१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कामै नगरी सकियो ठेक्का सम्झौताको म्याद

लकडाउनका कारण र आवश्यक मजदुरसमेत पाउन नसक्दा काम अगाडि बढाउन नसकेको ठेकेदारको गुनासो
सम्झना रसाइली

तनहुँ — सडक कालोपत्र, नाला निर्माणलगायत काम गर्न भनी गरिएको ठेक्का सम्झौताबिना कुनै काम सकिएको छ । जिल्लाको भानु नगरपालिकाको भानु मोटर मार्गअन्तर्गत चन्द्रावती–पोखरीछाप ठूलोढुंगा खण्डको कालोपत्रे गर्ने काम अलपत्र परेको छ । सडकको १० किलोमिटर खण्ड कलोपत्रे गर्ने योजना थियो । 

कामै नगरी सकियो ठेक्का सम्झौताको म्याद

२०७८ माघ १५ भित्र सडक कालोपत्रे, नाला निर्माण तथा ग्याबिन जाली भर्नेलगायत काम गर्न २०७६ कात्तिक ४ मा शंकरमाली कन्स्ट्रक्सन काठमाडौंले सम्झौता गरेको थियो । उक्त निर्माण कम्पनीले सडक निर्माणका लागि ठेक्का सम्झौता गरेपछि जम्मा १२ प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका इन्जिनियर धनमाया मिश्रका अनुसार निर्माण कम्पनीले २३ करोड २ लाख ८० हजार रुपैयाँमा सम्झौता गरेको थियो । निर्माण पक्षले ६ करोड ९१ लाख ८५ हजार रुपैयाँ निकासा लिएको कार्यालयले जनाएको छ । ‘सडकको भौतिक प्रगति १२ प्रतिशत देखिएको छ भने ३० प्रतिशत वित्तीय प्रगति छ,’ इन्जिनियर मिश्रले भनिन्, ‘समयमा काम सम्पन्न नभएकाले आगामी असार मसान्तसम्म म्याद थपिएको छ ।’

२०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडक विस्तार गरी यातायातका साधन सञ्चालन हुँदै आएको भानु–१३ टुटेपानीका क्या. होमबहादुर गुरुङले बताए । उनले भने, ‘सडक सञ्चालनमा आएपछि हालसम्म यो सडकको स्तरोन्नति नहुँदा सास्ती बेहोर्दै आएका छौं ।’ वर्षामा हिलो र हिउँदमा धुलोको नियति झेल्दै आएको यो सडक खण्डमा सानो पानी पर्दा समेत सवारीसाधान सञ्चालन हुन सक्दैनन् । उनले भने, ‘सरोकारवालाहरूको ध्यान नजाँदा आजसम्म यो सडकको स्तोन्नति हुन सकेन ।’

प्रदेश सरकारअन्तर्गतको उक्त सडकका लागि चालु आर्थिक वर्ष ३ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भए पनि निर्माण पक्षको लापरबाहीका कारण हालसम्म सडक निर्माण कार्यले गति लिन नसकेको कार्यालयले जनाएको छ ।

यता शंकरमाली कन्स्ट्रक्सनले भने आफूले कामको सम्झौता लिएलगत्तै कोभिड–१९ संक्रमण फैलिपछि लकडाउनसँगै आवश्यक मजदुर नपाउँदा काम अगाडि बढाउन नसकेको बताउँदै आएको छ । बाँकी काम गर्न शंकर मालीले अहिले दोस्रो निर्माण व्यवसायीलाई जिम्मा दिएको छ । सडक निर्माणको काम निर्माण व्यवसायी संगम खड्कालाई जिम्मा दिएको भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले बताए ।

उनले भने, ‘अगाडि जेजस्तो भएर काममा ढिलाइ भए पनि अब तत्काल निर्माण कार्यलाई अगाडि बढाउने सहमति भएको छ ।’ बानियाँका अनुसार सडकको केही ठाउँमा ग्याबिन जाली भर्ने काम भएको देखिएको र अन्य काम भने शून्य अवस्थामै रहेको छ ।

अधुरो सडक खण्डको निर्माणको जिम्मा आफूले लिएको निर्माण व्यवसायी संगम खड्काले बताएका छन् । उनले भने, ‘सडक खण्ड कालोपत्रे, नाला निर्माणलगायतको काम गर्न सम्झौता गरेको शंकर माली कन्स्ट्रक्सनले समयमै काम अगाडि बढाउन नसकेको बताएकाले अहिले सुरुवाती चरणबाटै निर्माणको काम गर्ने प्रक्रियामा अगाडि बढेको छु ।’

सडक कालोपत्रको जिम्मा लिएसँगै कामलाई तीव्र गतिमा अगाडि बढाउने तयारीमा रहेको उनले बताए । भानु मार्ग हुँदै नमुना सामुदायिक होमस्टेका रूपमा विकास भएको टुटेपानी सामुदायिक होमस्टे पुगिन्छ । सडकको स्तरोन्नति नहुँदा यस होमस्टेमा सहजै पाहुना पुग्न नसक्ने अवस्था भएकाले स्थानीयले सडक छिटो निर्माण गरिदिन हारगुहार गर्दै आएका छन् ।

‘सडक कालोपत्रे नहुँदा होमस्टेमा आएका कति पाहुना बीच बाटोबाटै फर्किएका छन्,’ होमस्टेका सचिव अमर गुरुङले भने, ‘पटकपटक सरोकारवाला निकायलाई सडकको स्थिति बुझाइ सडक निर्माणका लागि गुहार गर्‍यौं तर पनि अहिलेसम्म कुनै सुनवाइ हुन सकेको छैन ।’

प्रकाशित : माघ १५, २०७८ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?