कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

चुनावी अभियानमा दलहरू

म्याग्दी‚ लमजुङ — स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक सरगर्मी बढेको छ । मतदाता फकाउन नेताहरू गाउँ चहार्न थालेका छन् । राजनीतिक दल अहिले आफ्ना कार्यक्रम लिएर गाउँगाउँ पुगेका छन् । सदरमुकाम बेंसीसहरका साथै बजारक्षेत्रमा चुनावको रन्को खासै लागेको छैन ।

एमाले अध्यक्ष कृष्णप्रसाद अधिकारी संगठन व्यवस्थित र सुदृढीकरणको कार्यक्रम लिएर गाउँगाउँ पुगेको बताउँछन् । कार्यक्रममा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, संसदीय दलका प्रमुख सचेतक एवं पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारी, केन्द्रीय सदस्य जमीन्द्रमान घले, गण्डकी प्रदेश सचिव धनञ्जय दवाडीलगायत समेत हिँडेका छन् । ‘अहिले पार्टी, जनवर्गीय संगठनको भेला, अधिवेशन, सम्मेलन, पार्टी सदस्यता वितरण, नवीकरण भइरहेको छ,’ उनले भने, ‘पार्टी प्रवेश कार्यक्रम भइरहेका छन् । हामी उत्साहित छौं ।’

कांग्रेस जिल्ला कार्यसमितिका सचिव विमल श्रेष्ठले वडा कार्यसमिति गठन भइरहेको बताए । वडा भेला, छलफल, भ्रातृ संगठन गठन कार्यहरू भइरहेको उनले बताए । ‘५/५ जना प्रतिनिधिलाई हरेक वडामा खटाउने छौं,’ उनले भने ।

माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य सुनील सुनारले जिल्लामा छलफल र भेटघाट भइरहेको बताए । उनका अनुसार आइतबार गण्डकी प्रदेशको प्रशिक्षण कार्यक्रम छ । चैत ८ मा गण्डकी प्रदेशको बैठक रहेको र त्यसपछि जिल्ला–जिल्लामा के गर्ने भन्ने निर्णय हुने उनले बताए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामबाबु अधिकारीले पार्टी केन्द्रीय निर्णयबमोजिम १५ दिने अभियान सञ्चालन भइरहेको बताए । उनका अनुसार यस अभियानमा गण्डकी प्रदेशका लागि केन्द्रीय उपाध्यक्ष जयन्ती राई संयोजक भएर खटिएका छन् ।

म्याग्दीका प्रमुख राजनीतिक दल स्थानीय निर्वाचन लक्षित तयारीमा जुटेका छन । कांग्रेस, एमाले र माओवादी केन्द्रले बैठक, भेला र कार्यकर्ता भेटघाट तीव्र पारेका हुन् । दलहरूले मुख नखोले पनि आन्तरिक रूपमा स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षमा उम्मेदवार बन्न योग्य व्यक्तिको खोजी थालेका छन् । कांग्रेसले एमसीसीबारे स्पष्टीकरण दिने, सम्भावित उम्मेदवारको सूची तयार पार्ने र सबै पालिकामा कार्यकर्ता भेटघाट तथा भेला बैठक गर्ने गरी एकमहिने जिल्ला अभियान थालेको छ । ‘हामीले जिल्लामा फागुन ७ देखि नै घरदैलो भेटघाट र टोलबस्तीमा संगठन विस्तार अभियान सुरु गरिसकेका छौं । केन्द्रीय अभियानले जिल्लालाई मद्दत गर्नेछ,’ कांग्रेस जिल्ला सभापति खमबहादुर गर्बुजाले भने, ‘आन्तरिक असमझदारी अन्त्य गरे, स्थानीय चुनाव जित्छौं ।’

एमालेले पहिलो चरणमा पार्टी र जनवर्गीय संगठनको समेत सबै पालिकास्तरका अधिवेशन, भेला, बैठक सकेर, वडा तहको भेला, बैठक चलिरहेको दाबी गरेको छ । एमालेलाई कांग्रेस, माओवादी केन्द्र र समाजवादीबीच जिल्लामा हुन सक्ने सम्भावित गठबन्धनविरुद्ध लडेर निर्वाचनमा जानुपर्ने चुनौती पनि छ । ‘अहिले संगठन परिचालन, सम्भावित उम्मेदवारका अध्ययनमा छौं । अहिलेसम्म हामी एक्लै चुनाव लड्न सक्षम छौं’ एमाले जिल्लासचिव सुरत केसीले भने, ‘राजनीति सम्भावनाको खेल पनि भएकाले माओवादीसँग गठबन्धन अन्त्य पनि भएको छैन ।’ माओवादी केन्द्रले पनि सबै पालिका तहमा भेला बैठक सञ्चालन गरिरहेको छ ।

उसले पार्टी संगठनको शक्ति आकलन गर्दै अन्य दलसँग तालमेलको सम्भावनामा भित्री अध्ययन गरिरहेको जनाएको छ । माओवादी केन्द्रले चैत २० भित्र उम्मेदवारको टुंगो लगाई सक्ने गरी तयारी थालेको बताएको छ । ‘आसन्न स्तानीय तहको निर्वाचनमा अनुकूल परिणाम ल्याउने गरी तयारीमा जुटेका छौं,’ माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुविन जुग्जालीले भने, ‘अहिलेसम्म जिल्लामा अन्य दलसँग गठबन्धन गर्ने योजना छैन । तर सबै दलका नेतासँग चियागफमा गठबन्धनका चर्चा नगरिएको होइन । स्थानीय तहमा सम्भावनामा छलफल गर्न एमालेसँग बस्ने कुरा भएको छ, बसिसकेका छैनौं ।’ अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसले ४ वटा प्रमुख, २ उपप्रमुख र १४ वटाध्यक्ष, एमाललेले २ प्रमुख, २ उपप्रमुख र २३ वडाध्यक्ष, राप्रपाले एक उपप्रमुख र माओवादी केन्द्रले ७ वडाध्यक्ष जितेका थिए ।

प्रकाशित : चैत्र ८, २०७८ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?