३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वालिङ नगरपालिका : चर्चा धेरै, योजना अधुरै

फोहोरमैला व्यवस्थापन, सूचना प्रविधि र सुशासनमा फड्को मारे पनि स्मार्ट सिटीको योजना अधुरै रह्यो ।
प्रतीक्षा काफ्ले

कास्की — देशैभरका राम्रो काम गर्ने स्थानीय तहमध्ये वालिङ नगरपालिकाको चर्चा हुन्छ । फोहोरमैला व्यवस्थापनमा उदाहरणीय काम गरेको वालिङमा स्मार्ट सिटीका योजना भने अधुरै छन् । साँघुरा सडक, बढ्दो दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या पनि बर्सेनि बढ्दै गएको छ ।

वालिङ नगरपालिका : चर्चा धेरै, योजना अधुरै

दुर्घटना शून्य बनाउने, राजमार्गलाई फराकिलो बनाउने उद्देश्यले २०७५ मा वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाँण आफै डोजर लिएर सडकमा पुगे । पहिलोपल्ट डोजर लगाएपछि सिद्धार्थ राजमार्गअन्तर्गत वालिङ नगरभित्रको सडक चक्ल्याउने काम सुरु भयो ।

कार्य सुरु भएको चार वर्ष बितिसक्दा पनि योजना अलपत्र छ । बजेट अभावको कारण देखाउँदै नगरपालिकाले योजना अगाडि बढाउन सकेन ।

सिद्धार्थ राजमार्ग फराकिलो बनाउने संघीय सरकारको योजना हो । राष्ट्रिय योजनामा स्थानीय तहले बजेट खर्च गरेको आरोप लागिरहँदा पनि नगर प्रमुखले जनताको समस्यालाई मध्यनजर गर्दै सडक चक्लाउन लागिपरे । घुम्ती काट्ने, नाली बनाउने, माटो व्यवस्थापन गर्ने र सडकका खाल्डा पुर्ने काम नगरपालिकाले गरे पनि सडक कालोपत्रे गर्ने कार्य अघि बढ्न सकेन ।

स्मार्ट वालिङको अवधारणा अघि सारेका नगरप्रमुख खाँणले राजमार्ग फराकिलो बनाएर चार लेनको सडक बनाउने, घुम्तीहरु कटिङ गर्ने चुनावी घोषणपत्रमा उल्लेख गरेका थिए । नगरभित्र पर्ने १३ किलोमिटर सडकलाई संघीय सरकारले १ अर्ब २ करोड रुपैयाँ दिने घोषणा गर्‍यो । तर ७ करोडको काम गरिसक्दा पनि संघीय सरकारले एक रुपैयाँ पनि बजेट विनियोजन नगरेको नगरपालिकाको भनाइ छ ।

नेपाली कांग्रेसबाट प्रमुखको उम्मेदवार बन्दै गर्दा उनले सिद्धार्थ राजमार्गलाई विकास गर्न नसके स्मार्ट सिटी निर्माण गर्न नसकिने भन्दै घोषणापत्रको पहिलो प्राथमिकता यसैलाई बनाएका थिए । राजमार्गका २९ घुम्ती कटिङ गरियो, चार लेनको सडक हुनेगरी फराकिलो बनाइयो । तर, घाम लाग्दा धुलो र पानी पर्दा हिलोमा बस्न वालिङबासी बाध्य छन् ।

नगरका १४ वटै वार्डमा छरिएर रहेका घरलाई एकै ठाउँमा निर्माण गरी वडाभित्र ‘एकीकृत सहर’ निर्माण गर्ने, त्यस बस्तीमा पीच सडक पुर्‍याउने, प्राविधिक विद्यालयको स्थापना गर्ने, आधारभूत खानेपानीको व्यवस्था गर्ने, इन्टरनेट जडान, सुविधासम्पन्न अस्पताल, बिजुली, टाढाटाढाका घरलाई पनि सहरमै ल्याउने र गाउँको खेतबारी, खरबारी नगरपालिकाले खरिद गर्ने नारा पनि चुनावका बेला उठाइएका थिए ।

