बाख्रा फार्म अवलोकन गर्न कतारी राजदूत नवलपरासीमा- गण्डकी - कान्तिपुर समाचार

बाख्रा फार्म अवलोकन गर्न कतारी राजदूत नवलपरासीमा

नारायण शर्मा

पूर्वी नवलपरासी — नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अल हैलले शुक्रबार पूर्वी नवलपरासीस्थित दुई वटा निजी बाख्रा फार्म अवलोकन गरेका छन् । शुक्रबार दिउँसो कावासोती नगरपालिका वडा नम्बर १७ बभनौली आएका राजदूत यूसुफ बिनले आदित्य कृषि फार्म र सर्फाज एग्रो फार्म अवलोकन गरेका हुन् ।

राजदूतले कतारमा केही वर्ष काम गरेर फर्किएका नवलपरासीका किरण काफ्लेले सुरु गरेको बाख्रा फार्म सुरुमा अवलोकन गरेका थिए। यहाँ काफ्लेले बयर र खरी जातका बाख्रा पालन गरेका छन् ।

काफ्लेले ४ वर्षदेखि यहाँ बाख्रा पालन गर्दैआएका छन् । अवलोकन भ्रमणको क्रममा राजदूतले बाख्रा फार्मप्रति चासो राख्दै संचालक किरणसँग सोधेका थिए, 'कतारमा र यहाँ के फरक पायौ ?, कस्तो छ प्रगति ?'

राजदूतले नजिकै रहेको नेपालकै ठूलो मानिने सर्फाज एग्रो फार्म पनि अवलोकन गरेका थिए । त्यहाँ उन्नत जातका करिब ४ सय बाख्रा पालन गरिएको छ । राजदूतको बाख्रा फार्म अवलोकनलाई निजी भ्रमण भनिएको छ । यद्यपि उनी शुक्रबार अचानक कार्यालयको सवारी साधनबाटै नवलपरासी आइपुगेका हुन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार उनले दूतावासकै 'झण्डावाल गाडी' प्रयोग गरेर बाख्रा फार्मसम्म पुगेका थिए । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी दीलिप गिरीका अनुसार राजदूतले दुई वटा बाख्रा फर्म अवलोकन गरेर काठमाडौं फर्किएका छन् ।उनी निजी भ्रमणको रुपमा काठमाडौंबाटै बाख्रा फार्म अवलोकन गर्नका लागि नवलपरासीसम्म आइपुगेको बताइएको छ ।



प्रकाशित : माघ १४, २०७८ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्

प्राकृतिक विपद्‍बाट नागरिकको मृत्यु नहोस् : गृहमन्त्री खाँण

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपद्का कारण कुनै नागरिकको मृत्यु नहोस् भन्ने विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति बैठकमा गृहमन्त्री खाँणले शितलहरबाट नागरिकलाई बचाउन मंसिर १ गते नै सबै जिल्ला प्रशासन कार्यालयमा रकम खर्च गर्ने अख्तियारीसहित निर्देशन पठाइएको जानकारी दिए ।

‘प्राकृतिक विपद्का कारण कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने विषयमा सरकार संवेदशील छ,’ मन्त्री खाँणले भनेका छन्, ‘शितलहरबाट नागरिकलाई बचाउन मंसिर १ गते नै हामीले सबै जिल्ला प्रशासन कार्यालयमा रकम खर्च गर्ने अख्तियारीसहित निश्चित रकम पठाएका थियौं । शितलहर चलेका स्थानमा तराईका जिल्ला र हिमपात भएका हिमाली जिल्लाले त्यो रकमबाट केही खर्च गरेको जानकारी गराएका छन् ।’

गृहमन्त्री खाँणले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकतामा पर्ने भन्दै त्यो विषयमा आफूहरू सतर्कताका साथ काम गरिरहेको बताए । उनले भौतिक पूर्वाधार बनाउँदा सुरक्षित र दिगो हुन्छ कि हुँदैन भन्ने विषयमा पनि निर्माणअघि नै बहस गर्नुपर्ने बताएका थिए ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, मुख्यसचिव शंकर बैरागीसहित विभिन्न मन्त्रालयका सचिवहरू सहभागी थिए ।

प्रकाशित : माघ १४, २०७८ २०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×