चैत ९ गते वडा प्रहरी कार्यालय बैदाममा लागूऔषध कसुरमा पक्राउपछि कारागार चलान भएका अर्जुन २०७८ फागुन २३ मा थुनामुक्त भएका थिए ।

प्रकाशित : चैत्र १०, २०७८ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?