माटो परीक्षण गरी जमिनलाई बाँझो नराख्ने, बाख्रा, मौरी, बंगुर पालन गर्ने, तरकारी, फलफूल लगाई नगरपालिकालाई कृषिमा आत्मर्निभर बनाउने योजना पनि थिए । किसानलाई व्यवसाय गर्न नगरपालिकाले ४०/५० वर्षको लागि जग्गा भाडामा दिने पनि नगरपालिकाको योजना थियो ।

नगरप्रमुख खाँणका अनुसार वडा–९ मा मात्रै योजनाको काम अघि बढेको छ । ‘विभिन्न समस्या आइपरे,’ नगरप्रमुख खाँण भन्छन्, ‘एउटा नमुना र महत्त्वपूर्ण योजना थियो, अहिले हामीले थालनीमात्र गर्न सके नयाँ आउने जनप्रतिनिधिले पूरा गर्नेछन् भनेर योजना अघि सारियो । १३ वटा वडाको काम अघि बढ्नै सकेन ।’

मनोरञ्जनका विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी आँधीखोला बहुउपयोग परियोजना अघि बढाइयो । अर्थ मन्त्रालयले उक्त कार्यक्रमको लागि ४ वर्षसम्म सहमति नदिँदा यो योजना पनि अघि बढ्न सकेन । नगरप्रमुखका अनुसार अर्थ मन्त्रालयले कार्यक्रम सञ्चालनको लागि अन्तिममा भए पनि यही महिना अनुमति दिएको छ । स्मार्ट सिटी निर्माण गर्न वालिङ नगरपालिकाले २ सय कार्यक्रम सार्वजनिक गरेको थियो । जसमा एकसय १६ योजना नगरस्तरीय गौरवका योजना छन् । अहिलेसम्म ३० प्रतिशत काम भएको दाबी नगरप्रमुख खाँणको छ । तोकिएको २ सय सूचकमध्ये ४० अंक प्राप्त भएको उनले बताए । शिक्षामा नगरपालिकाले ३५ अंक प्राप्त गरेको छ । सुशासनमा ७०, उद्यमशीलतामा ३० र स्वास्थ्यमा २५ अंक प्राप्त गरेको छ । यो मूल्यांकन नगरपालिकाको मूल्यांकन समितिले गरेको हो । वालिङलाई योजनाबद्धरुपमा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्ने योजना नगरपालिकाले पूरा गरेको जनाएको छ ।

प्रमुख र उपप्रमुख दुवै कांग्रेसबाट निर्वाचित हुन् । दुवैका साझा एजेन्डा थिए । तीमध्ये प्रत्येक वडामा २५ मिनेटभित्र जनताले सुविधा पाउनेगरी स्वास्थ्य संस्था निर्माण गर्ने घोषणापत्रमा उल्लेख थियो । त्यसअनुरुप प्रत्येक वडामा पुग्ने गरी १८ वटा स्वास्थ्य संस्था, निर्माण भएका छन् । ३ बेडको प्राथमिक स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी ५० बेडको बनाइएको छ भने १५ बेडको नगर अस्पताल निर्माणाधीन अवस्थामा छ ।

शिक्षामा राजनीतिक हस्तक्षेप बन्द गरी गुणस्तर सुधार्ने अर्को अजेन्डा थियो । जसअन्तर्गत नगरपालिकाले एकै दिन सबै विद्यालयमा व्यवस्थापन समिति गठन गरी समितिमा अभिभावकमात्र निर्वाचित गरियो । समितिमा कुनै दलका नेता संलग्न छैनन् । ब्रिटिस काउन्सिल, कारखाना (द एसिया फाउन्डेसन) रुम टु रीडसँग सहकार्य गरी नगरपालिकाको ५० र रुम टु रीडको ५० प्रतिशत लगानीसहित ७ करोडमा शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिएको छ । गत वर्षदेखि सञ्चालित यो कार्यक्रम ३ वर्षसम्म चल्ने छ ।

