१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बसपार्क बन्यो, तर प्रयोगमा आएन

प्रकाश बराल

बागलुङ — झन्डै २० वर्ष अघिदेखिको योजना अनुसार बागलुङ बसपार्क निर्माण भएको छ । तर काम सकिएको एक वर्ष पुग्न लाग्दा पनि बागलुङ बसपार्क प्रयोगविहीन भएको छ ।  बस, जिप र ट्यांक्सी पार्क गर्नुपर्ने स्थानमा पशुबस्तु र मानिसको जमघट हुने गर्छ । बसपार्क बनाए पनि जाने मुख्य सडक नै नभएपछि प्रयोगविहीन भएको हो ।

बसपार्क बन्यो, तर प्रयोगमा आएन

झन्डै ११ करोड लागतमा निर्माण भएको बसपार्क जाने सडकका लागि जग्गामा किचलो परेकाले कामै नभएको स्थानीयले बताए । बागलुङ नगरपालिका–४ मा रहेको बसपार्क बनाउन स्थानीयले निःशुल्क जग्गा दिएका थिए । जग्गा दिएका उपभोक्ताले कम्तीमा एक/एकवटा घडेरीसमेत पाउने सर्त भए पनि पूरा भने भएको छैन । बरु उपभोक्ताले जग्गा बिक्रीसमेत गर्न पाएका छैनन् ।

नगरप्रमुख जनकराज पौडेलले भने सडक बनाउन ठेक्का प्रक्रिया सुरु भइसकेको बताए । ‘बसपार्क जाने बाटो पहिले नै बन्नुपर्थ्यो, केही ढिलाइ भएकै हो,’ पौडेलले भने, ‘अब ठेक्कामा गइसकेको छ, छिटै बन्छ ।’ चालु वर्षभित्र सडक बनेर बसपार्क प्रयोगमा आउने उनले बताए । सडक निर्माण भएपछि उपभोक्तालाई घडेरी पनि उपलब्ध गराउने उनले सुनाए । नगरपालिकाका इन्जिनियर मनोज शर्माका अनुसार बसपार्कमा ८० वटा बस राख्न सकिन्छ ।

त्यसबाहेक झन्डै १ सय बढी घडेरी बनाउने जमिन पनि छ । २०५२ सालमै स्थानीय उपभोक्ताले बसपार्क बनाउन जग्गा दिएकोमा अहिलेसम्म उनीहरूले किनबेच गर्न पाएका छैनन् । झन्डै ५२ रोपनी जमिन सम्याएपछि १७ रोपनीको बसपार्क बनेको छ । बाँकी जमिन उपभोक्तालाई एक/एक घडेरी दिने सर्त छ । ‘सर्त गरेको वर्षौं भयो, जग्गा किनबेच पनि गर्न नपाइने, घडेरी पनि नपाउने अवस्था भयो,’ स्थानीय नन्दलाल सापकोटाले भने, ‘न बसपार्क चल्छ, न हामीले घडेरी सम्याउन पायौं ।’

बागलुङ नगरपालिका र नगर विकास कोषबाट बसपार्क निर्माणमा ११ करोड लगानी भएको छ । बसपार्कमा ट्याक्सी पार्क समेत बनाइएको छ । सञ्चालनमा नआउँदा बागलुङ बजारमा अव्यवस्थित पार्क गर्ने समस्या समेत छ । ‘अव्यवस्थित पार्कले दुर्घटना बढाएको छ,’ ट्राफिक प्रहरी प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले भने, ‘बजार व्यवस्थापनमा नगरपालिकाले साथ दिनुपर्छ ।’ भवन अभावमा ट्राफिकले यहाँको समीक्षालय पार्कमा छाप्रो बनाएर बसेका छन् ।

आशिष फेवा संयुक्त निर्माण कम्पनीले बनाएको बसपार्कमा टर्मिनल भवन, बसपार्क, टिकट काट्ने घर छन् । बागलुङ–४ का ५१ स्थानीयले सामूहिक जग्गा दिएपछि बसपार्क बनेको हो ।

प्रकाशित : माघ २१, २०७८ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?