कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

गुणस्तरहीन स्वास्थ्यचौकी भवनमा अख्तियारको चासो

भवन निर्माणसम्बन्धी सम्पूर्ण कागजात पठाउन सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयलाई पत्राचार
प्रकाश बराल

बागलुङ — जैमिनी नगरपालिका–८ स्थित छिस्ती स्वास्थ्यचौकी भवन गुणस्तरहीन भएकाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेको छ । अख्तियारको पोखरा कार्यालयले सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङलाई पत्र लेखेर कागजात पठाउन माग गरेको इन्जिनियर प्रवीणप्रताप अधिकारीले बताए । 

गुणस्तरहीन स्वास्थ्यचौकी भवनमा अख्तियारको चासो

‘अख्तियारले चासो राखेर पत्र पठाएको छ, हामीले पनि गुणस्तरहीन काम भएको थाहा पायौं,’ अधिकारीले भने, ‘यसअघि केही कमजोरी भएको देखियो ।’ पोखरा कार्यालयबाट हेर्नुपर्ने बाध्यताले पछिल्लो ३/४ वर्षको समयमा बनेका अधिकांश भवनमा समस्या आएको उनले बताए ।

निर्माण सकिएर हस्तान्तरण नहुँदै चुहिएको, ढलान फुटेको तथा खोस्रेर हेर्दा बोरा र माटोसमेत भेटिएको प्रमाण स्थानीयले देखाए पनि गत वर्ष स्वास्थ्यचौकी उद्घाटन गरिएको थियो । ठेकेदारबाट मर्मत गरेपछि मात्रै भवन उद्घाटन गर्न स्थानीयले माग गरेका थिए । ठेकेदारको खोजी नगरी भवन निर्माण डिभिजन कार्यालयको प्राविधिक मूल्यांकनका आधारमा भवन हस्तान्तरण र उद्घाटन भएको थियो । यसबारे कान्तिपुर दैनिकमा समाचारसमेत प्रकाशन भएको थियो ।

गत साउनदेखि मात्रै आयोजनाको कार्यालय बागलुङमा स्थापना भएको छ । कार्यालयले बागलुङसहित पर्वत र म्याग्दीमा काम गर्न थालेको छ । ‘जग्गा छनोटदेखि ठेक्काका काम गर्दा धेरै कमीकमजोरी हुँदा भवन गुणस्तरहीन भएको देखियो,’ अधिकारीले भने, ‘चालु वर्ष काम सुरु हुने कतिपय स्थानमा हामीले अध्ययन गरेर रोकेका छौं ।’ प्राविधिकले नियमित अनुगमन र रेखदेख गरेमा गुणस्तरीय भवन बनाउन सकिने उनले बताए ।

छिस्ती स्वास्थ्यचौकीमा भने उपभोक्ता समितिबाटै विरोध भए पनि पोखराबाट आएका प्राविधिकले राम्रो छ भनेर मूल्यांकन गरिदिँदा स्वास्थ्यचौकी जीर्ण भएको स्वास्थ्यचौकी इन्चार्ज सूर्यप्रकाश महताराको टिप्पणी छ । बागलुङ–११ रायडाँडाको स्वास्थ्यचौकी पनि हस्तान्तरणअघि नै चुहिएपछि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरेको छ ।

छानबिनको प्रतिवेदन आयोजनालाई दिएर ठेकेदारबाट मर्मत गराउन निर्देशनसमेत दिएको अधिकारीले बताए । ‘त्यहाँको प्रयोगशाला परीक्षण प्रतिवेदनमा देखिएको कमजोरी सच्याएर ठेकेदारले मर्मत गर्नुपर्ने भनिएको छ,’ उनले भने, ‘काम गर्नेलाई नै जिम्मेवारी बनाउन सकियो भने भवन गुणस्तरीय बन्छन् ।’

बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले भवन चुहिएकाले बुझ्न नचाहेपछि ठेकेदारले नगर प्रमुखलाई हस्तान्तरण गरेका थिए । फिल्डमै नगई उक्त भवन हस्तान्तरण भएको थियो ।

यस्तै, सिगाना, तित्याङ, ग्वालीचौर, हटियालगायत स्वास्थ्यचौकीसमेत गुणस्तरहीन भएको स्थानीयको टिप्पणी छ । अधिकांश भवन चुहिने गरेको स्वास्थ्य संस्थाका प्रमुख नै बताउँछन् । ‘हेर्दा राम्रो छ, तर भवन चुहिन्छ,’ सिगाना स्वास्थ्यचौकी प्रमुख नारायण शर्माले भने, ‘कागजात सुरक्षित राख्न पनि गाह्रो भएको छ ।’ बाहिरी आवरण राम्रो भए पनि गुणस्तरहीन भएकाले स्वास्थ्य संस्थामा बसेर काम गर्न कठिन भएको उनले बताए ।

बागलुङमा गत आर्थिक वर्षका योजनामध्ये गुणस्तरहीन भएको, आर्थिक पारदर्शिता नभएकोलगायत ५६ उजुरी आएको अख्तियार पोखरा कार्यालय प्रमुख कोषहरि निरौलाले बताए । तीमध्ये बागलुङ नगरपालिकाका मात्रै २३ उजुरी छन् । ढोरपाटन नगरपालिकाका ८, जैमिनी नगरपालिकाका ६, ताराखोला गाउँपालिकाका ५ तथा अन्य सरकारी कार्यालयका १४ उजुरी परेको तथ्यांक छ ।

प्रकाशित : माघ १३, २०७८ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?