हरेक वडामा वडास्तरीय सडक लैजाने र शाखा गाउँस्तरीय सडकको स्तरीकरण, पीच, ग्राभेल गर्ने लक्ष्यअनुसार पनि काम भइरहेको उपप्रमुख एवम् योजना अनुगमन समितिकी संयोजक कल्पना तिवारी बताउँछिन् । भन्छिन्, ‘वडाको सडक बिस्तारको काम लगभग अन्तिम चरणमा पुगेको छ ।’ नगरपालिकाले योजना बैंक बनाएर अघि बढ्ने योजना पनि कार्यान्वयनमा लगेको जनाएको छ । औद्योगिक क्षेत्रको निर्माण गर्ने लक्ष्यअनुरुप भुम्रेमा औद्योगिक ग्राम सम्पन्न हुने अवस्थामा रहेको छ भने सार्वजनिक जग्गाको अभिलेखीकरण गरी यस्ता जग्गाको संरक्षण गर्ने कार्य पनि सम्पन्न भएको बताइएको छ । २० वर्षमा ५० वटा प्राविधिक शिक्षालय स्थापना गर्ने अर्को अजेन्डा थियो ।

जसअन्तर्गत नगरभित्र १० वटा प्राविधिक शिक्षालयको स्थापना गरिएको नगरप्रमुख खाँणले बताए । जीवनोपयोगी र उद्यम सिकाउने शिक्षालयको स्थापना गरिएको उनले बताए । नगरपालिकामा प्रत्येक वर्ष १७ करोड विकास बजेट विनियोजित हुन्छ । त्यसअनुरुप नै काम गर्नुपर्ने बाध्यता भएकाले अधिकांश योजना अधुरै रहेको प्रमुखको भनाइ छ । ‘कोरोना महामारी पनि विकासको बाधक बन्यो,’ उनले भने, ‘सरकारी नीति–नियम पनि काम ढिलासुस्ती हुनुमा जिम्मेवार छन् । ठेकेदारको लापरबाही पनि अर्को समस्या हो ।’ स्मार्ट सिटीको अवधारणाले अघि बढाइएका योजना प्रारम्भिक चरणमा अघि सारिए पनि ५ वर्षभित्रै सम्पन्न गर्न सम्भव नरहेको उनको भनाइ छ ।

नगरप्रमुख खाँणले वालिङ नगरपालिकालाई स्मार्ट नगर बनाउन २० वर्षीय दीर्घकालीन योजना बनाएर अघि बढेको बताए ।

पाँच वर्ष जनप्रतिनिधिलाई ५ दिनजस्तै भएको उनीहरु बताउँछन् । जनताले दिएको जिम्मेवारी कार्यान्वयन गर्दैगर्दा समय बितेको पत्तै नहुने बताउँदै उपप्रमुख कल्पना भन्छिन्, ‘जनताका स–साना समस्या सिँचाई, खानेपानी, सडक व्यवस्थापन गर्दै गर्‍यौं । संघीयताको पहिलो प्रयास सबैकुरा पुरा गर्छौं भन्न सकिएन ।’ उनले योजना बुक निर्माण गर्दै स्थानीय सरकारको अनुभव गर्दै जाँदा तल्लो आधार खडा गरिएको बताइन् । प्रमुख–उपप्रमुखबीच अधिकारका आ–आफ्नै कार्यसूची तोकिएको हुँदा एक–आपसमा हस्तक्षेप गर्ने कार्य नभएको उनको भनाइ छ ।

महिलाका कार्यक्रमलाई नगरपालिकाले प्राथमिकता दिएको छ । नगरपालिकाको पुँजी लगानी गरी उत्पादन र उद्यमशीलतामा जोड दिएको उनले बताइन् । नगरपालिकाभित्र दुई सय १५ आमा समूह छन् । ती समूहमा नगरपालिकाले लगानी गरी महिलालाई प्रत्यक्ष आय–आर्जनसँग जोडेको छ । नगरपालिकाको पुँजीगत बजेट न्युन हुँदा आँधीखोला करिडोरजस्ता योजना यत्तिकै रहेको उनको भनाइ छ । स्मार्ट सिटी निर्माण गर्न संघीय सरकारले एक अर्ब दिने घोषणा गरे पनि उक्त बजेट नआएको नगरपालिकाले जनाएको छ ।

