टांडीका उत्कृष्ट किसानलाई आधुनिक औजार

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीस्थित मधबिन्दु नगरपालिका टांडीका किसानलाई कृषि औजार हस्तान्तरण गरिएको छ । शुक्रबार मध्यबिन्दु नगरपालिका-६ टांडीमा आयोजित एक समारोहमा यहाँका किसानलाई ६ वटा हाते ट्रयाक्टर र ४९ वटा बिरुवा रोप्ने औजार हस्तान्तरण गरिएको हो ।

टांडीका उत्कृष्ट किसानलाई आधुनिक औजार

औजार हस्तान्तरणपछि मध्यबिन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर रानाले मेहनती किसानलाई कृषिमा व्यवसायीक बनाउन दक्षिण कोरियाको संस्था कोइकाले औजार हस्तान्तरण गरेर ठूलो गुन लगाएको बताए । औजारको प्रयोगले कृषिको व्यवसायीकरणमा बल पुग्ने उनले चर्चा गरे । नगरपालिका कुनै पनि हालतमा किसानलाई सघाउन लागि परिरहेको भन्दै मेयर रानाले दक्षिण कोरियाली संस्था कोइको निरन्तर सहयोगको अपेक्ष गरे ।

प्रविधि हस्तान्तरणको सहयोगी संस्था गुड नाइभर्सका टिम लिडर लोकबहादुर थारुले दक्षिण कोरियाको संस्था कोइकाले यहाँका किसानको जीवनस्तर उकास्न र व्यवसायिक कृषि खेतीमा सघाउन करिब १० लाख मूल्य बराबरको कृषि औजार (हाते ट्रयाक्टर र बिरुवा रोप्ने औजार) हस्तान्तरण गरेर कृषकसँग हातेमालो गरेको बताए ।

उनले मध्यबिन्दु नगरपालिकाकै अन्य वडामा सिंचाई, दुग्धविकास, व्यवसायिक तरकारी खेतीमा कोइका, गुडनाइर्भस र सहमती संस्थाले औजार र प्राविधिक सहयोग गर्दैआएको सुनाए । सहमती संस्थाले यस्को कार्यान्वयन पक्ष हेर्दै आएको छ ।

कृषि औजार पाएर कृषक उत्साहित भएको र व्यवसायीक खेतीका लागि यसले ठूलो फड्को मार्न सहयोग पुग्ने स्थानीय किसान रमाकान्त भण्डारीले बताए ।

मध्यबिन्दु नगरपालिकाका उत्कृष्ट र व्यवसायिक किसानलाई ती औजार हस्तान्तरण गरिएको हो । कृषि औजारको प्रयोगले व्यवसायिक खेती र उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : माघ १४, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?