कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँ खेल्न गएका गोरखाका दुई किशोर पाँच दिनदेखि सम्पर्कविहीन

हरिराम उप्रेती

गोरखा — हिउँ खेल्न हिँडेका गोरखाका दुई किशोर पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका १६ वर्षीय करण घले र वडा नम्बर २ का १६ वर्षीय साइँला घले पाँच दिनदेखि परिवारको सम्पर्कमा नआएपछि खोजी थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

हिउँ खेल्न गएका गोरखाका दुई किशोर पाँच दिनदेखि सम्पर्कविहीन

‘माघ २० गते खाना खाएर लाप्राकमा हिउँ खेल्न गएको परिवारले सूचना दिनुभएको छ,’दाहालले भने,‘प्रहरीलाई २३ गते जानकारी आयो, हिजोदेखि खोजी तीव्र पारेका छौं ।’गत बिहीबार धार्चे गाउँपालिका–४ लाप्राकतर्फ हिउँ खेल्न गएको परिवारको सूचनाको आधारमा खोजी भइरहेको प्रहरले जनाएको छ ।

स्थानीय र प्रहरीले आइतबार र सोमबार दिनभर लाप्राक क्षेत्रमा खोजी गरे पनि उनीहरूलाई फेला पार्न नसकेको बताइएको छ। ‘हिउँ खेल्न गएको भन्ने सूचनाको आधारमा लाप्राक क्षेत्रमा खोजी भइरहेको छ, आफन्त र चिनेजानेका व्यक्तिहरूकहाँ पुगे कि भन्ने तरिकाले पनि खोजी गरिरहेका छौं,’ उनले भने ।

स्थानीय जितबहादुर घलेले पनि उनीहरूको अवस्थाबारे केही जानकारी नपाएको बताए। छिमेकी गाउँ लाप्राक, गुम्दा, लापुसम्म खबर गरेर हराएका किशोरहरूको खोजी गरिएको उनी बताउँछन् । बिहीबार मम्चेमा रहेको भन्ने खबर पाएको तर त्यसपछि उनीहरू कता गए भन्ने पक्ता लगाउन नसकिएको उनले भने ।

यसअघि चन्द्रागिरीमा हिउँ खेल्न जाँदा बेपत्ता भएका ५ जनाको प्रहरीले उद्धार गरेको छ । आइतबार दिउँसो चन्द्रागिरी डाँडामा हिउँ खेल्न गएका काठमाडौं चन्द्रागिरी नगरपालिका–६ महादेवस्थानका एकै परिवारका ५ जना हराइरहेको खबर आएपछि काठमाडौं प्रहरीले उनीहरुको मध्यराति उद्धार गरेको थियो। पछिल्लो साता देशका अधिकांश उच्च पहाडी क्षेत्रमा बाक्लो हिउँ परेको थियो ।

प्रकाशित : माघ २४, २०७८ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?