वालिङले सूचना प्रविधिको क्षेत्रमा भने फड्को मारेको छ । आईटीमा ७ सय ५३ स्थानीय तहमध्ये वालिङ पहिलो रहेको दाबी जनप्रतिनिधिहरुको छ । अहिलेको कार्यपालिकाले बसालेको जग पूरा गर्ने जिम्मा नयाँ कार्यपालिकाको हुने जनप्रतिनिधिहरु बताउँछन् ।

समन्वयको अभाव
संघीयता कार्यान्वयनसँगै तीन तहका सरकारको निर्माण भयो । स्थानीय सरकार जनतासँग प्रत्यक्षरुपमा जोडिने भए पनि संघीय सरकारले प्रशस्त अधिकार नदिँदा तोकिएका काम पनि अधुरै रहेको नगरपालिकाको भनाइ छ । जनप्रतिनिधिहरु सुरुदेखि अहिलेसम्म कुनै सरकारसँग समन्वय नभएको बताउँछन् । ‘हामीलाई प्रदेश सरकारले अनुदान दिने कुरा गर्‍यो तर अहिलेसम्म दिएन । एक हजार रुपैयाँ अनुदान बाँड्न पनि प्रदेश सरकार आफैं अघि सर्‍यो,’ उपप्रमुख तिवारीले भनिन्, ‘किताबमा समन्वयका शब्द उल्लेख छन् तर व्यवहारमा छैनन् ।’ संघीय सरकारले पनि लाखका साना योजना आफैं अगाडि सार्दा सरकारबीच समन्वय नभई विवाद उत्पन्न भएको जनप्रतिनिधिहरुको बुझाइ छ । नगरपालिकाले अहिलेसम्म २० वटा ऐन निर्माण गरेको छ । १७ वटा नियमावली, ३४ वटा कार्यविधि, ६ वटा निर्देशिका बनाएको नगरपालिका केही नयाँ ऐन निर्माणको तयारीमा छ । एकीकृत सम्पत्ति, बहाल, सरसफाई, फोहोरमैला व्यवस्थापन लगायतमा नगरपालिकाले कर लगाएको छ ।

जनप्रतिनिधिहरुको सेवासुविधाको लागि वार्षिक १ करोड ६५ लाख रुपैयाँ खर्च भएको देखिन्छ । पाँच वर्षमा ८ करोड २५ लाख रुपैयाँ खर्च भएको लेखा अधिकृत ईश्वरी तिवारीले जानकारी दिए । गाडी खरिदमा प्रमुखको लागि ४९ लाख र उपप्रमुखको लागि ४२ लाख ६९ हजार खर्च भएको छ । प्रमुखको गाडी मर्मतमा ३ लाख ९ हजार र उपप्रमुखको गाडी मर्मतमा ३ लाख ७९ हजार ९ सय ४७ रुपैयाँ खर्च भएको छ ।

कोरोना महामारी व्यवस्थापनमा अगाडि
कोरोना महामारी नियन्त्रणमा नगरपालिकाले उत्कृष्ट कार्य गरेको थियो । क्वारेन्टाइन, आइसोलेसन सेन्टर निर्माण गर्ने, जिल्ला र नेपालबाहिर भएका वालिङबासीको व्यवस्थापन, कोरोना परीक्षण, कोरोनाविरुद्धको खोप किनेरै भए पनि लगाउन नगरपालिकाले उत्कृष्ट कार्य गर्‍यो । प्रत्येक वडामा क्वारेन्टाइन बनाए पनि कोरोना पोजेटिभ नदेखिएकालाई घरमै क्वारेन्टाइन बनाएर राख्ने योजना पनि वालिङले नै अगाडि सारेको थियो । कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नेदेखि कोरोना प्रभावित युवायुवतीको लागि उत्पादन र उद्यममा जोड्न वालिङले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा प्रमुखको दाबी गरेका खाँणका प्रमुख प्रतिस्पर्धी थिए एमालेबाट पुण्यप्रसाद अर्याल । उनले पाँच वर्षे कार्यकाल जनताको भन्दा पनि कांग्रेसको प्रतिनिधि भएर कटाएको आरोप लगाए । प्रतिपक्षमात्र नभई आमजनताको रुपमा पनि वालिङमा सुधारोन्मुख कार्य केही हुन नसकेको उनको भनाइ छ । ‘राष्ट्रिय योजना, जहाँ संघीय सरकारले लगानी गर्छ त्यहाँ नगरपालिकाले रकम खर्च गर्‍यो तर उपलब्धी केही आएन,’ उनले भने, ‘कसैसँग समन्वय भएन । संघ र प्रदेश सरकारसँग समन्वय गरेको भए धेरै विकास हुन सक्थ्यो ।’

पाँच वर्षमा नगरमा ५ किलोमिटर सडक पीच नभएको उनले बताए । किसानलाई या ग्रामीण भेकका जनतालाई महसुस हुनेगरी काम नभएको उनले बताए । उनका अनुसार आईटी र डोजरमा मात्र नगरपालिकाले ठूलो खर्च गरेको छ । ‘यदि म नगरप्रमुख भएको भए रोलर किन्ने ठाउँमा प्रत्येक वडामा पुग्नेगरी एम्बुलेन्स किन्थेँ,’ उनले भने, ‘सार्वजनिक सुनुवाइमा प्रमुखसँग प्रश्न गरे ५ वर्षमा के गर्नुभयो भनेर, उहाँले श्वेतपत्र जारी गरेँ भन्नेबाहेक अरु जवाफ दिन सक्नुभएन ।’

वालिङका स्थानीय दिनकर नेपालले शिक्षामा आशाअनुसार नगरपालिकामा काम गर्न नसकेको बताए । ‘स्मार्ट सिटी हल्लामात्र भयो,’ उनले भने, ‘नगरस्तरीय पूर्वाधार निर्माण, संग्रहालय, पुस्तकालय, सामुदायिक सूचना केन्द्र बन्छ भन्नेमा हामी ढुक्क थियौँ । नगरस्तरीय सामाजिक पूर्वाधारको जनतालाई ठूलो आशा थियो । तर, यो अनुसार काम हुन सकेन ।’ कोभिड व्यवस्थापनमा वालिङले राम्रो काम गरे पनि अन्य क्षेत्रमा चित्त बुझाउने अवस्था नरहेको उनले बताए । पहिलो दुई वर्ष अभियानस्वरुप राम्रा कार्य भएको बताउँदै उनले पछिल्लो वर्ष सोचेजस्तो नतिजा नआएको उल्लेख गरे । उनले थपे, ‘कानुन कार्यान्वयनमा समस्या छ । उद्यमशीलता प्रबर्द्धनमा पनि सोचेअनुसार काम हुन सकेन । सडकको अवस्था पनि उस्तै छ ।’

फोहोरमैला व्यवस्थापन र सुशासनमा उत्कृष्ट
फोहोरमैला व्यवस्थापनमा वालिङ नगरपालिका मुलुकमै पहिलो छ । नेपाल नगरपालिका संघबाट दुईपल्टसम्म नगद र प्रमाणपत्रसहित सम्मानित भएको वालिङ नगरपालिका आइतबार पनि संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनको क्षेत्रमा अगाडि रहेको भन्दै नेपाल नगरपालिका संघबाट सम्मानित भयो । प्रधानमन्त्री शेरबहादुर देउवाले नगरप्रमुख खाँणलाई सम्मान गर्दै प्रमाणपत्र हस्तान्तरण गरेका गरे । नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई व्यवस्थापन गरी फोहोर बिक्रीबाटै लाखौँ आम्दानी गर्दै आएको छ ।

प्रकाशित : चैत्र १, २०७८ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?